कसरी मासिँदै छ पर्यटकीय नगरी पोखरा ?

विन्दुकान्त घिमिरे

१० महिनाअघि अर्थात् गत चैत ४ गते तामझामका साथ गण्डकी प्रदेशको सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन्डा फहराउँदै पर्यटकीय राजधानी घोषणा गर्दा पोखरेलीहरू निकै खुसी थिए । किनकि पर्यटकीय राजधानी घोषणका लागि लामो समयदेखि स्थानीय स्तरमा लबिइङ सुरु भएको थियो । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारद्वारा पोखरा सहरलाई पर्यटकीय राजधानी घोषणा गर्न निकै ठुलो पहल गरेका थिए । तर, अहिलेसम्मको प्रगति हेर्दा पर्यटकीय राजधानी घोषणाबाहेक अन्य पहल भएको देखिएको छैन । न अल्पकालीन योजना बनेका छन्, न दीर्घकालीन गुरुयोजना बनाइएको छ ।

गण्डकी प्रदेशको प्रशासनिक तथा राजनीतिक राजधानी पोखरा अब देशकै पर्यटकीय राजधानी बनेको हो या सम्बन्धित पालिका र प्रदेशको मात्रै पर्यटकीय राजधानी बनेको हो ? भन्ने प्रश्न निरुत्तरित छ । किनकि संघीय सरकारको मन्त्रिपरिषद्ले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको समाचार आएको छैन । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले लामो समयदेखि संघीय सरकारलाई दबाब दिँदै आएका थिए । तर, संघीय सरकारले आलटाल गरेपछि स्थानीय सरकार र प्रदेश सरकार आफैँले यो निर्णय गरेका हुन् ।

घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड स्वयं सहभागी रहेका कारण पोखरेलीहरू उत्साहित थिए । प्रचण्डको गृहनगर समेत हो पोखरा । आगामी आमनिर्वाचनमा पोखराबाटै उम्मेदवार बन्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्, त्यसैले अब छिटै संघीय सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कुरामा स्थानीय जनता आशावादी छन् । जबसम्म संघीय सरकारले निर्णय गर्दैन, तबसम्म स्थानीय तथा प्रदेश सरकारद्वारा मात्रै गरिएको यो निर्णयले सार्थकता पाउँदैन भन्ने कुरा पोखरेलीलाई थाहा छ ।

नाम मात्रैको पर्यटकीय राजधानी

अनौपचारिक तथा बोलीचालीमा पोखरालाई पर्यटकीय राजधानी भनिँदै आएको धेरै पहिलेदेखि नै हो । पोखराको पर्यटनले गण्डकी प्रदेशलाई मात्रै होइन, सिंगो मुलुकलाई लाभ पुर्याइरहेको कुरा विभिन्न तथ्यांकद्वारा पनि स्पष्ट हुन्छ । नेपाल घुम्न आएकामध्ये करिब ४० प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गर्छन् । यसैगरी आन्तरिक पर्यटनको हिसाब गर्ने हो भने त करिब ६० प्रतिशत हिस्सा पोखराले नै ओगट्छ । पोखरालाई केन्द्रित बनाएर विकास गर्न सकिने पर्यटकीय गन्तव्यहरूको संख्या उल्लेख्य छ । मनाङ, मुस्ताङ, उत्तरी गोरखा त पोखराबाट नजिक पर्ने नेपालका मुख्य पर्यटकीय गन्तव्य हुँदै हुन् । त्यसबाहेक पोखराबाट १ देखि ३ घन्टासम्मको ड्राइभिङमा पुगिने पर्यटकीय गन्तव्यहरू उल्लेख्य छन् । पोखरालाई मुकाम बनाएर आसपासका क्षेत्रहरू घुम्न जाने बाह्य तथा आन्तरिक पर्यटकको संख्या निकै ठुलो छ ।

