गाईलाई कम्पाउन्डभित्र खुला छोडिएको छ, बाँध्ने चलन छैन । गाईलाई आवश्यक पर्दा बाहिर कन्याउने तथा घाम ताप्ने ठाउँ छ । बिहान दुहुने समयमा एक पटकमा ६ देखि ८ वटा गाई पालैपालो मेसिनको नजिक पुग्छन् र मेसिनले दूध दुहेपछि फर्किन्छन् ।
विराटनगर । चीनस्थित हिलटन होटलमा व्यवस्थापकीय नेतृत्व तहमा लामो समय बिताएका गजेन्द्र शर्माका लागि आफ्नै देशमा केही नयाँ काम गर्नु थियो । उनी यस्तो कामको खोजीमा थिए, जसले देशको अर्थतन्त्रमा सहयोग गरोस् । परम्परागतभन्दा नवीनतम् सोच होस् । रोजगारीको सिर्जना गरोस् । उनको लक्ष्य यत्तिमा सीमित थिएन, अहिलको समयमा सुरु गरेको व्यवसाय झाँगिँदै गएर कुनै क्षेत्रको पायोनियर व्यवसाय बनोस् ।
त्यसो त २१औँ शताब्दीको सुरुवातदेखि नै विश्व अर्थतन्त्रबारे चासो राख्नेहरूका लागि इथियोपिया आदर्श देश हुन सक्छ । कुनै समय संसारको सबैभन्दा गरिब देश इथियोपिया अहिले ग्रामीण कृषि र दुग्धजन्य कृषिलाई एकैसाथमा लिएर अगाडि बढिरहेको छ । गजेन्द्रको यसै सोचका कारण बन्जारा एग्रोको स्थापना भएको हो । ४ वर्षअघि विराटनगर–१२ मा रहेको सो एग्रोको स्थापनाकालको बजेट १६ करोड देखि १८ करोड रुपैयाँ बीचमा थियो । गजेन्द्रले चीनबाट आर्थिक उत्थानका धेरै विषयबारे थाहा पाएका थिए ।
बन्जारा एग्रोकै हकमा भने अहिले व्यवसाय फराकिलो छ । ५ बिघा जग्गा लिइएको छ । सो जग्गामा घाँस र तरकारी लगाइएको छ । आवश्यक तापक्रम मिलान गरेर केही तरकारी रोपिएको छ । केही खुला स्थानमा रोपिएको छ । सुरुमा ८÷१० वटा गाईबाट सुरु भएको फार्ममा अहिले १८४ गाई छन् । गाईलाई भिन्न स्थानमा राखिएको छ । जन्मेपछिको ३ महिनासम्म एक स्थानमा राख्ने गरिएको छ भने ३ देखि ६ महिनाका बाच्छाबाच्छीलाई अर्को स्थानमा राखिन्छ । यसैगरी ७ देखि १० महिनाका बाच्छी एक स्थानमा तथा १० देखि १४ महिनाका बाच्छी एक स्थानमा राखिएका छन् । यसपछि अर्को स्थानमा राखिन्छ ।
गाईलाई कम्पाउन्डभित्र खुला छाडिएको छ, बाँध्ने चलन छैन । गाईलाई आवश्यक पर्दा कतै गएर कन्याउने तथा घाम ताप्न जाने स्थान छ । बिहान दुहुने समयमा एक पटकमा ६ देखि ८ वटा गाई पालैपालो मेसिनको नजिक पुग्छन् र मेसिनले दूध दुहेपछि फर्किन्छन् ।
पशुपालनका लागि चुनौती पनि नभएको होइन । पन्जाबबाट ल्याइएका उच्च नश्लका गाईका लागि नेपालमा पर्याप्त सन्तुलित दानाको उत्पादन भएको छैन । सन्तुलित दाना (फिड) पनि बाहिरबाट नै ल्याउने गरिएको छ । गाई बिरामी भए उपचार गर्न कुशल प्राविधिकको अभाव छ । राजस्थानबाट विज्ञ ल्याएर फार्ममा राखिएका छन् । एग्रोले यसैकारण फिड उत्पादनबारे पनि ध्यान दिने गरको एग्रोका अधिकारीहरू बताउँछन् । यो होलिस्टेन जातको गाईले एक दिनमा ५० लिटरसम्म दूध दिन सक्छ । बन्जारा एग्रोले अहिले दैनिक १ हजार लिटर दूध बजारमा उपलब्ध गराउँदै आएको छ । एग्रोका सञ्जय चौलागाईंका अनुसार नेपालमा दैनिक १ लाख लिटर दूधको अझै अभाव छ । केही वर्षमा यो अभाव पूरा गर्न बन्जारा एग्रो सफल हुने उनको विश्वास छ ।
एग्रोले पशुपालनका लागि देशभरि प्रशिक्षण दिने योजना पनि राखेको छ । फिड उत्पादन गर्ने र बाच्छी पनि त्यसैअनुसार उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि केही वर्ष पक्कै लाग्नेछ । कम्पोस्ट मलको उत्पादन भने अर्को वर्ष सुरु गरिने जनाइएको छ । बन्जाराको योजना यतिमै सीमित छैन । चकलेट, घ्यु, पनिर र दहीलगायत दुग्ध पदार्थमा व्यापक फट्को मार्ने योजना एग्रोको छ । यसका लागि सुरुवाती दिनमा बाच्छीको उत्पादनमा नै जोड दिइएको छ । शर्माको नेतृत्वमा रहेको उनको पारिवारिक व्यवसायले अहिले धेरै फट्को मारिसकेको छ । दाहिया प्लास्टिक उद्योग पनि उनले सञ्चालन गरेका छन् ।
एउटा गाईको मूल्य कति ?
एउटा गाईको मूल्य पन्जाबबाट काठमाडौँ ल्याउँदा २ देखि २ लाख ५० हजारको बीचमा परेको एग्रोले जनाएको छ । अहिले एग्रो आफैँले बाच्छी उत्पादन गरेको छ । यसका लागि भारतबाट बाच्छी मात्रै जन्मने सेक्सिमिन ल्याइने गरिएको छ । यसको मूल कारण बाच्छी नै जन्माउन आवश्यक भएका कारण हो । अहिले देशव्यापी रूपमा यसका लागि अध्ययन भइरहेको छ ।
अहिले पनि गाईको मूल्य २ लाखको हाराहारीमा पर्ने जनाइन्छ । व्यापक मात्रामा बाच्छी उत्पादन भएपछि तथा आफैँले दाना उत्पादन गर्न सक्ने भएपछि यसको मूल्य घट्ने एग्रोको विश्वास छ ।
प्रतिक्रिया