उल्झनमा अल्झिएको कम्युनिस्ट आन्दोलन

मुलुकको विद्यमान संविधान निर्माण कम्युनिस्टहरूकै जोडबल, बलिदान र योगदानका कारण भएको कुरा घामजस्तै छ । यही संविधानलाई कार्यान्वयन गर्ने, संविधानमा भएका केही समस्याहरूलाई सच्याउने र नेपाली जनताको खुसी, मुलुकको समृद्धिलाई शीरमा राखेर नेपाली कम्युनिस्टहरूले आफ्ना कार्यभारहरू तय गर्न सक्ने हो भने सम्भावना नै सम्भावना देखिन्छन् ।

धनराज वास्तविक

पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी आज विभिन्न कित्तामा विभाजित छ । स्वयं पुष्पलालकै जीवनकालमा पनि कम्युनिस्टहरू एकजुट र मजबुत पार्टी बनाउने भन्दा पनि सानातिना विवाद र उल्झनमा अल्झिएर छिन्नभिन्न बनेको इतिहास र ताजा वर्तमानले देखाउँछ ।

नेपाली समाजमा रहेको व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन, उत्पीडन, अशिक्षा र गरिबीको अन्त्यगरी जनवादी क्रान्ति सम्पन्न गर्ने, जनवादी व्यवस्थाको सुदृढीकरणमार्फत राष्ट्रिय पुँजीको विकास गर्दै समाजवाद हासिल गर्ने महान उद्देश्य राखेर कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो ।

उक्त उद्देश्यका कतिपय पक्षहरू पूरा भइसकेका छन्, केही पूरा हुने क्रममा छन् भने केही अधुरा छन् । साथै नयाँ परिस्थितिको सिर्जनासँगै नेपाली कम्युनिस्ट पार्टीका नौला उद्देश्य, सम्भावना र चुनौतीहरू थपिँदैछन् । नेपाली समाजमा रहेका वर्गीय, जातीय, लैंगिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायसहितको समाजवाद हासिल गर्ने कम्युनिस्ट पार्टीको लक्ष्य र उद्देश्य थियो । अतः कम्युनिस्ट आन्दोलन मुलुकको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका आम मुद्दाहरूको नेतृत्व गर्दै परिवर्तनकारी आन्दोलनको अगुवाको रूपमा स्थापित भएको कुरा नकार्न मिल्दैन ।

यति विराट र सुनौलो लक्ष्य–उद्देश्य बोकेको नेपाली कम्युनिस्ट आन्दोलन २००७ को परिवर्तनको महत्वपूर्ण सहयोगी शक्तिका रूपमा रह्यो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध र २०६२/०६३ को जनक्रान्तिको नेतृत्वदायी शक्तिका रूपमा स्थापित हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको वर्तमान चरणसम्मको राजनीतिक जिम्मेवारीको मुख्य शक्तिका रूपमा नेपाली क्रान्तिको नेतृत्व गरिरहेको छ ।


विभिन्न जनक्रान्तिबाट प्राप्त उपलब्धिहरू संघीयता, धर्म निरपेक्षता, समानुपातिक तथा समावेशी राज्यप्रणाली र समाजवाद उन्मुख आर्थिक सामाजिक व्यवस्थाको रक्षा र विकासको एक मात्र विश्वासिलो शक्तिको रूपमा नेपाली समाजमा स्थान बनाउन सफल भएको छ । तर, बिडम्बनापूर्वक भन्नुपर्छ, सारमा नेपाली कम्युनिस्ट आन्दोलन आज अनेकौँ कित्तामा विभाजित बनेर थरिथरीका पसल थापेर बसिरहेको छ । यस्तो दुःखद् अवस्थामा पनि केही महत्वपूर्ण सम्भावना जीवित छन् । साथै केही चुनौती पनि । जसको बारेमा आजका कम्युनिस्टहरूले बहस, छलफल र अन्तरक्रिया गर्न जरूरी छ ।