औपचारिक रूपमै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि चहलपहल अझ बढ्ने, बजेट विनियोजन गर्दा प्राथमिकतामा राखिने, निजी लगानी बढ्ने कुरामा पोखरेलीहरू आशावादी हुनु स्वाभाविकै हो । राजधानी भनेको राष्ट्रिय स्तरका सरकारी कार्यालय रहने स्थान हो । पर्यटनसँग सम्बन्धित राष्ट्रिय स्तरका सरकारी कार्यालयहरू पोखरामा स्थान्तरणका लागि पहल नगर्ने हो भने पर्यटकीय राजधानी घोषणा गर्नुको औचित्य हुँदैन । जबसम्म राष्ट्रिय स्तरका सरकारी कार्यालयहरू स्थापना हुँदैनन्, तबसम्म पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका केन्द्रीय कार्यालयहरू पनि स्थापना हुँदैनन् । जबसम्म पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सुचारु हुँदैनन्, तबसम्म पोखरामा पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका केन्द्रीय कार्यालयहरू स्थापना हुने सम्भावना रहन्न ।

पोखरा पर्यटकीय सहर बन्नुको मुख्य कारण सफा तालतलैयाहरू, प्रष्टसँग देखिने हिमाल, संस्कृतिक सम्पदा बोकेका आसपासका गाउँहरू हुन् । तर, पछिल्लो समयमा तालतलैयाको सफाइमा ध्यान दिइएको छैन । अव्यवस्थित सहरीकरणका कारण धुलो, धुँवा तथा तुवाँलो बढ्दै जाँदा हिमालहरू प्रष्ट देखिन छाडेका छन् । माछापुच्छ«े हिमाल पहिलेको जस्तो सेताम्मे देखिन छाडेको छ । तीव्र बसाइँसराइका कारण आसपासका गाउँहरू रित्तिने क्रम बढ्दो छ । साविकका कतिपय पदमार्गमा गाडी गुड्ने सडक बनिसकेका छन् । पर्यटकीय सम्पदा संरक्षण र संवद्र्धनतिर ध्यान नदिने हो भने पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुको औचित्य रहन्न ।

पोखरामा सर्वप्रथम अव्यवस्थित सहरीकरण रोक्नु पर्छ । अव्यवस्थित सहरीकरण रोक्नका लागि गण्डकी प्रदेशको प्रशासनिक तथा राजनीतिक राजधानी पोखाराबाट अन्यत्र सार्नुपर्छ । पर्यटन सँग सम्बन्धित बाहेक प्रदेश तथा संघीय स्तरका अन्य कार्यालयहरू पोखरा उपत्याकाबाट बाहिर सार्नु पर्छ । यसैगरी पोखरा आसपासका जिल्लाबाट भइरहेको तिब्र बसाँइ सराईँ रोक्दै अमूर्त सम्पदा बोकेका स्थानीय गाउँहरूको संरक्षण र संवर्धन गनुपर्छ । यति गर्न सकियो भने पोखरा नेपालकै मुख्य पर्यटकीय स्थल बन्ने बाटो खुल्छ । किनकि गण्डकी प्रदेश थातथलो भएका नेपालीहरूको जनसंख्या अन्य प्रदेश तथा विदेशमा निकै ठुलो छ । उनीहरू कम्तिमा पनि वर्षको एक पटक पोखरा घुम्न गए भने मात्रै पनि पोखराको पर्यटन व्यवसायले फट्को मार्छ ।

