काठमाडौँ । भारत सरकारले नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था गर्न लागेको भन्दै चिया उत्पादक संघका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था गर्दा नेपाली उद्यगीलाई मार पर्ने भन्दै संघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्कालन उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महसुलको प्रबन्ध गर्न पनि सरकारसँग माग राखिएको छ । प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक ६ अर्ब रुपैयाँको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चिया उत्पादक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताए । निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा पनि सरकारले सक्दो काम गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रादेशिक चिया समन्वय समिति, कोसीसहित झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपाली चियाको उचित बजार प्रवद्र्धन र बिस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव पनि दिए ।
प्रतिक्रिया