अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्यो : योगेश भट्टराई

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको पाँचौँ हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले सांसद भट्टराईले यस्तो बताएका हन् । भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताए ।

‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ,’ उनले भने, ‘अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ, यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा ।’

०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । उनले ०७८ सालमा १६ वटा अध्यादेश आएको भन्दै त्यतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली नभएको समेत दाबी गरे ।

प्रतिक्रिया