पहिलो त्रुटि

नेपालको संविधान (२०७२) द्वारा देशलाई सात वटा प्रदेशमा विभाजन गरियो । तत्कालीन गण्डकी र धवलागिरि अन्चलको क्षेत्रलाई समेटेर संविधानमै प्रदेश –४ नामाकरण गरियो । नामाकरणका सन्दर्भमा विवाद भएका कारण अस्थायी रूपमा नाम तय गरियो । स्थायी रूपमा नामाकरण गर्ने अधिकार प्रदेशसभालाई दिइयो । पहिलो आम निर्वाचन पछि प्रदेशसभाले ढिलो नगरी गण्डकी प्रदेश नाम राख्यो नामाकरणका विषयमा खासै ठुलो विवाद भएन । यसैगरी तत्कालीन चुनावी सरकारले अस्थायी राजधानीका रूपमा पोखरालाई तोकेको थियो । प्रदेश सभाले स्थायी राजधानीका रूपमा पोखरालाई नै अनुमोदन गर्यो । संघीयतामा गइसके पछि पर्यटकीय नगरी पोखरालाई पहिलो अन्याय यहीँनिर भएको हो ।

प्रदेशको राजनीतिक तथा प्रशासनिक केन्द्रि बनाई सकेपछि पोखराको पर्यटकीय महत्व घट्दै जान्छ भन्ने हेक्का गण्डकी प्रदेशसभाले राख्न सकेन । कतिसम्म भने विकल्पका लागि अध्ययन समेत गरिएन । गण्डकी प्रदेशको स्थायी राजधानी बनाउन संभावित ठाउँहरूको बारेमा अध्ययन समेत नगर्नु गण्डकी प्रदेशको पहिलो संसद र पहिलो सरकारको मुख्य त्रुटि थियो । मुलुकको दोस्रो ठुलो सहर पोखरामा प्रदेशको राजधानीका लागि सबै पूर्वाधार थिए । त्यसैले नयाँ पूर्वाधार निर्माण गरी उपयुक्त स्थानमा प्रदेश राजधानी राख्नु भन्दा पोखरामा भइरहेको साविकको पूर्वाधारलाई प्रयोग गर्ने सहज बाटो रोजियो ।

गण्डकी प्रदेशका सबै जनतालाई पायक पर्ने पनि पोखरा नै हो । यसमा कुनै विवाद छैन । सबै जनतालाई पायक पर्ने हिसाबले त पोखरा केन्द्रीय राजधानीसमेत रहनुपर्ने ठाउँ हो, प्रदेश राजधानीको त कुरै छाडौँ । मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न हुनासाथ कर्णाली क्षेत्रका लागि समेत पोखरा सन्धिसर्पन जस्तो हुन्छ ।

पोखरालाई अहिलेकै पोखरा नै रहन दिने कि ? काठमाडौं या वीरगञ्ज जस्तो बनाउने ? यो नै मुलुकका लागि मुख्य प्रश्न हो । पोखरा मुलुकको मुख्य पर्यटकीय हब हुनुको मुख्य कारण सफा तालतलैया तथा नदी नाला, प्रदूषण मुक्त स्वच्छ वातावरण तथा मनोरम प्राकृतिक दृश्यहरू हुन् । पोखराको हावापानी न त गर्मी न त जाडो छ । हिउँदमा पनि काठमाडौं जस्तो जाडो हुँदैन, गृष्म ऋतुमा पनि काठमाडौं जस्तो गर्मी हुँदैन । अबको ५ वर्षभित्र मध्यपहाडी लोकामार्ग, कालीगण्डकी कोरिडोर सडक, गैंडाकोट–पोखरा सडक, निर्माण सम्पन्न भइसक्छ । यी पूर्वधार सम्पन्न हुनासाथ पोखरा बसोवासका लागि हरेक हिसाबले मुलुककै सर्वोत्तम स्थान हुनेछ । त्यसमाथि प्रदेशको राजधानीसमेत बनेका कारण पोखरा को जनघनत्व काठमाडौं तथा वीरगञ्ज जस्तै हुने क्रम सुरु भएको छ ।

पोखरा क्रमशः कंक्रिट र फोहोरी सहरमा परिणत हुन थालेको छ । पोखराका नदीहरूको हालत र काठमाडौंका नदीहरू जस्तै हुनेक्रम सुरु भइसकेको छ । पोखराका तालतलैयाको हालत वीरगन्जका पोखरीहरू जस्तै हुन लागेका छन् । वायु प्रदूषणका कारण पोखराबाट पहिलेको जस्तो स्पष्ट रूपमा हिमाल देखिने छाडेको छ । प्याराग्लाइडिङ व्यवसाय एकादेशको कथा हुने हो की भन्ने चिन्तामा पर्यटन व्यवसायीहरू देखिन थालेका छन् । । पर्यटकीय सुन्दरता समाप्त भयो भने पोखरा र वीरगन्जमा के फरक ?

