पुटिनकै नजिक हुँदै प्रोपोगान्डा नाइके बनेकी ती जिम्न्यास्ट

मस्को । सन् २००४ को एथेन्स ओलम्पिक धेरैका लागि सम्झनाको विषय मात्र हुन सक्छ । त्यसै ओलम्पिकमा रुसले जिम्न्यास्टिकको अलराउन्डमा स्वर्ण पदक जितेको थियो । त्यो ओलम्पिककी स्वर्ण पदक विजेता एलेना काबायेभाको जिव भने धेरेका लागि रहस्यमय लाग्न सक्छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि धेरै रुसीहरूलाई प्रतिबन्ध लाग्यो । यसरी प्रतिबन्ध लगाइनेमा तीनै काबायेभा पनि थिइन् । उनको औपचारिक परिचय त केही छैन । तर, ओपन सेक्रेट भने झैँ अथवा उनले अस्वीकार गरे पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनलाईं पुटिनको श्रीमतीसरह ठान्न थालेका छन् । धेरै सञ्चार माध्यमले त्यसै किसिमले समाचार छापेका छन् ।

उनी अहिले नेसनल मिडिया ग्रुपको प्रमुख छन् । सोही ग्रुपका कारण उनले यथेस्ट लाभ राज्यको तर्फबाट लिने गरेकी छन् । राज्यको सञ्चार नीति नै उनको अनुसार चल्ने गरेको जनाइन्छ । उनीमाथि थप आरोप पनि लाग्ने गरेको छ । सञ्चार माध्यममा प्रोपोगान्डाको योजना तयार गर्ने मुख्य काम नै उनको हो ।

सन् २००८ मा एक रुसी पत्रिकाले पुटिनले श्रीमती लाउडमिलासँग सम्बन्ध विच्छेद गर्ने तथा काबयेभासँग विवाह गर्ने समाचार छापेको थियो । सो समाचारको दुवैले खण्डन गरेका थिए । तथापि ५ वर्षपछि पुटिनको सम्बन्ध विच्छेद भयो । सोही सम्बन्ध विच्छेद पछि काभयेभाले आफ्नो परिचय र नाममा परिवर्तन गरेकी छैनन् । तथापि पुटिनको सबैभन्दा नजिकको व्यक्तिको रूपमा काम गरेकी छन् ।

सन् १९८३ मा जन्मिएकी उनले ४ वर्षको उमेरमा नै जिम्न्यास्टिक खेल्न सुरु गरेकी हुन् । उनकै प्रशिक्षक इरिना भिनरका अनुसार त काबयेभाको खेल सुरुआतमा नै यति धेरै आकर्षक थियो कि हेर्नेहरू सबै मोहित भएका थिए । सन् १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक अवसर पाएकी उनले सन् १९९८ को युरापेली च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

सन् २००० को सिड्नी ओलम्पिकमा कास्य पदक जितेकी उनले त्यसको ४ वर्षपछि नै स्वर्ण पदक जितेकी थिइन् । सन् २००१ मा उनी डोपिङमा असफल भएको प्रमाणित भएपछि उनले सो वर्ष जितेको पदक खोसिएको थियो । खेल जीवनमा उनले १८ विश्व च्याम्पियनसिप पदक जितिन् ।
त्यसपछि राजनीतिमा प्रवेश गरेकी उनी सन् २००७ देखि २०१४ सम्म तल्लो संसद्को सदस्य भएकी थिइन् । सन् २०१४ मा उनी नेसनल मिडिया ग्रुपको प्रमुख भएकी हुन् ।

उनको अहिले वार्षिक कमाइ १ करोड २० लाख अमेरिकी डलर रहेको जनाइन्छ । पुटिनले उनीसँगको सम्बन्ध मित्रवत रहेको जनाए पनि उनीहरूको २ बच्चासमेत भएको हल्ला चलेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

४१ वर्षीय उनको अहिलेको जीवन साच्चै रहस्यात्मक छ । कुनै समय जिम्न्यास्टिङ रिङमा रहने यी महिला अहिले अत्यन्त शक्तिसाली महिला बनेकी छन् । तीनै महिलाको विचार र सोचमा युद्धको समयमा प्रोपोगान्डाको योजनासमेत तयार हुन्छ ।

प्रतिक्रिया