कताहो ठेगाना प्रणालीलाई विश्व चर्चित अर्वाड

काठमाडाैँ । नेपालको डिजिटल ठेगाना प्रणाली कताहोले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) प्राप्त गरेको छ । नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको टीमले एड्रेसग्राफ नेपाल प्रालिमार्फत तयार गरेको डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले स्मार्ट सेटलमेन्ट एण्ड अर्बानाइजेसन विधामा छनौट भई पुरस्कार प्राप्त गरेको हो ।

डब्लुएसएले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका उत्कृष्ठ प्रविधिहरुको चयन गरी हरेक बर्ष पुरस्कार दिने गर्दछ । गत राती डब्लुएसएले आधिकारिक वेभ साइटमा उक्त घोषणा गरेको हो ।

यस बर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहविच भारतको हैदरावादमा हुने डब्लुएसएले जनाएको छ । ‘कताहो’ ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ । अफलाइनमै ठेगाना कोड खोज्न सकिने ‘कताहो’ प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्ड भित्र कुनै स्थानको कोड बोलिकै माध्यमबाट शेयर गर्न सकिन्छ ।

यो प्रणाली प्रयोग गरी हालसम्म १० हजारभन्दा बढिले ठेगाना पाटी तयार गरिसकेका छन् । यो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्दछन् । विभिन्न स्थानीय निकायहरुले यस प्रणालीमार्फत ठेगाना प्लेटका साथै विपत व्यवस्थापनमा सूचना दिन सकिने इमेर्जेन्सी रेस्पाेन्स कन्साेल समेत जडान गर्दै आइरहेका छन् । डब्लुएसएका अनुसार यस कताहो ठेगाना प्रणालीले संयुक्त राष्ट्रसंघका दीगो लक्ष प्राप्त गर्ने विभिन्न विधामध्ये ६ वटा लक्षको लागि यस प्रणालीले योगदान गर्न सक्ने भनी उल्लेख गरेको छ ।

नेपालबाट यसअघि सन् २०२२ मा नागरिक एपले गभरमेन्ट एण्ड सिटिजन इगेजमेन्ट विधामा उक्त पुरस्कार प्राप्त गरेको थियो । डब्लुएसए एक विशेष पुरस्कार प्रणाली हो जसले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका प्रविधिहरुको चयन गरी त्यसको प्रवर्धनको लागि काम गर्दछ ।

विश्वस्तरमा प्रभाव पर्ने गरी तयार गरिएका स्थानीय नवप्रवर्तनको चयन गरी त्यसलाई विश्वव्यापी बनाउन यो पुरस्कार प्रदान गर्ने गरिन्छ । डब्लुएसएले हरेक वर्ष विश्वभरबाट विभिन्न विधामा उत्कृष्ठ परियोजनाहरूलाई सम्मान गर्ने गर्दछ । विजेताहरू छनोटका लागि विश्वभरका १८२ देशका डब्लुएसएका राष्ट्रिय विज्ञहरूको सिफारिसमा स्थानीय नवप्रर्वतनहरु छनौट गरिन्छ । यी नवप्रवर्तनहरूलाई अनलाइन जूरीमा पठाइन्छ, जसले पहिलो सूची तयार गर्दछ । पहिलो सूचीमा सूचीकृत भएका परियोजनालाई ग्राण्ड जूरीले अनलाइन अन्तर्वार्ता लिन्छन् र अन्तिम विजेताहरू चयन गर्दछ । यस बर्ष विश्वभरबाट ४० वटा परियोजनाले विभिन्न विधामा डब्लुएसए अर्वाड प्राप्त गरेका छन् ।

प्रतिक्रिया