काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएपछि छुट्टै अभियान थालेका भीम रावल यतिबेला गृह प्रदेश सुदूरपश्चिममा सक्रिय छन् । रावल सुदूरपश्चिम जाँदा एमालेको ठुलो पंक्तिले स्वागत र सम्मान गरेको छ । रावलको समर्थनमा देखिएका कतिलाई एमालेले निष्कासन गरेको छ भने कैयौँ स्थानमा पार्टीको सिंगो कमिटी नै रावलको अभियानमा सामेल भएका छन् ।
सोमबार मात्रै पार्टीको साँफेबगर नगर कमिटीका सम्पूर्ण सदस्यले एमाले छाड्दै रावलको अभियानमा समाहित हुने निर्णयसहित विज्ञप्ति जारी गरेका छन् । ८३ सदस्यीय नगर कमिटीले सामूहिक पार्टी परित्यागको घोषणा गरेको हो । स्रोतका अनुसार एमाले जिल्ला कमिटीको पनि ठुलो पंक्तिले पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेको छ । छिट्टै पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गर्ने तयारी भइरहेको एक नेताले बताए । एमाले छाडेर रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानलाई सघाउने उनीहरूको भनाइ छ ।
नगर अध्यक्ष ढकेन्द्र कुँवरका अनुसार पदाधिकारी र नगर सदस्यका साथै साँफेबगरबाट करिब १ हजारभन्दा बढीको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर रावलको अभियानमा समाहित हुने तयारी गरेका छन् । ‘यहाँ कति एमालेले पार्टी छाडछन्, अहिले नै भन्न सकिन्न । बाँकी कति रहन्छन् भन्ने मात्रै हो,’ आफू रावलसँगै रहेको बताउँदै एमाले नेता गोविन्द दुवालले भने, ‘यो अभियान सुदूरमा मात्रै होइन, अब दाङ र झापामा एमालेको अवस्था के हुन्छ, छिट्टै हेर्नुहोला ।’
उनका अनुसार एमालेका धेरै केन्द्रीय नेताले अभियानमा साथ दिँदै एमाले छाड्ने तयारी गरेका छन् । ‘अब केही दिनमा हामी एमालेको अवस्था देखाउँदै छौँ । एमालेमा भीम रावलको स्थान के रहेछ भन्ने पुष्टि हुनेछ,’ उनले भने । रावलकै कारण सुदूरपश्चिममा लामो समयदेखि एमालेको राम्रो पकड रहँदै आएको छ । अब सुदूरमामा एमाले छाड्ने र कारबाही भोग्नेको लाइन लाग्ने एमालेकै एक केन्द्रीय नेता बताउँछन् । गत १० पुसमा एमालेले संगठित सदस्यबाट हटाउने निर्णय गरेपछि रावल पूर्वबाट अभियान सुरु गर्दै देश दौडाहामा निस्केका हुन् ।
प्रतिक्रिया