चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको बताएका छन् । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए ।
अध्यक्ष दाहालले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन, मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।’
आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनले जानकारी दिए ।
पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र डा सशांक कोइराला पनि सहभागी थिए । कांग्रेसका दुवै सांसद भण्डारी र कोइरालाको बिचमा बसेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
साथै, अध्यक्ष दाहालले अहिलेको कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार धेरै समय नटिक्ने समेत बताए । उनले यस्तो बताइरहँदा कांग्रेसका दुवै सांसद मुसुमसु हाँसिरहेका थिए ।
अध्यक्ष दाहालले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन, मैले प्रस्ट भन्ने गरेको छु, यो प्राकृतिक छैन, स्वाभाविक छैन । पारदर्शी छैन, सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्, अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’
शशांक प्रचण्डको बायाँतर्फ थिए । उनीसँगै गएका कांग्रेस नेता चन्द्र भण्डारी प्रचण्डको दायाँतर्फ बसेका थिए । प्रचण्डको जवाफ सुनेर भण्डारी मुस्कुराउँदै थिए ।
पत्रकारको उक्त प्रश्नको जवाफ शशांकतर्फ लक्षित थियो । त्यसपछि पत्रकारले प्रश्न गरे– तपाईं (शशांक) बारबार २०८४ सम्म सरकार जान्छ भन्नुहुन्छ, प्रतिपक्षी दलको नेता पनि यहीँ हुनुहुन्छ, अब के भन्नुहुन्छ ? ।’
डा. शशांकले सरकार ‘स्टेबल’ नै भएको जवाफ दिए । तर, उनले ‘राजनीतिमा जुनसुकै बेला जे पनि हुन सक्ने’ भनेपछि प्रचण्ड मुस्कुराए ।
‘हाम्रो त चाहना, दुई ठूलो दल मिलेर स्टेबल सरकार दिने भनेर बनाएको हो, एक हिसाबमा स्टेबल नै छ, तलमाथि हुने सम्भावना कम छ,’ शशांकले भने, ‘तर, राजनीति हो, जे पनि हुन सक्छ, नहुने होइन ।’
प्रतिक्रिया