काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले गर्ने लगानीको नीतिमा फेरबदल गरेको छ । राष्ट्रबैंकले कर्मचारी सञ्चय कोषको पैसा ५ प्रतिशत खराब कर्जा ननाघेका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्दै आएको थियो ।
याे पनि : खराब कर्जाको अनुपात बढेसँगै दबाबमा बैंकिङ क्षेत्र
चालू आवको दोस्रो त्रैमासमा आइपुग्दा वाणिज्य बैंकहरुको धमाधम खराब कर्जा रेसियो ५ प्रतिशत माथि पुगेपछि राष्ट्रबैंकले लगानीको नीतिमा फेरबदल गरेको हो । बैंकले कोषको पैसा लगानी गर्दा ५ प्रतिशत तल हुनुपर्ने खराब कर्जा दरलाई बढाएर ८ प्रतिशतसम्म हुन पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले आइतबार कर्मचारी सञ्चय कोषको ४ अर्ब ७९ लाख रुपैयाँका बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राख्नका लागि सूचना जारी गरेको थियो । जसमा निक्षेप लिन बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले आफ्नो खराब कर्जा दर ५ प्रतिशतभन्दा माथि नभएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले उक्त व्यवस्थालाई परिवर्तन गर्दै खराब कर्जा (निष्क्रिय कर्जा) अनुपात ८ प्रतिशत र खुद खराब कर्जा अनुपात ३ प्रतिशत ननाघेको बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागी गराउने उल्लेख गरेको छ । यो व्यवस्थासँगै निक्षेप लिनबाट वञ्चित बनेका ४ वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निक्षेप सुविधा उपयोग गर्न पाउने भएका छन् ।
याे पनि : बढ्यो बैंकहरूको खराब कर्जा
त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले पनि कुल निष्क्रिय कर्जा ८ प्रतिशत भएको खण्डमा राष्ट्र बैकको निक्षेप लिन पाउने भएका हुन् । यस अघि राष्ट्रबैंकले आफुले गर्ने लगानीमा भने ५ प्रतिशतको दर यथावत् राखेको भन्दै हटाउन बैंक तथा वित्तीय संस्थाहरुले माग गर्दै आएका थिए । सोही मागबमोजिम राष्ट्र बैक बैंकहरुप्रति लचिलो हो ।
प्रतिक्रिया