‘नयाँ’को साथ लिएर संसद्मा पुनरागमनको तयारीमा बाबुराम

राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा आइतबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय अधिवेशनमा मन्तव्य राख्दै पार्टी अध्यक्ष डा बाबुराम भट्टराई। तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का राष्ट्रिय महाधिवेशन आयोजक समिति संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँगको सहकार्यको च्याप्टर क्लोज गरेको संकेत गरेका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपालका स्थापित तथा पुराना राजनीतिक दलहरूलाई निम्ता नगरेर डा. भट्टराईले आगामी दिनमा उनीहरूसँग सहकार्य हुन नसक्ने सन्देश प्रवाह गरेका हुन् । उनले संसदीय राजनीतिमा भर्खरै उदाएका राजनीतिक शक्तिहरूलाई मात्र महाधिवेशनमा बोलाएर उनीहरूसँग भने आगामी दिनमा सहकार्यको बाटो खुला भएको संकेत गरेका छन् ।

आइतबार काठमाडौँमा सुरु भएको नेसपा (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा कुनै पनि पुराना राजनीतिक दलहरूलाई बोलाइएन । पार्टीलाई वैकल्पिक शक्तिका रूपमा देखाउनका लागि नेसपा (नयाँ शक्ति) ले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र विवेकशील साझा पार्टीलाई निम्तो गरेको थियो ।

निम्तो स्वीकार गर्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा उपस्थित भएका थिए । उनीहरूले कार्यक्रमलाई सम्बोधन गर्दै नेसपा (नयाँ शक्ति) को महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

नेपालको राजनीतिक इतिहासमा आपसमा जति नै अन्तर्विरोध र संघर्ष भए पनि राजनीतिक दलहरूले एक–अर्कालाई आफ्नो पार्टीको महाधिवेशनहरूमा बोलाउँदै आएको परम्परा छ । अझ आफ्नो वर्गीय मित्र किटान गरेर विदेशी राजनीतिक दलका प्रतिनिधिलाई समेत महाधिवेशनमा उपस्थित गराउने कम्युनिस्ट स्कुलिङ रहँदै आएको छ । तर, नेपालको पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति अध्यक्ष भएको दलले महाधिवेशनमा सहयात्री दलहरू तथा साथीहरूलाई नबोलाएको विषय चासो र रहस्यको विषय बनेको छ ।

डा. भट्टराईले पार्टीको महाधिवेशनमा पुराना राजनीतिक दलहरूलाई नबोलाई नयाँ दलहरूलाई मात्रै बोलाएर गहिरो राजनीतिक सन्देश दिएका छन् भने आगामी दिनमा आफ्नो पार्टीको यात्राका बारेमा स्पष्ट पार्न खोजेका छन् । सौर्य दैनिकसँग कुरा गर्दै नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले पुराना राजनीतिक दलहरू आफूहरूको राजनीतिक कार्यदिशासँग सहकार्य गर्न तयार नभएकाले निम्तो नै नगरिएको बताए ।
‘पुुराना राजनीतिक दलहरू हाम्रो राजनीतिक कार्यदिशासँग सहकार्य गर्न तयार हुनुभएन । हाम्रो राजनीतिक कार्यदिशा भनेको सुशासन, समृद्धि, समुन्नत समाजवाद, स्वाधीनताको कार्यदिशा हो,’ शर्माले भने, ‘देशको समस्या भनेको गरिबी, बेरोजगारी र परनिर्भरता हुन् । ती समस्याका कारक पुराना राजनीतिक दल भएका हुनाले त्यसलाई समाधान गर्ने गरी उहाँहरू आउनुभएन । समस्यालाई बोकेर हामी अघि बढ्न नचाहने, समाधान बोक्न उहाँहरूले नचाहने । त्यसो भएर हामीले निम्तो दिएनौँ ।’

‘पुराना’लाई नबोलाउनुको अर्थ

२०७२ सालमा नयाँ संविधान बनेपछि तत्कालीन माओवादी पार्टीको उपाध्यक्ष रहेका डा. भट्टराईले पार्टी छाडे र नयाँ शक्ति अभियान भनेर सुरु गरे । पछि सो अभियानलाई २०७३ जेठ ३० गते नयाँ शक्ति नेपाल पार्टीमा रूपान्तरण गरेर पार्टी घोषणा गरे । राजनीतिको वैकल्पिक बाटो हिँड्ने लक्ष्यसहित स्थापना भएको पार्टी मूल मर्मअनुसार चल्न सकेन । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँग २०७६ सालमा एकता गरी समाजवादी पार्टी बन्यो । पुनः महन्थ ठाकुरले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी नेपाल बनाइयो ।

त्यहाँबाट पनि विभाजित भई डा. भट्टराईले २०७९ मा नेपाल समाजवादी पार्टी गठन गरे । सोही नेपाल समाजवादी पार्टीको २०८१ कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न विधान अधिवेशनले पार्टीको नाम नेसपा (नयाँ शक्ति) राखेको हो । बाबुरामले जहाँ उभियो, त्यसैलाई वैकल्पिक शक्ति भन्ने गरेका छन् । उनले आजसम्म जे–जति पार्टी बनाए, सबैलाई वैकल्पिक शक्तिकै ट्याग दिए । यता, पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्दा उनले आफ्नो वैकल्पिक राजनीतिको बाटोलाई पुष्टि गर्न सकेनन् । फलस्वरूप पार्टी झन्झन् खिइँदै गइरहेको छ ।

त्यतो त, २०७४ सालको निर्वाचनमा वाम गठबन्धनमा पस्नु र निस्कनु, २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा आफ्ना पार्टीका उम्मेदवार उठाउनु, आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ मा आफू नउठी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनु र चुनावपछि लगत्तै पार्टी एकता गर्ने सहमति गर्नुले पनि बाबुरामलाई नाफाभन्दा घाटा धेरै भयो । आफ्नो निर्वाचन क्षेत्र त गुम्यो नै, काठमाडौँ–७ बाट छोरी मानुषी यमी भट्टराईलाई पनि जिताउन सकेनन् । छोरी मानुषीले काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीसँग पराजित हुनुपर्यो ।

यता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी एकताबाट पछि हटे । पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव भने प्रचण्डसँग एकतामा जाने गरी विभाजित भइसकेका छन् । यी सबै घटनाक्रमले उनलाई वैकल्पिक शक्ति बनाउन नसकेको भनेर पार्टीभित्रै चर्को आलोचना छ । उनले त्यही आलोचनालाई चिर्नकै लागि पनि पुराना राजनीतिक दलहरूलाई नबोलाएको पार्टीका एक नेताले बताए ।

नयाँसँग ‘साथ’ लेनदेन

पार्टी महाधिवेशन उद्घाटनमा बोल्दै डा. भट्टराईले आफूहरूले वैकल्पिक शक्ति र स्वतन्त्र छविका व्यक्तिहरूलाई मात्रै बोलाएको स्पष्ट पारे । पुरानालाई नबोलाउनुको कारणबारे प्रस्ट्याउँदै उनले भने, ‘अरू साथीहरूसँग छुवाछूत होइन । उहाँहरूसँग पनि आवश्यक पर्दा सहकार्य गरेकै हो,’ उनले थपे, ‘अब नयाँ युगको नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा एकता हुनुपर्छ ।’

विगतदेखि नै नयाँ राजनीतिक दलहरूसँग नरम सुनिने बाबुरामले यस पटक भने आफूहरू एकताबद्ध हुन सक्ने राजनीतिक सन्देश दिएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमै उनले प्रचण्डलाई गोरखा–२ छाड्नु गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । पछिल्लो समय गोरखा–२ का गाउँहरूमा गएर प्रचण्डलाई ल्याउनु गल्ती भएको भनी माफीसमेत माग्दै हिँडेका छन् । यसले गर्दा उनी आगामी संसदीय निर्वाचनमा पुनः सांसद निर्वाचित भएर आउन खोजेको देखिन्छ भने त्यसका निम्ति नयाँ राजनीतिक दलहरूको साथ खोजेको पनि स्पष्ट भएको छ । उनी आवश्यक पर्दा आफ्नो साथ पनि नयाँ दलहरूलाई दिन तयार देखिन्छन् ।

प्रतिक्रिया