खोखो विश्वकप : नेपालका दुवै टोली आज फाइनल खेल्दै

काठमाडौँ । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ ।

शनिबार भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो । यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन ।

महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपाली महिला टिमले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो । त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हराएको थियो ।

प्रतिक्रिया