काठमाडौँ । सरकारले संघीय संसद्को आगामी हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषद्को बैठकअघि सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको थियो ।
संसद् छलेर हतार–हतार अध्यादेश ल्याएको सरकार प्रतिपक्षीबाट दबाब र अधिवेशन आह्वानको माग चर्को हुँदै गएपछि अधिवेशनको मिति तोक्न केही दिनदेखि कसरतमा थियो ।
माओवादीलगायत ७ दलीय विपक्षी गठबन्धनले केही दिनअघि मात्र सरकारले अधिवशन नबोलाए विशेष अधिवेशनको माग गर्ने तथा सडक आन्दोलनमा जाने चेतावनी दिएका थिए ।
अधिवेशन बोलाउनुपर्ने समयमा अध्यादेश ल्याएपछि विपक्षीहरूको निशानामा पर्दै आएको सरकार अध्यादेशको बचाउ गर्दै आइरहेको थियो । बर्खे अधिवेशनमा ४० वटा विधेयक संसद्मा दर्ता भएका थिए । तीमध्ये १७ वटा विधेयक पारित भएका र १५ वटा विचाराधीन छन् भने केही विधेयक निष्क्रिय भइसकेका छन् ।
प्रतिक्रिया