काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो निलम्बित सांसद पद फुकाुवाको माग गरेका छन् ।
शुक्रबार सिंहदरबारमा सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले आफूलाई गरिएको निलम्बन फुकुवा गरिदिन माग गरेका हुन् । सभामुख घिमिरेले भने आफूले पूर्वाग्रहमा सांसद् पदबाट निलम्बन नगरेको जवाफ दिँदै छलफल गर्ने बताएका छन् ।
सभामुख घिमिरेले लामिछानेलाई विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।
उनले भने,‘ मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौँ ।’
रविले आफ्नो कुरा राखेपछि सभामुखले लामिछानेलाई ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ? भन्दै प्रश्न गरेपछि रविले कानून व्यवसायीलाई स्पष्ट पार्न भने । आफ्नो सांसद पद निलम्बन प्रक्रियासंगत नरहेको भन्दै लामिछाने शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । त्यसक्रममा उनले आफ्नो सांसद पद तत्काल फुकुवा गर्न माग गर्दै सभामुख घिमिरेलाई निवेदनसमेत बुझाएका छन् ।
तर, सभामुख घिमिरेले छलफल गर्दै गर्ने जवाफ दिएका हुन् । सभामुखले अगाडि भने, ‘मैले पूर्वाग्रहमा तपाईंको सांसद पद निलम्बन गरेको होइन ।’
सभामुख घिमिरेले कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रका आधारमा गत पुस ८ गते लामिछानेलाई सांसदबाट निलम्बन गर्ने निर्णय गरेका थिए । सभामुखको निर्णय अनुसार संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना टाँस गरेको थियो ।
तर, यो प्रक्रियासंगत नरहेको विषय आफूहरूले उठाउँदै आएको र यही कुरा शुक्रबार सभामुख घिमिरेलाई निवेदनमार्फत अवगत गराइएको रास्वपाकी सांसद सोबिता गौतमले जानकारी दिइन् ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।
संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै छ । संसद अधिवेशन सुरू अुनुभन्दा अगाडि नै लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारमा गएका हुन् ।
प्रतिक्रिया