अछाम । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले तत्कालीन अवस्थामा माओवादीले गरेको जनयुद्ध ‘हिंसा’ नै भएको बताएका छन् । १० बर्से सशस्त्र जनयुद्ध लडेर आएका तत्कालीन माओवादीका फौजी कमान्डर बादलले सुदूरपश्चिमको अछाम पुगेर आफैँले लडेर आएको युद्धलाई हिंसा नै भएको बताएका हुन् ।
जनयुद्धका बेला उनी तेस्रो वरीयताका नेता थिए ।
तर, सैन्य कमान्डमा भने अध्यक्ष प्रचण्डपछि उनी नै थिए । उनैको आदेशका कैयौँ स्थानमा भएको आक्रमणमा परी सयौँ जनाले ज्यान गुमाए, अहिले पनि कैयौँ बेपत्ता छन् । ‘मरेमा यो ज्यान, बाँचे संसार’ भन्दै उनले युद्धमा हौस्याएर पठाएका लडाकूले कति मारे कति मरे र कति बेपत्ता छन् । बादल जनयुद्धका बेला माओवादीभित्र महत्वपूर्ण नेताका रूपमा मानिन्थे ।
लामो समय अध्यक्ष प्रचण्डको नजिक भएर हेडक्वार्टरसँगै युद्धमा जीवन बिताएका उनले अहिले आएर त्यसलाई युद्ध नभएर हिंसा भएको बताएका हुन् । शालीन र भद्र स्वभावका कम बोल्ने बादलले सार्वजनिक रूपमा उक्त अभिव्यक्ति दिएका हुन् । अछामका स्थानीय पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘वर्ग संघर्ष शान्तिपूर्ण ढंगले पनि हुन्छ ।
त्यहाँ कुनै हिंसा हुँदैन, कसैलाई मार्ने भन्ने हुँदैन । वाकयुद्ध पनि हुन्छ । अरू शान्तिपूर्ण आन्दोलन, हड्ताल, जुलुसहरू गरेर पनि विविध रूपमा हुन्छ । त्यसैले युद्ध, हिंसा पनि वर्ग संघर्षको एउटा रूप हो ।’ उनको उक्त अभिव्यक्तिले उनले लडेको १० बर्से युद्ध हिंसा भएको स्वीकार गरेका थिए ।
माओवादीले फागुन १ गते युद्ध सुरु गरेको दिनको स्मरण गर्दै जनयुद्ध दिवस मनाउँदै आएको छ । थापाले जनयुद्ध दिवस मनाउनुको कुनै अर्थ नरहेको समेत टिप्पणी गरेका छन् । उनले आफू अर्को पार्टी छाडेर पुरानो एमालेमा आएको नभई नयाँ एमालेमा आएको बताए । ‘यो पुरानो एमाले होइन, नयाँ एमाले हो ।’
एमाले अछामको कार्यकर्ता भेलामा गएका उनले प्रचण्ड, माधव नेपाल, भीम रावलदेखि वामदेवसम्मको आलोचना गरे । भीम रावल एमालेबाट निष्कासित भएपछि अछाममा एमालेका नेता कार्यकर्ताले पार्टी छाड्ने क्रम बढेपछि उनी यहाँ आएका हुन् । उनले २०८४ मा हुने निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने कारणबारे समेत तर्क गरे ।
तत्कालीन नेकपा (माओवादी) ले २०५२ मा जनयुद्ध सुरु गर्दा नेकपा एमालेले उसका गतिविधिलाई हिंसाकै रूपमा लिएको थियो । त्यतिबेला एमालेले त्यसलाई उग्रवामपन्थी राजनीतिक विचलन भएको निष्कर्ष निकालेको थियो । आज बादल एमालेको त्यही निष्कर्षमा सहमत भएका छन् ।
प्रतिक्रिया