नमोबुद्धमा सुक्खा पहिरोले पुरिएर एक मजदुरको मृत्यु, अर्का एकको लडेर मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ कानाकोटस्थित वृद्धाश्रमको भवन निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक जना मजदुरको मृत्यु भएको छ ।

आज बिहीबार दिउँसो करिब ३ बजेको समयमा निर्माणाधीन वृद्धाश्रम भवनको दोस्रो तल्लाको पिल्लर ढल्दा त्यहाँ कार्यरत मजदुर दुर्जन माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका–३ निवासी हुन् ।

प्रहरीका अनुसार माथिबाट सुक्खा पहिरो खस्दा भवनको पिल्लर भत्किएको थियो । रडले टाउकोमा लाग्दा माझीको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ श्यामपाटी प्रहरी चौकीबाट लोकनाथ सापकोटाको कमाण्डमा प्रहरी टोली खटी घटनास्थल सुरक्षित पारिएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने कार्य अघि बढाएको छ भने विस्तृत अनुसन्धान जारी रहेको छ । त्यसैगरी भिरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ । भिरबाट मृत्यु हुनेका श्रीकृष्ण गिरी रहेका छन् ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङमा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब १ः२० बजे आफ्नै घरदेखि करिब १.५ किलोमिटर पश्चिम आङ्गे खोल्सामा स्थानीय ३५ वर्षीय गिरी मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको जानकारी प्राप्त हुने बित्तिकै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो । त्यस्तै, ईलाका प्रहरी कार्यालय कार्तिके देउरालीबाट प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली परिचालन गरी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धानका क्रममा गिरी करिब ३५–४० मिटर अग्लो भिरबाट लडेर आङ्गे खोल्सामा खसेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया