मर्चवार लिफ्ट सिँचाई : निर्वाचनको सुरुमै विवाद, प्रहरीको सुरक्षामा मतपेटिका

लुम्बिनी । रूपन्दीको दक्षिणी क्षेत्रस्थित मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद उत्पन्न भएको छ । निर्वाचनको पहिलो चरणको पहिलो दिनमा ४ वटा ब्लाकको मतदानपछि भएको विवादले मतगणना स्थगित भई मतपेटिका प्रहरीको सुरक्षामा राखिएको छ ।

संस्थाको ब्लक नं. १, २, २ बी र २४ बी को मतदानपछि मतगणनाको लागि सहमति जुट्न नसक्दा मतगणना हुन सकेको छैन । ब्लक नं. १ मा १०१ मत, ब्लक नं. २ मा ८७ मत, ब्लक नं. २ बी मा ६६ मत, ब्लक नं. २४ बी मा ४५ मत गरी कुल २ सय ९९ मतको मतगणना स्थगित गरिएको निर्बाचन समितिले जनाएको छ ।

ब्लक नं. २४ बी का उम्मेदवार राजेन्द्र यादवले उपभोक्ता नै नभएको व्यक्तिले निर्बाचनमा मतदान गरेको आक्रोस पोख्दै भने, ‘खेत बुवाको नाममा छ, तर छोरा र नातीहरुको नाममा पानी शुल्क भुक्तानी रसिद काटेर फर्जी मातदाता ठड्याइएको छ ।’

आफ्नो खेत बिक्री गरिसकेका व्यक्तिलाई पनि मतदाता बनाइएको यादवको आरोप छ । मतदाता नामावली सर्वपक्षीय सहमतिमै तयार पारिएको हो । सहमतिमै शान्तिपूर्क मतदान भयो र मतपेटिका पनि शील गरियो ।

तर एकपक्षले अचानक बोलाएको बाह्य भीडले गालीगलौज गर्दै मतपेटिका जलाउनेलगायतको धम्की दिन थालेपछि सुरक्षा व्यवस्था कडा पार्दै मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर विवेक साहले बताए ।

मतपेटिकाहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस करौता (दुइमोहान) को निगरानीमा राखिएको छ । निर्वाचन अधिकृत साहले भने, ‘विवाद समाधान भएपछि मात्र मतगणना हुने छ ।’ ब्लाक नं. २४ र ब्लक नं. २६ को निर्वाचन सम्पन्न भएको छ । ब्लक नं. २४मा सदिक अली मुसलमान र ब्लक नं. २६ को ब्लक समिति अध्यक्षमा बिरेन्द्र यादव निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत साहले बताए ।

निर्वाचन अधिकृत साहका अनुसार मतगणना स्थगित भएको ब्लक नं. १ मा चिनगुद चौधरी, सुभान खान र स्माइल मुसलमान, ब्लक नं. २ मा इन्ताफ मुसलमान र सूर्यनाथ यादव, ब्लक नं. २ बीमा सुग्रीम यादव र प्रमानन्द चौहान तथा ब्लाक नं. २४ बीको निर्वाचनमा राजेन्द्र यादव र आशिक अली धुनिया प्रतिस्पर्धी रहेका छन् ।

कुल १३० ब्लाक संख्या रहेको मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थामा पानी शुल्क बुझाएका १ हजार ७ सय १० जना उपभोक्ता किसान मतदाता रहेका छन् । माघ ३ गतेदेखि सुरु भएको ब्लक समितिको निर्वाचन पूर्णरूपले सम्पन्न भएपछि मूल समितिको निर्वाचन हुनेछ । मूल समितिको निर्वाचनमा ब्लक समितिमा निर्वाचित ब्लक अध्यक्षहरू मात्र मतदाता हुने विधानतः व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया