कार्य सम्पादनमा सोरु र भरतपुर महानगरपालिका उत्कृष्ट

स्थानीय तह मूल्यांकन नतिजा

मुगु । कार्यसम्पादन मूल्यांकनमा मुगुका ४ वटा स्थानीय तह मध्ये सोरु गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकन विवरणअनुसार ६१ दशमलव २ अंक प्राप्त गर्दै सोरु गाउँपालिका जिल्लामै पहिलो भएको हो ।

यसैगरी कार्य सम्पादन मूल्यांकनमा ४८ दशमलव १ अंक ल्याएर मुगमकार्मारोङ गाउँपालिका दोस्रो, ४३ दशमलव २ अंक ल्याएर छायानाथ रारा नगरपालिका तेस्रो हुँदै गर्दा खत्याड गाउँपालिकाले ४२ दशमलव १ अंक प्राप्त गरेको छ ।

आयोगले माघ ३० गते कार्यसम्पादन मूल्यांकनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंकसम्बन्धी विवरण प्रकाशित गरेको थियो । यहि प्राप्त अंकका आधारमा आयोगले प्रदेश सरकार तथा स्थानीय तहहरूलाई अनुदान दिने गर्दछ । प्रदेश सरकार तथा स्थानीय तहहरूको कार्य सम्पादन मूल्यांकन गर्न आयोगले १७ सूचकहरू तोकेको छ ।

वित्तीय सुशासनमा मुगमकार्मारोङ पहिलो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) २०८०/०८१ मा मुगु जिल्लाका स्थानीय तहहरू मध्य मुगमकार्मारोङमा वित्तीय सुशासन देखिएको छ ।

५ वटा सूचकमा रहेर गरिएको मूल्यांकनअनुसार मुगमकार्मारोङ गाउँपालिकाले ९१ दशमलव ५ अंक प्राप्त गरेर पहिलो, छायानाथ रारा नगरपालिकाले ९० दशमलव ५ अंक ल्याएर दोसा्रे भएको छ भने सोरु गाउँपालिकाले ८३ अंक ल्याएर तेस्रो हुँदै गर्दा खत्याड गाउँपालिकाले ८२ अंक ल्याएको छ ।

संस्थागत मूल्यांकनमा पनि मुगमकार्मारोङ नै अगाडि

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) २०८०/०८१ मा पनि मुगु जिल्लाका ४ स्थानीय तहहरू मध्ये मुगमकार्मारोङ गाउँपालिका पहिलो भएको छ ।

मुगमकार्मारोङ गाउँपालिकाले लिसामा मूल्यांकनमा तोकिएका १० वटा विषय तथा क्षेत्रमा ८९ अंक ल्याउँदै प्रथम हुन सफल भएको हो ।

खत्याड गाउँपालिकाले ८५ दशमलव ५ अंक ल्याएर दोस्रो हुँदै गर्दा ८४ दशमलव २५ अंक ल्याएर छायानाथ रारा नगरपालिका तेस्रो भएको छ भने सोरु गाउँपालिकाले ८१ दशमलव २५ अंक ल्याएको थियो ।

यसैगरी कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य ६ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार ३ वर्षसम्म प्रथम भएको छ ।

महानगरका उप–निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८२/०८३ मा संघीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्य सम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।

आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्यांकन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकहरू मध्ये पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्यांकन गर्ने गर्दछ ।

समय सीमा अर्थात् भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टल बाट अपलोड गरी सोही आधारमा अंक प्राप्त गर्ने प्रावधान छ ।

आयोगले दिएको जानकारीअनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौँ महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेका छन् ।

चितवन जिल्लाका ७ पालिकाहरूमध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । महानगरले ७६ दशमलव २९ प्रतिशत अंक पाउँदा इच्छाकामना गाउँपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७० दशमलव १ प्रतिशत, माडी नगरपालिकाले ६९ दशमलव १ प्रतिशत, खैरहनी नगरपालिकाले ६६ दशमलव ८ प्रतिशत, कालिका नगरपालिकाले ६४ दशमलव ३ प्रतिशत र राप्तीले ४३ दशमलव ३ प्रतिशत अंक प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका ७५३ पालिका मध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फस्र्यौट लगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको दाबी गरिन् । उनले महानगरलाई उत्कृष्ट सावित गर्न खटिनुहुने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिँदै उनले आम महानगरवासीको लागि यो गौरवको विषय भएको बताइन् ।

प्रतिक्रिया