अपहरण गरेर भारतमा बेच्न लगिँदै गरेका बालकको उद्धार

काठमाडौँ । ललितपुरको पाटनबाट ४ वर्षीय नेपाली बालकलाई अपहरण गरेर भारत लैजाँदै गरेका भियतनामी युवक कलंकीबाट समातिएका छन् । गत बिहीबार अपहरणमा परेका ४ वर्षीय बालक पल चेपाङलाई भारत लैजाँदै गरेको अवस्थामा २३ वर्षीय भियतनामी युवकलाई कलंकीबाट पक्राउ गरी बालकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धारपछि अपहरित बालक चेपाङको मेडिकल जाँच गरी परिवारको जिम्मा लगाइसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले सौर्य दैनिकलाई जानकारी दिए ।

‘२४ गते साँझ करिब ८ बजे भियतनामी युवक माइ होङ किन्हालनले नेपाली बालक चेपाङलाई अपहरण गरेर कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएर राखेको रहेछ,’ एसपी आचार्यले भने, ‘हाल बालकको उद्धार गरी परिवारको जिम्मा लगाइएको र अपहरणकारी युवकलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाएर थप अनुसन्धान भइरहेको छ ।’

बालकलाई भारतको पन्जाब लगेर बिक्री गर्ने योजनासहित अपहरणकारी युवकले बालकको आधारकार्ड समेत बनाउन लगाएको भेटिएको प्रहरीको भनाइ छ । आरोपीको मोबाइलमा बालकको फोटो प्रयोग गरिएको भारतीय आधार कार्डको फोटो भेटिएको एसपी आचार्यले बताए ।

ललितपुर महानगरपालिका–१२ बाट आफ्ना छोरा हराएपछि आमा सरिता तामाङले निवेदन दिएकी थिइन् । प्रहरीले बालकको खोजी गर्दै जाँदा अपहरण गरी कलंकी मकालु पेट्रोल पम्प नजिकै रहेको इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो ।

आरोपी भियतनामी युवकले शुक्रबार बिहान साढे १० बजे काठमाडौँबाट वीरगन्ज जाने ६८९८ नम्बरको टिकट काटेकोसमेत भेटिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया