काठमाडौं । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबारबाट सुरु भएको छ । आज प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसदहरुले आफ्नो आसनबाट उठेर अवरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका हुन् ।
सभामुख घिमिरेले बैठकको कामकारवाही अघि बढाउन खोज्दा रास्वपाका सांसदहरूले सिटबाट उठेर अवरोध जनाएका हुन् । सभामुखले बैठकलाई अघि बढाउन सहयोग गर्न पटक–पटक आग्रह गर्दा पनि रास्वपा सांसदहरूले उठेर अवरोध जनाइरहेका छन् ।
सभामुख घिमिरेले रास्वपालाई आजको बैठकमा दलीय आधारमा बोल्न समय निर्धारण गरिएकाले सोही समयमा आफ्नो धारणा राख्न आग्रह गरे । रास्वपाका सांसदहरूले उठेर विरोध जनाइरहेपछि सभामुख घिमिरेले अन्ततः कार्यसूची अघि बढाउन बसेर सहयोग गर्न आदेश समेत दिएका छन् । तर उनीहरूले अवरोध जारी राखेका छन् ।
आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्र्ने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ ।
प्रतिक्रिया