स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने

काठमाडौँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन(नासा)स्कटल्यान्ड, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश–१ र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेको हो ।

एशोसियसनलाई नेपालबाट आयोजनामा सहकार्य नेपालबाट चलचित्र निर्देशक समाजले गर्नेछ । कार्यक्रमको सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश–१ ले गर्नेछ । एसोसिएसनले मंगलबार एक कार्यक्रम गर्दै महोत्सव आगामी अगस्टमा आयोजना हुने घोषणा गरेको छ ।

आदिवासी चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाती चलचित्र महासंघ, प्रदेश–१ का अध्यक्ष ज्योतिराज राईले बताए । महोत्सवले आदिवासी जनजाती चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार हुने र निर्माणमा समेत तीव्रता आउने राईको विश्वास छ ।
स्कटल्यान्डपछि अन्य विभिन्न मुलुकमा समेत महोत्सव क्रममा आयोजना गर्ने लक्ष्य रहेको राईले सुनाए ।

कार्यक्रममा नेपाल स्कटल्यान्ड एसोसियसनका अध्यक्ष विजय डंगोल, हिमालयन सेन्टरका अध्यक्ष टीका लिम्बु, कलाकार सुवाश थापा, निर्माता सागर सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतको सहभागिता थियो ।
महोत्सवमा आदिवासीका खाना, पहिरन, कलासंस्कृतिकोे अलवा आदिवासी चलचित्र प्रदर्शनसमेत हुनेछ । प्रदर्शन भएका चलचित्रका कलाकार र चलचित्रलाई अवार्डसमेत प्रदान गरिनेछ । कार्यक्रममा विभिन्न अन्तक्र्रिया, सम्मानसमेत आयोजना हुने महोत्सवमा थुप्रैको सहभागिता रहने महोत्सवका निर्देशक अरुणकुमार प्रधानले बताए ।

अगस्टमा स्कटल्यान्डको एडिनबर्गमा विश्वको चर्चित महोत्सव ‘एडिनबर्ग महोत्सव’ आयोजना हँुदै छ । सोही अवसर पारेर यो महोत्सव हुन लागेको हो । स्कटल्यान्डमा आदिवासी चलचित्र महोत्सव हुन लागेको पहिलो भएको आयोजक नेपाल स्कटल्यान्ड एसोसियसनका अध्यक्ष विजय डंगोलले बताए ।
महोत्सवमा समावेश हुने चलचित्रका बिधा र अन्य जानकारी केही समयपछि दिने निर्देशक प्रधानले बताए ।

प्रतिक्रिया