म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत संगीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भू–बनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत संगीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।
म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गरेको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रूमाल’ गीतले बेनी बजारलाई देश तथा विदेशमा चिनाएको छ । बेनी बजारको चिनारीसँग जोडिएको छ माघे संक्रान्ति मेला । बेनीमा परम्परागत रूपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले बेनीको महिमालाई उजागर गर्छ ।
बेनीमा लाग्ने माघे संक्रान्ति मेलाले बेनी बजारको व्यापार व्यवसाय, कला संस्कृति र पर्यटन विकासमा महत्वपूर्ण योगदान दिएको बेनीका पुराना व्यवसायसमेत रहेका ८३ वर्षीय पुन्यबहादुर शाक्य बताउँछन् । उनका अनुसार, म्याग्दीका साथै पर्वत र बागलुङबाटसमेत बेनीस्थित कालीगण्डकीमा माघी नुहाउन आउने र मेला भर्ने चलन थियो । तत्कालीन समयमा हुने माघि मेला बेनी क्षेत्रमा मनोरञ्जन, व्यापार व्यवसाय र आपसी भेटघाटको माध्ययम थियो ।
‘पहिले दुई दिन माघे संक्रान्ति मेलाजात्रा हुन्थ्यो, टाढा टाढाबाट आएकाले नाचगान गर्ने, गाउँका सामान ल्याएर बिक्री गर्ने र घरमा आवश्यक पर्ने सामान किनेर लैजाने गर्थे, सञ्चारको कुनै माध्ययम नहुँदासमेत माघे संक्रान्तिमा बेनीमा मानिसको भीड थामिनसक्नु हुन्थ्यो,’ शाक्यले भने । खासगरी बेनीमा डाला नाङ्ला, ठेका, फलामका भाँडाकुँडा र घरेलु हतियार, लत्ताकपडा र खाद्यान्न सामग्री खरिद बिक्री गर्न माघे संक्रान्ति मेलालाई उपयोग गर्ने चलन रहेको थियो ।
जिल्लाभरबाट मेला भर्न आएकाहरूले मेलामा छेलो फाल्ने प्रतिस्पर्धा गर्थे भने विजेतालाई साफा गुथाएर सम्मान गर्ने प्रचलन रहेको थियो । बेनी बजारको परम्परागत संस्कृतिको रूपमा रहेको माघे संक्रान्ति मेलाले परिवर्तित समय अनुसार परिमार्जन र नयाँ–नयाँ प्रयोगसहित निरन्तरता पाइरहेको छ ।
माघे संक्रान्ति मेला–जात्रालाई २०५७ सालदेखि आधिकारिक आयोजक बनेर सञ्चालन गर्न थालिएको थियो । सुरुआतका दुई वर्ष निर्माण व्यवसायी संघले माघे संक्रान्ति मेला आयोजना गरेकोमा २०५९ सालमा म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा मेलालाई निरन्तरता दिइएको थियो । त्यसयता हरेक तीन–तीन वर्षमा एक पटक म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव तथा अन्य वर्षमा महिला उद्यम विकास समितिका आयोजनामा मेला तथा सडकखाना महोत्सव सञ्चालन हुँदै आएको छ ।
२०६० सालमा तत्कालीन धौलागिरि अञ्चलमै पहिलो पटक बेनीमा माघे संक्रान्ति मेला तथा प्रथम म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको नेतृत्वमा माघे संक्रान्ति मेलालाई महोत्सवको रूपमा आयोजना गरिएको छ ।
‘मौलिक पर्वको रूपमा माघे संक्रान्ति मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न पहिलो पटक महोत्सव लगाएका थियौँ, आज आइपुग्दा आठौँ संस्करणको महोत्सव आयोजना भइरहेको छ, जिल्लाको पर्यटन प्रवद्र्धन, सम्भावनाको उजागर, व्यापार व्यवसायको विस्तारसँगै कला संस्कृति संरक्षणमा महोत्सवको सकरात्मक प्रभाव रहेको देखिन्छ,’ श्रेष्ठले भने ।
यस वर्ष म्याग्दी उद्योग वाणिज्य संघले आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सञ्चालन गरेको थियो । उक्त मेलालाई मनोरञ्जन र व्यापार व्यवसायको माध्ययम सँगसँगै जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक विकासको सम्भावना उजागर गर्ने गरि सञ्चालन गर्न गरिएको मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘महोत्सव विगतको मेलाको निरन्तरता हो, तर हामीले नयाँपन दिने जमर्को गरियो, जिल्लामा रहेका कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन विकासलाई सघाउने गरी महोत्सवको कार्यक्रम गरेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने ।
महोत्सवमा जिल्लामा रहेका उत्पादन र लघुउद्यमीहरूले तयार गरेका वस्तु तथा सामग्रीको बिक्री–वितरण र पदर्शनीका लागि निःशुल्क स्टलको प्रबन्ध गरिएको थियो । यस महोत्सवबाट जिल्लाको सम्भावना उजागरसँगै जलविद्युत्, खानी, पर्यटन लगायतको क्षेत्रमा लगानी भित्र्याउन बहस, छलफल र उचित वातावरण बनाइएको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । म्याग्दी महोत्सवले जिल्लामा रहेका जातजातिका कला, संस्कृति संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । म्याग्दीको चिमखोलाबाट सुरू भएको थालीनाचलाई व्यापक बनाउन बेनीमा हुने मेला जात्राले सहयोग पुग्ने गरेको छ ।
मौलिक वेषभूषा, संस्कृतिको संरक्षणमा जागरण ल्याउन बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजना हुने मेला महोत्सवले महत्वपूर्ण योगदान दिने गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनले बताए ।
‘बेनीमा माघे संक्रान्तिको अवसरमा हुने मेलाजात्रा र महोत्सव मनोरञ्जन सँगसँगै संस्कृति संरक्षणको समेत माध्ययम बन्दै आएको छ, महोत्सवमा सबै समुदायको मौलिक कला संस्कृतिलाई प्राथमिकता दिने गरिएको छ, यसले संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न समेत सघाएको छ,’ अध्यक्ष पुनले भने । यस पटकको महोत्सवमा कलाकारहरूको सांगेतिक प्रस्तुतिसँगै खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने, खुला पुख्र्यौली नाच, लोकनृत्य, भजन र रत्यौलीलगायत मौलिककला र संस्कृतिसँग सम्बन्धित प्रतियोगितालाई समावेश गरिएको थियो ।
प्रतिक्रिया