युरोपेली संघमाथि पनि अतिरिक्त भन्सार लगाउने ट्रम्पको घोषणा

‘युएसएआइडी’ पनि बन्द गर्ने संकेत

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघका उत्पादनमाथि पनि अतिरिक्त भन्सार लगाउने घोषणा गरेका छन् । उनले राष्ट्रपतिमा पदभार ग्रहण गरेपछि क्यानडा, मेक्सिको र चीनपछि युरोपेली संघका उत्पादनमा पनि अतिरिक्त कर लगाउने बताएका हुन् । ‘युरोपेली संघले अमेरिकाका कारण फाइदा उठाएको छ’, फ्लोरिडा राज्यमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरू हाम्रा कार लिँदैनन्, कृषि उत्पादन खरिद गर्दैनन्, उनीहरू हामीसँग लगभग केही पनि लिँदैनन् । तर हामी उनीहरूका लाखौँ कार लिन्छौँ । ठूलो मात्रामा खाद्य सामग्री र कृषि उपजदेखि लगभग सबै कुरा लिन्छौँ ।’

कहिलेसम्ममा युरोपेली संघका उत्पादन माथि कर लगाउनुहुन्छ भन्ने बिबिसीको प्रश्नमा उनले भने, ‘म भन्न सक्दिनँ, तर निकै चाँडो हुन्छ ।’ ट्रम्पले विश्वका लगभग सबै देशले अमेरिकालाई धोका दिएको आरोपसमेत लगाए । ‘हामी हरेक देशसँग घाटामा छौँ, यो ठिक होइन । अब यो स्थिति बदल्नेवाला छौँ’, उनले भने ।

क्यानडाले जवाफी हमला गरे थप भन्सार लगाउने

राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकी उत्पादनमाथि भन्सार लगाए आफूले क्यानडाका उत्पादनमा थप भन्सार लगाउने बताएका छन् । २ दिनअघि अमेरिकाले क्यानडाबाट हुने आयातमा २५ प्रतिशत अतिरिक्त भन्सार लगाउने घोषणा गरेलगत्तै क्यानडाले पनि अमेरिकी समानमा त्यति नै भन्सार लगाउने भन्दै जवाफी हमाला गरेको थियो ।

‘हाम्रो उत्तरी छिमेकीले लामो समयसम्म अमेरिकाको अपमान गरेको छ’, ट्रम्पले भने, ‘म क्यानडाका जनतासँग प्रेम गर्छु । तर त्यहाँका नेताहरूसँग सहमत छैन, यदि खेल खेल्न चाहने हो भने मलाई कुनै अप्ठेरो हुने छैन । जे खेल्न चाहे पनि हामी तयार छौँ ।’

युएसएआइडी बन्द गर्ने संकेत

अमेरिकी सरकारको दक्षता विभागको नेतृत्व सम्हालिरहेका खर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) बन्द गर्ने संकेत गरेका छन् । स्थानीय समयअनुसार आइतबार मध्यरातमा आफ्नो सामाजिक सञ्जाल एक्समा आयोजित कुराकानीका क्रममा मस्कले भने, ‘हामी यसलाई (युएसएआइडी) बन्द गर्न सहमत भएका छौँ भनेर बुझ्दा हुन्छ । मस्कले युएसएआइडी अपराधिक संगठन भएकोसमेत आरोप लगाए ।

त्यसैगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआइडी कट्टर पागलहरूद्वारा सञ्चालित भएको आरोप लगाउँदै यसको भविष्यबारे विचार गरिरहेको बताएका छन् । विदेशमा अमेरिकी मानवीय सहायता प्रदान गर्ने जिम्मेवारी पाएको युएसएआइडीलाई अपराधिक भन्दै बन्द गर्नेसम्मको निर्णयले मस्क र ट्रम्पको जोडी सरकारी विभागहरूलाई उल्ट्याउन कुन हदसम्म जानसक्छन् भन्ने स्पष्ट पारेको छ ।

आफ्नो पोस्टमा मस्कले कुनै प्रमाण नदिई आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्सलाई सोधे, ‘के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्तपोषित ग¥यो, जसले लाखौँ मानिसको ज्यान लियो ।’ उनले यी आरोपहरूबारे थप व्याख्या गरेका छैनन् । यसलाई बाइडेन प्रशासनका अधिकारीहरूले रुसी दुष्प्रचार अभियानसँग जोडेका थिए ।

‘युएसएआइडी कट्टरपन्थी पागलहरूद्वारा सञ्चालित छ र हामी तिनीहरूलाई बाहिर निकाल्दै छौँ । र त्यसपछि हामी यसको भविष्यका बारेमा निर्णय गर्नेछौँ’, ट्रम्पले विस्तृत विवरण नदिई आइतबार भनेका छन् । ट्रम्पले अर्बपति मस्कप्रति आफ्नो समर्थनलाई जोड दिँदै आइतबार राति पत्रकारहरूलाई भने ‘मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।’

ट्रम्पले सुरुमा सबै विदेशी सहायता खर्चलाई ३ महिनाका लागि रोकेका थिए । यद्यपि उनले पछि खाद्यान्न र अन्य मानवीय सहायता जारी राख्न छुट दिए । युएसएआइडीका सहायता कार्यकर्ताहरूले स्वतन्त्र एजेन्सीका रूपमा संगठनको भविष्य सुनिश्चित नभएकोले अनिश्चितता छाएको बताएका छन् । अमेरिकी कंग्रेसको एउटा ऐनद्वारा स्थापित स्वतन्त्र एजेन्सी युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दछ । नेपालमा पनि विगत ६५ वर्षदेखि युएसएआइडीले शिक्षा, स्वास्थ्य, विपद् सहायता लगायतका मानवीय सेवा प्रदान गर्दै आएको छ । यसैबीच ट्रम्प युएसएआइडीलाई विदेश विभागमा राख्न चाहन्छन् भन्ने पनि खबर आएको छ ।

नेपालमा ८० अर्बभन्दा बढीका कार्यक्रम रोकिने चिन्ता

नेपालमा हाल युएसएआइडीका ३० भन्दा बढी कार्यक्रमहरू सञ्चालनमा छन् । ती कार्यक्रममध्ये धेरैजसो पञ्चवर्षीयअन्तर्गत रहेकाले सन् २०२८/२०२९ सम्म सञ्चालन हुने गरी सुरु भएका छन् । ती कार्यक्रमहरू सन् २०२३ र २०२४ मा सुरु भएका हुन् । वार्षिक ५५ खर्ब रुपैयाँको बजेट भएको युएसएआइडीले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सामुदायिक न्याय, विपद् व्यवस्थापन, जैविक विविधतालगायतको क्षेत्रमा लगानी गर्दै आएको छ ।

यसवर्ष सरकारी कोषमा अनुदान आएर सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत युएसएआइडीमार्फत् स्वास्थ्य परियोजनासँगसम्बन्धी ‘युएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, कृषि परियोजना अन्तर्गतको ‘युएसएआइडी एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, शिक्षा परियोजनाको ‘युएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र समावेशी नीति परियोजनासँग सम्बन्धीत ‘युएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ सञ्चालनमा थिए ।

ती परियोजनाहरू अहिले प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । युएसएआइडीले तत्काल ९० दिनका लागि यी कार्यक्रमहरू स्थगित गरेको पत्र नेपाल सरकारलाई पठाइसकेको छ । यीबाहेक अन्य कार्यक्रमहरू युएसएआइडी आफैँले खर्च गर्ने गरी सञ्चालन गरिरहेको छ । अब ती कार्यक्रमको भविष्य पनि अन्यौल नै छ । युएसएआइडीले २०२९ सम्म नेपालमा करिब ८० अर्ब रुपैयाँ खर्च गर्ने गरी आफ्ना परियोजनाहरू सञ्चालन गरिरहेको छ ।


युएसएआइडीको अन्यौलतका कारण नेपालमा सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमा शिक्षा र स्वास्थ्य रहेको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । नेपालको शिक्षा क्षेत्रमा युएसएआइडीले २००८ सालदेखि सहयोग गर्दै आएकाले तत्काल रोकिने अवस्था आए त्यसको प्रत्यक्ष प्रभाव देखिनेमा शंका नभएको कोइरालाले बताए । ‘नेपालको साक्षरता दर बढाउन सबैभन्दा महत्वपूर्ण भूमिका युएसएआइडीको थियो । अनौपचारिक शिक्षाको क्षेत्र, बालविकास, प्राथमिक तह, प्राविधिक शिक्षामा उनीहरूको ठुलै लगानी छ’, कोइरालाले भने ।’

अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा.अर्जुन कार्कीले तत्कालै युएसएआइडी र विभिन्न देशमा सञ्चालित त्यसका कार्यक्रमहरू बन्द नहुने अनुमान गर्छन् । अहिले बाहिर आएका विषयहरू आधिकारिक नभई व्यक्तिगत मात्र भएकाले त्यसैका आधारमा धारणा बनाउन नमिल्ने उनको भनाइ छ । ‘मेरो विचारमा युएसएआइडी बन्द हुँदैन । त्यसबेला सरकारले ९० दिनको लागि मात्र होल्ड भनेको थियो, र अहिले आएका अभिव्यक्तिहरू आधिकारिक भन्दा पनि युएसएआइडी लक्षित व्यक्तिगत मात्र हुन्’, कार्कीले भने, ‘आधिकारिक रूपमा कुनै निर्णय नहुँदासम्म यसै भनिहाल्नसक्ने अवस्था हुँदैन ।

प्रतिक्रिया