अर्जुन ट्रफीमा फ्रेन्ड्सको दोस्रो जित

काठमाडौँ । कुशल भुर्तेलको सानदार बलिङसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजपत गरेको हो । शीर्ष स्थानमा रहेको फ्रेन्ड्सले जितसँगै २ खेलबाट ४ अंक पु¥याएको छ । फ्रेन्ड्सले यसअघि धनगढी क्रिकेट टिमलाई ८ विकेटले पराजित गरेको थियो । झापाले भने पहिलो खेलमै हार बेहोरको हो ।

फ्रेन्ड्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको झापाले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६६ रन मात्रै बनायो । खराब मौसमका कारण खेलमा ५–५ ओभर घटाइएको थियो । झापाका सनम बुढाथोकीले सर्वाधिक १७ रन बनाए । दिपु भुजेलले १५ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । फ्रेन्ड्सका कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले १ मेडनसहित १२ रन खर्चिए ।

अजय चौहानले २ विकेट लिँदा रवी विष्ट, आवाज गौतम र सन्दीप जोराको नाममा समान १ विकेट रह्यो । त्यसअघि कैलालीको घनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको फ्रेन्ड्सले १५ ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

फ्रेन्ड्सका ओपनर आयुषमान बमले सर्वाधिक ५७ रन बनाए । ३६ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, सन्दीप जोराले ३० बलमा ४ चौका र ४ छक्कासहित ५१ रन बनाए । किरण ठगुन्ना २१, कुशल भुर्तेल ३ र विनोद भण्डारी ५ रनमा आउट भए । झापाका अर्जुन ऐरीले २ र पवन कार्कीले १ विकेट लिए ।

प्रतिक्रिया