कहाँ गर्ने नयाँ पोखरा निर्माण ?

पोखरालाई कंक्रिट र फोहोरी सहरमा परिणत हुने खतराबाट जोगाउने हो भने प्रदेशको राजधानीका लागि पोखराको विकल्प खोज्न कति पनि ढिलाइ गर्नुहुन्न । तर, यो विकल्प पोखराबाट टाढाको दूरीमा भने हुनु हुन्न । पोखराबाट कार्यलय भ्याउने गरी १ देखि डेढ घन्टाको ड्राइभिङ दुरीमा प्रदेश राजधानी स्थापना गर्नुपर्छ । जसरी दिल्लीको ऐतिहासिकता कायमै गर्न नजिकै नयाँदिल्ली बनाइयो त्यसरी नै पोखराको पर्यटकीय सौन्दर्यता कायम राख्न नजिकै नयाँ पोखरा निर्माण गर्नुपर्छ । साथै पोखराको आसपासमा कम्तिमा ८–१० वटा स्याटलाइट सहरहरूको निर्माण गर्नुपर्छ । ता कि पोखरा बसोबास होइन घुम्ने र मनोरञ्जन गर्ने सहर मात्रै बनोस् । पोखराको स्याटलाइट सहरका रूपमा दमौली, दुलेगौंडा, भीमाद, भोर्लेटार, दुईपिप्ले, सुन्दरबजार, स्याङजा पुतलीखेत, कुश्मा, बाग्लुङ, फलेवास विकसित हुँदै गइरहेका छन् ।

यी ९ वटै सहरमा पूर्वाधारको व्यापक विकास गरिनु पर्छ । ता कि पोखरामा घर घडेरी किन्न चाहनेहरू यी स्याटलाइट सहरमै रोकिउन् । यी स्याटलाइट सहरमध्येकै कुनै एउटा सहरलाई गण्डकी प्रदेशको राजधानी सहरका रूपमा विकास गर्दा पोखरालाई नोक्सान होइन नाफा नै हुन्छ । यी सहरहरू कुनै पनि पोखराबाट १ घन्टाको ड्राइभिङ दुरीभन्दा टाढा छैनन् । अझ सुरुङ मार्ग निर्माण गर्ने हो भने आधा घन्टा दुरीका हुन् । पोखराबाट यी ९ वटै स्याटलाइट सहरमा तत्काल सुरुङ मार्ग निर्माण गर्न नसकिएला तर जुन सहरलाई राजधानी बनाउने हो, पहिलो चरणमा त्यो सहरसम्म पोखरा उपत्यकाबाट सुरुङ मार्ग निर्माणका लागि बजेटले धान्छ । खैरेनीटार, दमौली वा भीमादका लागि सुरुङ मार्ग निर्माणको आवश्यकता छैन । तर, खैरेनीटार वा दुलेगौंडा अहिले नै पोखरा बनिसकेका छन् । खैरेनीटार राम्रो विकल्प हो तर सर्वोत्तम विकल्प भने होइन । स्याङ्जाको पुललीखेत उपत्याका अली सानो छ । प्रदेश राजधानी भएपछि हुने सहरीकरणलाई थेग्न सक्दैन ।

