काठमाडौँ । सत्तारुढ र समर्थक दलका शीर्ष नेताहरूले सरकारले हालै संसद् छलेर ल्याएका विभिन्न अध्यादेशको बचाउ गर्न सहमत भएका छन् । आगामी शुक्रबार सुरु हुने संसद्को हिउँदे अधिवेशनमा अध्यादेशको विषयमा हंगामा हुन सक्ने भयका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समर्थक दलका शीर्ष नेतालाई बालुवाटारमा बोलाएर अध्यादेशको बचाउ गरिदिन फकाएका हुन् ।
बालुवाटारमा बसेको बैठकले आगामी संसद् बैठकमा सत्तापक्षीय सबै दलले अध्यादेशका विषयमा समान धारणा लिएर प्रस्तुत हुने निर्णय गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएको भन्दै यसमा सबै एकमत हुने निर्णय गरिएको हो । संसद्मा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
बैठकमा शीर्ष नेताहरूले यथाशीघ्र संसद्बाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएकाले अध्यादेश ल्याएको भन्दै त्यसमा विरोध नजनाइदिन आग्रह गरेका थिए । उनले सबै अध्यादेश संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक ल्याउने बताए ।
‘थप केही छलफल गर्नुपर्ने विषय भए प्रधानमन्त्री ओली, सभापति देउवालगायत शीर्ष नेतृत्वसँग छलफल गर्ने बैठकको निष्कर्ष छ,’ बर्तौलाले भने, ‘साथै अरू आवश्यक कानुन पनि छिट्टै ल्याउने, संसद्लाई पर्याप्त बिजनेस दिएर तदारुकताका साथ कानुन र विधि निर्माणमा उपयोग गर्ने बैठकको निष्कर्ष छ ।’ बैठकले सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष पनि निकालेको छ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा सबै पार्टीका प्रमुख सचेतकलगायत सहभागी थिए ।
सङ्घीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि प्रारम्भ हुँदैछ ।
दलको बैठकमै कांग्रेस सांसदहरूको विरोध
सत्तारुढ र सत्ता समर्थक दलका शीर्ष नेताले अध्यादेशको बचाउ गर्ने निर्णय गरे पनि सत्ताको प्रमुख घटक नेपाली कांग्रेसभित्र भने यसले ठुलै हलचल ल्याउने देखिएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमै सांसदहरूले अध्यादेशको विरोध गरेका हुन् । उनीहरूले अध्यादेशको विषयमा आफूहरूसँग छलफल र समन्वय नै नगरिएको र अध्यादेश ल्याउने निर्णयपछि मात्रै थाहा पाएको बताएका छन् ।
सोमबारको बैठकमा धारणा राख्नेमध्ये अधिकांश सांसदले अध्यादेशको बारेमा आफूहरूको सहमति नभएको बताए । ‘हामीसँग छलफल नै नगरी एकैचोटी आएपछि मात्रै थाहा हुन्छ,’ बैठकमा सांसदहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘योे ठिक भएन ।’ सांसदहरूले मन्त्रीहरूको मन्त्रीहरूको कार्यदक्षता र क्षमतामाथि पनि प्रश्न उठाएका छन् । सांसदहरूको विरोधपछि संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया