मौलाउँदै आर्थिक अपराध : बैंकिङ ठगीमा जिम्मेवार को ?

काठमाडौँ । पछिल्लो समय बैंकिङ कारोबार जति सजिलो हुँदै गएको छ, त्यति नै जोखिम पनि बढ्दो छ । बैंक खाताबाट रकम हराउनेदेखि बैंकिङ प्रणाली ह्याक गरी रकम चोरी हुने जस्ता घटनाले बैंकिङ क्षेत्रमा जोखिम बढ्दै गएको छ ।

पहिले चेकमा नक्कली हस्ताक्षर गरेर, कर्जा दुरुपयोग गरेर वा प्रतीतपत्रको माध्यमबाट रकम ठगी हुन्थ्यो । तर, हाल प्रविधिको विकाससँगै ठगी गर्ने तरिका पनि परिवर्तन भएको छ । अहिले वालेट, मोबाइल बैंकिङ तथा इन्टरनेटबाट हुने ठगी बढेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । नेपाल प्रहरीको तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी बैंकिङ कसुरका घटना भएका छन् । यस्तो कसुरमा गत आवमा देशभर १३ हजार २६३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ठगी गर्ने समूहले मोबाइल बैंकिङको पासवर्ड तथा ओटिपी कोड मागेर पनि ठग्ने गरेका छन् । हाल भइरहेका ठगीमध्येको मुख्य प्रकृति हो यो । केही वर्षअघि एटिएम ह्याकको आतंकले केही बैंकहरूले एटिएम नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । २०७४ साल तिहारको लक्ष्मीपूजाका दिन नेपालको बैंकिङ क्षेत्रमा ठुलो घटना घट्यो । एनआइसी एसिया बैंकको स्विफ्ट (सोसाइटी फर बैंकिङ इन्टरबैंक फाइनेन्सियल टेलिकम्युनिकेसन) ह्याक गरेर साढे ४६ करोड रुपैयाँ चोरीको असफल प्रयास भएको थियो । बैंकको स्विफ्ट ह्याक गरी ह्याकरले ४६ करोड ५६ लाख ५० हजार ५०५ रुपैयाँ भुक्तानीका लागि विभिन्न बैंकमा ३१ वटा अर्डर पठाएको अनुसन्धानले देखाएको थियो ।

साइबर सुरक्षाका हिसाबले बैंकिङ प्रणालीमै छिरेर गरेको यो पहिलो अपराध थियो । सो प्रकरणपछि २०७६ सालमा सरकारी लगानीको कृषि विकास बैंकको सिस्टम ह्याक गरी भारत, तान्जिनिया, चीन, इथियोपिया र बेलायतमा बसेर भारतीय तथा नाइजेरियन नागरिकहरूले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका थिए । ४१ जनाभन्दा बढी नेपालीलाई एजेन्ट बनाइएको यो घटनामा पानस रेमिटलाई माध्यम बनाइएको थियो ।

त्यस्तै बैंकको सर्भर तथा विभिन्न प्रणालीहरूमा हुने आक्रमण र त्यसबाट भएका क्षतिका घटनाबाहेक एटिएममार्फत् चोरीका घटना पनि उत्तिकै छन् । ठुलो घटना आव २०७६/७७ मा काठमाडौँको नबिल बैंकको एटिएम बुथमा भएको थियो । यो अपराधमा मुख्यतः प्रभु बैंकको एटिएमसहित अन्य विभिन्न बैंकको एटिएमबाट १ करोड ७८ लाख ६१ हजार १५५ रुपैयाँ निकालिएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा ५ चिनियाँसहित १ नेपाली र १ जना फ्रेन्च नागरिकलाई प्रहरीले पक्राउ गरेर बैंकिङ कसुरको मुद्दा चलाएको थियो । त्यस्तै, बैंक खाता ह्याक गरी हुने ठगी वा चोरीका घटना पनि हुने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल नेपाल राष्ट्र बैंकले गर्नुपर्ने साइबर सुरक्षासम्बन्धी नीतिगत व्यवस्थासहित निर्देशन, गाइडलाइनहरू बनाएको दाबी गर्छन् । राष्ट्र बैंकले जारी गरेको गाइडलाइन सबै बैंकले कडाइका साथ लागू गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘राष्ट्र बैंकले निर्देशन गरेका कुराहरू, आइटी, अडिटलगायत कुराहरू गर्नैपर्छ ।’


