‘आँखा खुल्यो’ सडक नाटकमार्फत् विद्यार्थीको चेतना अभियान

काभ्रे । बिहीबार मध्यान्ह, बनेपा र पनौतीको सिमानामा पर्ने श्रीखण्डपुर बजार केही क्षणका लागि स्तब्ध भयो । सडकमै मानिसहरूको भीड लाग्यो । अचानक एम्बुलेन्स साइरन बजाउँदै आएपछि कोही जिज्ञासु आँखाले नियाल्दै थिए भने कोही मोबाइल निकालेर भिडियो खिच्न हतारिएका देखिन्थे ।

अचानक एम्बुलेन्सको साइरन बज्दै आयो । ट्राफिक प्रहरीको पोसाक लगाएका केही युवाहरू भीड चिर्दै अघि बढे । रक्ताम्मे अवस्थामा एक व्यक्ति सडकमा छटपटाइरहेका थिए । उद्धार टोली सक्रिय भयो, प्राथमिक उपचार गरियो । भीड तनावपूर्ण मुद्रामा थियो ।

तर यो कुनै वास्तविक दुर्घटना होइन, एक सजीव सडक नाटक थियो– ‘आँखा खुल्यो’
सडक सुरक्षा विषयमा जनचेतना जगाउने उद्देश्यले आदर्श विद्यामन्दिर, बनेपाका विद्यार्थीहरूले सडकमै यो नाटक प्रदर्शन गरेका थिए । काभ्रेमा बढ्दो सडक दुर्घटनाप्रति ध्यानाकर्षण गराउन विद्यार्थीहरूले सचेतना अभियान थालेका हुन् । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले विद्यालयस्तरबाटै यस्ता अभियान सञ्चालन हुनु सराहनीय भएको बताइन् ।

‘सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन, सम्पूर्ण नागरिकको गम्भीर विषय हो ।’ उनले भनिन्, ‘विद्यालयहरूले सचेतनामूलक कार्यक्रम ल्याउनु प्रशंसनीय पहल हो । भविष्यमा प्रहरीले यस्ता अभियानमा अझ ठुलो सहयोग गर्नेछ ।’ विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाले बालबालिकादेखि नै सडक सुरक्षाबारे सचेतना आवश्यक रहेको बताए । ‘सडक अनुशासन पालनामा लापरवाही गर्दा ज्यानै जोखिममा पर्न सक्छ । यस्तो अभियानले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्छ’ उनले थपे ।

सो अवसरमा एसओएस स्कुलका प्रिन्सिपल नरेश्वर आचार्यले विद्यालयहरू केवल पाठ्यपुस्तकमै सीमित नरहेर व्यावहारिक शिक्षा प्रदान गर्न अग्रसर हुनु सकारात्मक पक्ष भएको बताए । विद्यार्थीहरू जिम्मेवार नागरिक बन्नुपर्छ भन्ने यो अभियानले प्रमाणित गरेको बताउँदै उनले विद्यालयहरूले यस्ता कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ, काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले हरेक विद्यालयमा यस्ता कार्यक्रम हुनु आवश्यक रहेको औंल्याउँदै सञ्चार क्षेत्रबाट पनि यस्ता अभियानलाई सघाउन तयार रहेको बताए । नाटकमा विद्यार्थीहरूले ट्राफिक नियम पालना नगर्दा हुने दुर्घटना, मोबाइल चलाउँदै बाटो काट्दा आउने जोखिम, हेल्मेट नलगाउँदा युवाले नशा सेवन र दुव्र्यसनको कारण ज्यान गुम्ने सम्भावना लगायतका यथार्थपरक दृश्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया