काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा नं. १५ ले ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने भएकाे छ । वडाले फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने भएकाे हाे ।
काठमाडौँ महानगरपालिकाको वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल स्थानीय व्यक्ति, समुदाय, संघसंस्था तथा साझेदारहरुसँगको सहकार्यमा महोत्सव आयोजनाका विषयमा स्थानीयसँग प्रतिक्रिया लिन तथा सहभागिता सुनिश्चित गर्न वृहत छलफल कार्यक्रम गरेका थिए । साे क्रममा वडाध्यक्ष डंगोलले वडामा भएका प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठ मन्दिर, चैत्य, गुम्बासहितका मूर्त सम्पदा तथा संस्कृति र परम्परा जस्ता विविधतायुक्त अमूर्त सम्पदाले सजिएको वडालाई सद्भावपूर्ण पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए ।
उनले भने, ‘वडाले नेतृत्व लिएर थालेको कामबाट पहिचान र समृद्धिका कोणबाट दिगो लाभ प्राप्त गर्न व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको सहभागिताको अपेक्षा गरेका छौँ ।’
वडाबाट अगाडि सारिएका कामका विषयमा जानकारी गराउँदै उनले भने, ‘एकै पटक १७ वटा घरको नक्सा स्वीकृत गरेर हाउस पुलिङ् वडाले सम्पन्न गरेको नेपालकै पहिलो परियोजना हो । साझेदारसँगै स्थानीयको सहभागितामा सम्पन्न यस्ता योजनाको सिकाइबाट वडाको समृद्धिमा हाम्रो प्रयास जारी छ ।’
छलफलमा पूर्वमन्त्री जीवनराम श्रेष्ठले, महोत्सवमा आउने व्यक्तिले देखेको, हेरेको र भेटेको वस्तुको फरकपन महसुस गराउनु पर्ने बताए । उनले भने, ‘स्टोरी मेकिङ् र स्टोरी टेलिङ् (कथा बनाउनु र भन्नु) पर्यटनका महत्वपूर्ण पक्ष हुन् । यसमा ध्यान दिनुपर्छ ।’
कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनका अनुसार महोत्सवले स्वयम्भूमा क्षेत्रमा रहेका प्राचीन तर आझेलमा परेका स्मारकहरुलाई पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्न टेवा पुग्नेछ । उनका अनुसार जीविकोपार्जन तथा क्षमता विकास लागि वडाबाट तालिम लिएका व्यक्ति तथा संघसंस्थाले उत्पादन गरेका कौसी खेतीका तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन तथा भेषभुषा प्रदर्शन गरिनेछ । महोत्सव भुइँखेल चौरमा हुनेछ । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ ।
स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्वपूर्ण स्मारक हुन् । यस्तै शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् । नेपाल संवतका प्रवर्धक शंखधर साख्वाःले वालुवा उठाउँदा सुन प्राप्त गरेर त्यही सुनबाट किसानको ऋण मोचन गरिएको लखतीर्थ यस क्षेत्रको अर्को महत्वपूर्ण स्थान हो । प्राकृतिक विज्ञान संग्रहालय आन्तरिक तथा वाह्य पर्यटक दुवैका लागि अवलोकन योग्य स्थान हो । वडामा मनाइने जात्राहरुमा गुँला मेला, वुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य हुन् ।
प्रतिक्रिया