काठमाडौँ । समाजवादी मोर्चाले संघीय राजधानी काठमाडौँमा मंगलबार गरेको विचार सभामा ‘सि’को बढी चर्चा भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताको नाम लिँदै अडिएर कमरेड ‘सि’ भन्दा दर्शक दीर्घाबाट ताली खाएका थिए । दर्शकको तालीपछि प्रचण्डले मुस्कुराउँदै भने, ‘यहाँ ‘सि’ भन्दा खुसी हुने धेरै हुनुहुन्छ, मलाई थाहा छ ।’ उनले त्यतिभन्दा फेरि तालीको फोर्रा छुटेको थियो । नेताको नाम लिँदा सबैले ‘सि’ उच्चारण गरेका थिए ।
सम्बोधनका क्रममा प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरू एउटै केन्द्र बनाउने उद्देश्यबाट विमुख हुन नहुने बताएका थिए । उनले रणनीतिक दृष्टिकोणले एउटै केन्द्र बनाउने उद्देश्यबाट बिमुख हुन नहुने बताए । उनले भने, ‘कहिलेकाहीँ कमरेडहरूले मलाई ताकेर अलिकति अरुचि प्रचण्डले नै ग¥यो कि क्या हो भन्ने गर्नुभएको छ । त्यो सत्य होइन है, सबैले बुझ्नपर्छ । बरु छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ म ।’ उनले हतार गरेर गरिएको एकताले दुर्घटनातर्फ जान नहुने भन्दै एकता र ध्रुवीकरणको प्रयास जारी राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपालजस्तो देशका लागि आवश्यक नभएको बताए । सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका बारेमा मेरो फरक धारणा छ’, अध्यक्ष नेपालले भने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत ?
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छन् । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन’, अध्यक्ष नेपालले भने, ‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू बुझ्नुहोला । त्यसबारेमा एउटा गोष्ठी राख्नुस् । म सबै विवरण दिन्छु । म आफैँ त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’ त्यसबारे उत्पन्न हुन सक्ने समस्याका बारेमा उनले भने ।
मोर्चाको संघटन पार्टी नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले २०७९ सालको निर्वाचनपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर पछि धोका दिएको आरोप लगाए ।
उनले सरकार कुनै कारण नभई प्रतिशोध, भुटानी शरणार्थी काण्डलाई प्रभावित गर्ने, मध्यराति एमालेसँग मिलेर बचाइदियाँै भन्ने अनुनय विनयका कारण सरकार ढलेको जिकिर गरे । लोकप्रिय काम गरिरहेको सरकार ढालेर कांग्रेस र एमालेले प्रतिगमन निम्त्याउने काम गरेको उनले आरोप लगाए ।
मोर्चाका संयोजक रहेका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा ब्युँझेर आएको भन्दै अब सुतेर नबस्ने बताए ।
सभालाई सम्बोधन गर्दै विप्लवले अब मोर्चा सक्रिय रूपमा अगाडि बढ्ने बताए । गणतन्त्र स्थापना भएको १८ वर्षमा जनता उकुसमुकुस भएको र बिस्तारै नयाँ तरिकाले सोच्न थालेको उनले स्पष्ट पारे ।
उनले समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ । मोर्चा आफ्नै गतिमा रहेको बताए । उनले पहिला मोर्चामा आवद्ध रहेको पार्टी जसपा अहिले नरहेको समेत जानकारी दिए । यस बीचमा मोर्चामा नेसपालाई सहभागी गराउन सफल भएको उनले बताए ।
विप्लवले अरू थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको बताउँदै जनताले निकासको चाहना राखेका अनुभूति भएको बताए ।
उनले भने, ‘सरकार ढल्छ र ढल्दैन तिखा बहस भइरहेको छ । तर, अहिलेको निर्विकल्प समाजवाद भएकाले अब चुप लागेर नबस्ने उनले बताए । ‘आफू गोली र बारुदबाट आएको शक्ति भएकाले देशलाई विदेशीको गुलाम बनाउन नदिने विप्लवले बताए ।
सम्बोधनका क्रममा उनले २०८४ युगान्तकारी परिघटना हुनेवाला भएको भन्दै समाजवादको यात्रा तय गर्न धेरै बाँकी रहेको बताएका थिए ।
प्रतिक्रिया