पोखरा घटना छानबिन गर्न समिति गठन, आमनागरिकको मृत्युमा मौन

जसको चरम लापरबाहीका कारण दुर्घटना भयो, तिनै व्यक्ति राखेर छानबिन समिति गठन, ग्यास बिस्फोटमा ४ जनाको मृत्यु हुँदा पनि चुपचाप

काठमाडौँ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् विनिता कठायतले राज्यको नजरमा नागरिक दोस्रो दर्जा र नेताहरू पहिलो दर्जामा परेको गुनासो राखिन् । समस्यामा परेका सबैको समान रूपमा उद्धार र उपचार हुनुपर्नेमा राज्यको व्यवहार सर्वसाधारण नागरिकका लागि एउटा र भिआइपीका लागि अर्को व्यवहार हुने गरेको उनको भनाइ थियो ।

सन्दर्भ थियो– माघ २४ गते काठमाडौँको कमलपोखरीस्थित शानदार मःम सेन्टरमा ग्यास सिलिन्डर पड्केको घटना र शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन बिस्फोटको घटना । ‘पोखरामा भएको घटना र कमलपोखरीमा भएको घटना दृष्टिकोणमा दुवै उही प्रकृतिका गम्भीर दुर्घटना हुन । कमलपोखरीको दुर्घटना अझ बढी गम्भीर छ,’ सांसद कठायतले भनिन्, ‘रेस्क्युको सवालमा यो देशमा भिआइपीहरूलाई हेलिकोप्टर लगिन्छ । तर, आमजनताका लागि भने एम्बुलेन्स पनि समयमा पुग्दैन र पिकअप गाडीमा राखेर अस्पताल पुर्याइन्छ ।’

कठायतले उद्धारमा कमलपोखरीको दुर्घटनालाई कम महत्व दिएको भन्दै राज्यले विभेदकारी व्यवहार गरेको बताइन् । हुन पनि त्यस्तै देखिएको छ । कमलपोखरीको दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ, तर सरकारले उक्त घटनामा कुनै गाम्भीर्य देखाएको छैन । राहतको कुरा त परै जाओस्, उक्त घटनाबारे छानबिन र अध्ययन गर्न सरकारले कुनै पहल गरेको छैन ।

तर, पोखराको बेलुन बिस्फोटको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले आइतबार ८ सदस्यीय समिति गठन गरिसकेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन भएको छ र उक्त समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाटै उक्त समिति गठन भएको हो । गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी तथा १ जना बिस्फोटक पदार्थविज्ञसमेत सदस्य र सदस्य सचिवमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री रहने गरी समिति बनेको छ ।

अझ उदेकलाग्दो त के छ भने समितिमा रहेकाहरू नै सो कार्यक्रममा आयोजकदेखि सुरक्षा व्यवस्थापनको जिम्मेवारी पाएका व्यक्ति हुन् । जिल्लाको शान्ति सुरक्षाको नेतृत्व गर्ने सिडिओ, प्रहरी प्रमुख र आयोजक महानगरपालिकाकै प्रतिनिधि राखेर गठन गरिएको समितिले कसलाई दोष देखाउँदै उम्किन्छ त्यो भने हेर्न बाँकी नै छ ।

समारोहमा बेलुन उडाउने क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरूको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार गृहमन्त्री र प्रधानमन्त्रीसमेत पुगेका थिए ।

तर, अचम्म के छ भने, ४ जना नागरिकको मृत्यु भइसकेको ग्यास सिलिन्डर बिस्फोटको घटनामा घाइते भएका र मृतकका परिवारलाई राज्यले कुनै वास्ता गरेको छैन । तर, आइतबार प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटेको मेसो मिलाएर ग्यास सिलिन्डर बिस्फोटमा परी घाइते भएकालाई भेटेर स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए । यो समाचार तयार पार्दाससम्म पनि ७ जना उपचारकै क्रममा छन् ।

प्रतिक्रिया