वनलाई समृद्धिसँग जोड्ने काम गर्नेछौँ : मन्त्री शाही

बागलुङ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वनलाई समृद्धिसँग जोड्ने गरी काम गरेको बताएका छन् । उनले वनमा उत्पादन भएका काठ, जडिबुटीलाई व्यवस्थापन गर्ने कानुन निर्माण गरेर यसलाई समृद्धिसँग जोड्ने बताए ।

बागलुङको जैमिनी नगरपालिका—८ छिस्तीमा रहेको जनकल्याण माविको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले केही वनसम्बन्धी कानुनमा समस्या रहेका कारण उत्पादन भएका काठहरू खेर गएको र यसको व्यवस्थापनलाई अब कानुननै संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।

मन्त्री शाहीले आगामी बजेटमा आफूले वन तथा वातावरणसम्बन्धी जोड दिएर कार्यक्रम ल्याउने जानकारी गराए । उनले पछिल्लो समय वन्यजन्तु बाँदर, बँदेल र हात्तीका कारण धेरै किसान समस्यामा परेको विषयमा सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पहिलो चरणमा बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा लिएर किसानलाई क्षतिपूर्ति दिने व्यवस्था मिलाउने बताए ।

‘जैमिनी क्षेत्रमा ठुलो समस्या बाँदर आतंक रहेछ । यसकै कारण यहाँ बसाइँसराइ पनि भएको रहेछ’ मन्त्री शाहीले भने, ‘वयन्यजन्तुको आतंक रोक्ने उपायका कार्यक्रम ल्याउनेछौँ । यहाँको नगरपालिकाले निर्माण गर्ने भनिएको बाँदर बगैँचालाई मन्त्रालयले आगामी दिनमा बजेट विनियोजन गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’

उनले पछिल्लो समयमा सबै क्षेत्रमा जंगली वन्यजन्तुले किसानलाई आजित पारेको हुनाले यसको उचित व्यवस्थापन गर्नुपर्ने बताए । आजको आवश्यकता नैतिक शिक्षाको भएको उनले बताए ।

नैतिक रूपमा माथि उठ्न नसके हासिल भएको विकास र समृद्धि काम नलाग्ने भन्दै विद्यालयमा नैतिक शिक्षाको पठनपाठन गर्नुपर्ने बताए । उनले कांग्रेस र एमालेको गठबन्धनको सरकारले विकास र समृद्धिको सवालमा फड्को मारेको बताए ।

स्थायीत्वका लागि अहिलेको सरकारले नयाँ ढंगले काम गरिरहेको बताउँदै शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल नआएकोमा चिन्ता व्यक्त गरे । शाहीले अब गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए ।

उनले वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनुका साथै रोकिएका कामले पनि गति लिन थालेकाले जनतामा आशाको सञ्चार भएको शाहीको भनाइ थियो ।

प्रतिक्रिया