सम्भावना र चुनौती

नेपाली कम्युनिस्ट आन्दोलनका अनेकौँ सम्भावना छन् । जसको नेतृत्व गर्न सकेको खण्डमा नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य सुन्दर छ । माथि संक्षेपमा उल्लेख गरिएका सन्दर्भका आधारमा तमाम सम्भावना र सुन्दर अवसरहरू छन् भन्न सकिन्छ । मुलुकको विद्यमान संविधान निर्माण कम्युनिस्टहरूकै जोडबल, बलिदान र योगदानका कारण भएको कुरा घामजस्तै छ । यही संविधानलाई कार्यान्वयन गर्ने, संविधानमा भएका केही समस्याहरूलाई सच्याउने र नेपाली जनताको खुसी, मुलुकको समृद्धिलाई शीरमा राखेर नेपाली कम्युनिस्टहरूले आफ्ना कार्यभारहरू तय गर्न सक्ने हो भने सम्भावना नै सम्भावना देखिन्छन् ।

यसका निम्ति केही जरूरी र अनिवार्य सर्तहरू पूरा गर्नुपर्छ । विभिन्न कित्तामा विभक्त कम्युनिस्टहरूबीच सकभर पार्टी एकता नभए, कार्यगत तथा मोर्चा बनाएर अघि बढ्नुको विकल्प छैन । विश्वमै आज लोकतन्त्र कमजोर र ओरालो गतिमा रहेको सत्यलाई दृष्टिगत गर्दै नेपाली कम्युनिस्ट पार्टीहरूले नेपाली क्रान्तिकारी आन्दोलनलाई बचाउन व्यक्तिगत, गुटगत र स्वार्थलाई त्याग्नुपर्छ । यति मात्र गर्न सक्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलन रापतापका साथ अगाडि बढ्नेमा कुनै दुईमत नहोला ।

आज मुलुकमा हुने विभिन्न बहस तथा छलफलहरूमा वाम आन्दोलनको नाम र नारामूनि कम्युनिस्टहरू रमाइरहेका देखिन्छन् । वाम आन्दोलनले केही समय र केही स्वार्थहरू पूरा गर्न त सक्छ तर, कम्युनिस्ट आन्दोलको भूमिका, लक्ष्य र उद्देश्य पूरा गर्न सक्दैन । कम्युनिस्ट पृष्ठभूमिका विभिन्न व्यक्तिहरू अहिले कम्युनिस्ट आन्दोलनको शब्द उच्चारण गर्न असहज मानिरहेका छन् । वाम आन्दोलनको ब्यानर टाँगेर बहस गर्ने, मासलाई कन्भर्ट गर्ने काममा उनीहरू व्यस्त देखिन्छन् । साथै वाम आन्दोलनको आवरणमा भइरहेका बहस तथा छलफलहरूले कम्युनिस्ट आन्दोलनलाई छायामा पार्ने र वामपन्थी भाष्य स्थापित गर्ने कार्य हुनुलाई राम्रो भन्न सकिन्न । वामपन्थी केही समयका लागि मात्रै हो । क्रान्तिकारीपन र पक्ष भनेको कम्युनिस्ट नारा, विचार र सिद्धान्त नै हो ।

हामीले आज जोड्ले भन्नुपर्ने र लेख्नुपर्ने विषय भनेकै कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिकाबारेमा हो । कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिका विषयमा, नेपालीपनको समाजवादी व्यवस्थाका निम्ति हामीले गर्नुपर्ने जति बहस र गर्नुपर्ने जति छलफल गरिरहेका छैनौँ भन्ने कुरा लुकाउन मिल्दैन । अनावश्यक भ्रम, लोकप्रियताको आडमा उदायका शक्तिहरूलाई बिफल पार्ने र निराशालाई चिर्ने अनि आशावादलाई जीवित राख्ने काम कम्युनिस्टहरूकै हो । संविधानको रक्षा, विकास र कार्यान्वयनलाई तीव्रता दिन सकेको खण्डमा कम्युनिस्ट पार्टीहरूका सामु अवसर नै अवसर छन् ।

यसका साथै तमाम चुनौतीहरू प्नि छन् । दलाल पुँजीवाद नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती बनिरहेको छ । त्यस्तै बदलिँदो विश्व व्यवस्था पनि नेपाली कम्युनिस्ट आन्दोलनका निम्ति चुनौती हो । आज विश्व बहुध्रवीयतातर्फ अघि बढिरहेको छ । साम्राज्यवादी आधिपत्य राष्ट्रहरू र उदीयमान शक्ति राष्ट्रहरूबीचको शक्ति संघर्षले नै बहुध्रवीयताको पोलहरू निर्धारण गर्ने देखिन्छ । जसको प्रभाव नेपाली कम्युनिुस्ट आन्दोलनलेसमेत झेल्नुपर्ने अनिवार्य छ ।

