नेपालमा नास्तिकता फैलाउन युएसएआइडीमार्फत् ५ लाख डलर खर्च गरिएको खुलासा

काठमाडौँ । अमेरिकाको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछि डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) बन्द गर्नेबारे दिएको अभिव्यक्ति र त्यसको समर्थनमा अर्बपति एवं अमेरिकी सरकारको ‘इफिसेन्सी डिपार्टमेन्ट’ प्रमुख एलन मस्क उभिएसँगै यो विषयमाथि अहिले विश्व जगत्मा बहस चलिरहेको छ ।

नेपालमा पनि यसको आवश्यकता र योगदानबारे चर्चा चलिरहँदा एक अमेरिकी सांसदले भने नेपालमा नास्तिकता फैलाउन अमेरिकाले युएसएआइडीको प्रयोग गरेको खुलासा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले युएसएआइडीमार्फत् हुने सहायताको दुरुपयोग भएको भन्दै ३ महिनाका लागि स्थगित गरेका थिए । अमेरिकी संसद्को विदेश मामिला समितिका सभापति तथा रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा नेपालमा नास्तिकता फैलाउन ५ लाख अमेरिकी डलर खर्च गरेको बताए । अन्तर्वार्ताका क्रममा मास्टले भनेका थिए, ‘नास्तिकताका लागि ५ लाख अमेरिकी डलर नेपालमा खर्च गरिएको छ ।’

युएसएआइडीका गतिविधि रोक्नुका कारणबारे बोल्दै मास्टले उक्त खुलासा गरेका हुन् । हाल विश्वभर युएसएआइडीले उपलब्ध गराउँदै आएका सहायता रोकिएका छन् । यसबाट नेपाल पनि प्रभावित भएको छ । ब्रायनको उक्त अभिव्यक्तिले अहिले नेपालको सार्वभौमिकतामाथि समेत प्रश्नचिह्न खडा भएको छ ।

प्रतिक्रिया