पछिल्लो समय पिएसटीका कारण पनि नेपाली बैंकिङ क्षेत्रमा समस्या देखिने गरेको छ । अन्य प्लेटफर्मका सफ्टवेयर लिनलाई राष्ट्र बैंकले तोकेको मापदण्डमा रहेर जसको लिँदा पनि हुन्छ । तर, मापदण्ड पूरा गरेको हुनुपर्छ । कोर बैंकिङ सफ्टवेयर मुख्य एउटा भए पनि अन्य सफ्टवेयर बैंकहरू आफैँले छान्ने तथा प्रयोग गर्न पाउँछन् । यो लिनु नलिनु भन्ने काम राष्ट्र बैंकको नभएको उनले प्रष्ट पारे ।

अहिले भइरहेका धेरेजसो घटनाक्रममा ग्राहकको पनि कमजोरी रहेको समेत उनले बताए । उनले भने, ‘ग्राहकले अरूलाई दिन नहुने नम्बर तथा जानकारीहरू कुनै न कुनै रूपमा अरूलाई दिइरहेको अवस्था पनि छ । यसमा आमनागरिक चनाखो हुनुपर्छ ।’

‘बैंकबाट ह्याकरको पहुँचमा ग्राहकको जानकारी गएको देखिँदैन । कहीँकतै गएको रहेछ भने राष्ट्र बैंकले कारबाही गर्छ,’ आगामी कर्यदिशाबारे थप चनाखो हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सुरक्षाका कुरा थप अपडेट गर्ने तथा नयाँ कार्यादेश जारी गर्दै जानेछौँ ।’ उनले थर्ड पार्टी सर्भिसमा पनि राष्ट्र बैंकले एकदमै कडाइका साथ हेर्ने गरेको सुनाए । कुनै कमजोरी देखिएमा सुधारका लागि निर्देशन गर्ने, सुधार नगरे एक्सनमा जाने उनले बताए ।

यस्तै, अर्थविज्ञ ज्ञानेन्द्र अधिकारी नेपालका धेरैजसो बैंकले प्रयोगमा ल्याएका सफ्टवेयरहरू ओरिजिनल नभई पाइरेटेड सफ्टवेयरहरू प्रयोग भइरहेको भन्नेसमेत चर्चा चलिरहेको बताउँदै यदि यस्तो हो भने आमनागरिकको सम्पत्ति जोखिममा रहेको बताउँछन् । ‘नेपाल राष्ट्र बैंकको आइपी सिस्टम समय सुहाउँदो हुनुपर्ने हो । तर, एकदमै कमजोर र पछाडि देखिन्छ,’ अधिकारी भन्छन्, ‘अहिलेसम्म हाम्रो वान् विन्डो डेटा ग्राफ नै छैन र हामीसित डेटा बैंक पनि नभएको अवस्था छ ।’ अधिकारीले थपे, ‘राष्ट्र बैंकले भएको सिस्टमलाई नियमन गर्ने हो । तर, म के भन्छु भने भएको सिस्टम नै पुगेको छैन । राष्ट्र बैंक नै अपडेट हुन सकेको छैन ।’

उनले डेटा बैंक बनाउन राष्ट्र बैंक तथा सरकारले पहल गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको पनि बताए । ‘हामीले जति पनि सफ्टवेयर चलाइरहेका छौँ । ती उपहारबाट कुनै सिंगापुर कुनै अन्य मुलुकबाट लिइरहेका छौँ,’ अधिकारीले भने, ‘जबसम्म बाहिरको सफ्टवेयर चलाउछौँ, तबसम्म हाम्रो डेटा उसँग गइरहन्छ । साइबर सुरक्षा मजबुत बनाउन आफ्नै सफ्टवेयर हुनु जरुरी छ ।’

पूर्वबैंकर भुवन दाहाल नेपाली बैंकहरूमा साइबर सुरक्षाको कुरालाई लिएर चर्चा हुने गरेको बताउँदै साइबर सुरक्षाबारे अनुगमन गर्ने, निर्देशन दिने तथा अन्य नियमनका विषयमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको बताउँछन् । उनले सस्तोमा कम गुणस्तरको सफ्टवेयर प्रयोग गरेको विषय भने घुमाउरो पारामा स्वीकार गरे । उनले भने, ‘कसैकसैले गरेका पनि होलान् । तर, यसको अन्तिम स्वीकृति दिने नेपाल राष्ट्र बैंकले हो । राष्ट्र बैंकले नै यसमा कस्न तथा अन्य निर्देशन गर्न सक्छ ।’ आम नागरिकको रकम सुरक्षित राख्न सरकारी निकायले पहल गर्नु जरुरी रहेको उनको भनाइ छ ।