सन् १९९० पछि एसियाको भूराजनीतिमा व्यापक परिवर्तन आएको कुरा निर्विवाद छ । खासगरी नेपालको भूराजनीति छिमेकी मुलुक चीन र भारत अनि आकाश जोडिएको अमेरिकासँग जोडेर हेर्ने गरिन्छ । जो बस्तुवादी छ भन्ने लाग्छ । यी तीन मुलुकको शक्ति होडबारे आज विश्वले हेरिरहेको अर्को सत्य हो ।

यता लोकप्रियतावादले नेपाली समाजलाई नराम्रोसँग गाजिसकेको छ । समाज सत्य, तथ्यभन्दा पनि भ्रमको पछि दौडन थालेको छ । जस्तैः सूर्य उदाउँदैन र अस्ताउँदैन । आँखाले देख्ने सत्य एउटा हुन्छ भने तथ्यसहितको सत्य अर्को हुन्छ । हरेक मान्छेहरूले तथ्यसहितको सत्यलाई मात्र सत्य मान्न थाल्छ त्यसपछिको दुनियाँ अर्कै हुनेछ । पृथ्वीको गतिशीलताले पार्ने प्रभाव र असरलाई आँखाले होइन, तथ्यका आधारमा सत्य र भ्रमको निवारण गर्नु वैज्ञानिक हुन्छ । त्यसैले नेपाली राजनीतिमा देखिएको लोकप्रियता, स्टन्टबाज र फन्डवाला हावामा समाज वहन आवश्यक छैन ।

राम्रा कुराको विश्वास नगर्ने र नराम्रा कुराको पछि दौडिने नेपाली समाजको मनोविज्ञानले कम्युनिस्ट आन्दोलनलाई स्थापित हुन दिएको छैन । जो चर्चामा छ, उसैलाई सामाजिक अभियन्ता मान्ने, जसले धेरै झुट, भ्रम, स्टन्टबाज गर्छ उसैको विश्वास गर्ने प्रवृत्तिले देशलाई कालान्तरमा असफल नै बनाउने हो । लोकप्रियतावादसँगै यथास्थितिवाद, जडता पनि कम्युनिस्ट आन्दोलनको ठूलो चुनौती हो । परिवर्तलाई रोक्ने, नश्लवादलाई प्रयास दिने काममा यथास्थितिवादीहरू न्वारनको बल लगाएर लागि परेकै छन् । यसका अलवा कम्युनिस्ट नेताहरूका आचरण, खानपान, उठबस, विलासिता पनि चुनौती बनिरहेका छन् । विचार एकतिर व्यवहार अर्कोतिर छन् । बिडम्बनापूर्वक भन्नुपर्छ, नेपाली कम्युनिस्टहरूलाई सद्भावी नबनी भएकै छैन ।

अर्कातर्फ विचार र सिद्धान्तलाई समसामयिक, व्यावहारिक र वैज्ञानिक बनाउन सकेको देखिँदैन । विचारको उत्पादन र पुनरोत्पादनको काम ठप्प छ । अर्को कुरा आफ्नो विचार, सिद्धान्त र कार्य जनतालाई बुझाउन सकेको देखिँदैन । विचार, सिद्धान्त र नारा बिर्सेको कम्युनिस्ट आन्दोलन तत्काल सच्चिने दिशातिर सोझिएन भने पश्चिम बंगालको यात्रामा जानबाट कसैले रोक्न सक्नेछैन । आज प्रशस्तै सम्भावना र अवसर छन् । मूलतः नेतृत्वले व्यक्तिगत इगो, स्वार्थ, बालहठ र जिद्धीपन त्याग्नुपर्छ । समयमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ । समयको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्छ । एकअर्काको अस्तित्व स्वीकार गर्ने हो भने मात्रै सम्भावनालाई सार र व्यवहारमा उर्तान सकिन्छ । एकले अर्कालाई सक्काउने खेलमा लाग्ने हो सबै सकिने निश्चित छ । कम्युनिस्ट पार्टीका नेताहरू एकले अर्कालाई सक्काउने खेलमा रहेकै कारण आज कम्युनिस्ट आन्दोलन माथि अनेकौँ प्रश्न उठिरहेका छन् । यी प्रश्न, सम्भावना र चुनौतीको सामना गर्ने एकजुट र मजबुत कम्युनिस्ट पार्टी निर्माणमा लाग्न सकियो भने मात्रै सबैको भलो हुनेछ ।

प्रतिक्रिया