साइबर सुरक्षाका लागि बैंकिङ क्षेत्र आफैँले सिस्टम बलियो बनाउनतर्फ लाग्नुपर्ने उनको सुझाव छ । बैंकहरूको बीचमा समन्वय भयो भने पनि कम खर्चमा सुरक्षित रहने काम गर्न सकिने दाहाल बताउँछन् । ‘महँगो, सुरक्षित तथा भरपर्दो सिस्टम किनेर आपसमा मिलेर बैंकहरूले चलाउन पनि सक्छन्,’ दाहालले भने, ‘नेपाल बैंकर्स एसोसिएसनमा पनि यसको एउटा कमिटी नै छ । त्यसले समन्वय गरेर काम गर्दा उपयुक्त होला ।’ जोखिम शून्य नहुने भए पनि जोखिम कम गर्न सकिने दाहालको भनाइ छ ।

नेपाल बैंकका आइएसओ रवीन्द्र महर्जनले आमनागरिकको रकमको सुरक्षाका लागि आफूहरू निरन्तर लागिरहेको सुनाए । उनले भने, ‘हामीले सुरक्षाका ८ वटासम्म तहहरू बनाएर काम गरिरहेका हुन्छौँ । बैंकसँगै ग्राहक पनि सचेत हुने हो भने बैंकिङ सिस्टमबाट ठगी हुन सक्दैन ।’ हाल भइरहेको ठगी फिसिङबाट धेरै भएको उनको भनाइ छ । महर्जनले भने, ‘ओटिपी कोड आयो भनेर भन्ने, इमेल पठाउने ग्राहकसँग कोड माग्ने तथा कुनै लिंक दिएर क्लिक गर्न लगाउनेलगायत थुप्रै तरिकाबाट ठगीका घटना सुनिन्छन ।’ बैंकसँगै मिलेर आफ्नो धनको सुरक्षाका लागि काम गर्नु ग्राहकको पनि दायित्व भएको उनले सुनाए ।

०००

३८ वटा एटिएम तोडफोड


प्रहरीका अनुसार आव २०७७/०७८ देखि हालसम्म ३८ वटा एटिएम मेसिनबाट रकम चोरीका घटना भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ४ वटा, २०७८/७९ मा १, २०७९/८० मा १९, २०८०/८१ मा ८ र २०८१/८२ को पुससम्ममा ५ वटा एटिएमबाट चोरी भएको छ । सबैभन्दा धेरै कास्कीमा २१ वटा, ललितपुरमा ९, भक्तपुरमा २, कैलालीमा १, धादिङमा १ र दार्चुलामा १ वटा एटिएम तोडफोड हुँदा केहीमा रकम चोरी भएको छ भने केहीमा प्रयास असफल भएको छ । एटिएम तोडफोडका घटनामा ४७ जना प्रक्राउ परेका छन् ।

०००

बैंकिङ कसुरमा ३९ हजार ६८३ वटा मुद्दा

प्रहरीका अनुसार आव २०७७/७८ देखि हालसम्म ३९ हजार ६८३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । आव २०७७/७८ मा २ हजार ३७३, २०७८/०७९ मा ५ हजार ३८३, २०७९/८० मा १२ हजार १३५, २०८१/८१ मा १३ हजार २६३, र २०८१/८२ को ६ महिनामा ६ हजार ५२९ वटा मुद्दा दर्ता भएका हुन् । बैंकिङ कसुरमा चेक बाउन्सदेखि बैकिङ ठगीलगायत सबै खालका मुद्दा पर्छन् । सिस्टम ह्याक तथा बैंककै लापरबाहीले पनि कतिपय घटना पनि यही सूचीमा परेको प्रहरीले जनाएको छ । यस्तै, सिआइबीले मात्रै आव २०७६/७७ देखि हालसम्म २० वटा बैंकिङ कसुरका मुद्दा दर्ता गरेको प्रवक्ता सुधिरराज शाहीले जनाए ।

प्रतिक्रिया