बाग्लुङ, कुश्मा, फलेवास र ग्यादी सहरहरू रहेको कालीगण्डकी उपत्याका ज्यादै फराकिलो छ । पर्याप्त ठाउँ छ । विमानस्थल पनि छ । कालीगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्गको जक्सन पनि हो यो । तर, तत्काल सुरुङमार्ग नबनाउने हो भने पोखराबाट अली धेरै दुरी छ । हाल करिब ७० किलोमिटर दुरी छ । सुरुङ मार्गको निर्माणद्वारा त्यो दुरीलाई ३० किलोमिटरमा सजिलै झार्न सकिन्छ । तर पन्चासेको डाँडो पुरै छेड्दा १५ किलोमिटर त सुरुङ मार्ग नै बनाउनु पर्ने हुन्छ । तत्कालका लागि व्यावहारिक छैन तर गण्डकी प्रदेशको समुन्नत भविष्यका लागि यो सुरुङ मार्ग निर्माण गर्नैपर्ने हुन्छ ।

गण्डकी प्रदेशको राजधानीका लागि सबैभन्दा सजिलो र सस्तो विकल्प भनेको मादी उपत्यका नै हो । पोखरा उपत्यकाबाट मादी उपत्यका (पोल्याङटार) सम्मको सडक दुरी अहिले करिब २० किलोमिटर मात्रै छ । सुरुङ मार्ग निर्माण गर्ने हो भने यो दुरी ५ किलोमिटरमा झर्छ । मादी उपत्यकाअन्तर्गत कास्कीको रूपा गाउँपालिकाको दुईतिहाई भाग, मादी गाउँपालिका, तनहुँको व्यासनगरपालिका (दमौली), लमजुङको मध्यनेपाल नगरपालिका पर्दछन् । यो उपत्यकाको उत्तर दक्षिण लम्बाई करिब ४० किलोमिटिर छ भने पूर्व–पश्चिम चौडाई औसत १२ किलोमिटर छ । अर्थात ४ सय ८० वर्ग किलोमिटर छ । यो क्षेत्रफल र पोखरा महानगरपालिकाको क्षेत्रफल बराबर जस्तै हो ।

पृथ्वी राजमार्गमा पर्ने दमौलीदेखि मध्यपहाडी लोकमार्गमा पर्ने भोर्लेटारसम्म करिब ३० किलोमिटर पक्की सडक छ । भोर्लेटार–पोखरा, रम्घाटार–पोखरा सडकहरू पक्की हुने भइसकेका छन् । उपत्यकाको बीचमा बग्ने मादी नदीमा ५ वटा पक्की पुल र ४ वटा झलुंगे पुल छन् । हिमाली दृश्यावलोकन पोखराकै हाराहारीमा गर्न सकिन्छ । काठमाडौंको पशुपतिनाथ भने जस्तै पोखराको पशुपतिनाथ भनेर मादी उपत्यकाको इशानेश्वर महादेवको मन्दिरलाई लिने गरिन्छ । नदीनालाहरू पोखरा उपत्यकामा भन्दा धेरै छन् ।

पोखरा उपत्यकाको भन्दा कम उर्वर जमिन छ । वरिपरी प्रसस्त वनजंगल छ । पोखरा उपत्यकाको पूर्वी छेउबाट मादी उपत्यकाको पश्चिम छेउ जोड्ने ५ किलोमिटर सुरुङ मार्ग निर्माण गर्नासाथ नयाँ पोखरा बनाउन सकिने अवस्थातर्फ मुलुकका नीति निर्माताहरूको ध्यान जानुपर्छ । मुलुकको राजधानीका रूपमा ०७ साल लगत्तै काठमाडौं उपत्यकाको विकल्प नखोजिएका कारण अहिले पछुताउनु परिरहेको छ । गण्डकी प्रदेशको राजधानीका सन्दर्भमा पनि पोखराको विकल्प अहिले नै खोजिएन भने भोलि पछुताउनु पर्नेछ ।

विमानस्थलको लफडा

पोखरामा विगत दुई वर्षदेखि सुविधा सम्पन्न नयाँ विमानस्थल निर्माण सम्पन्न भई संचालनमा समेत आइसकेको छ । नयाँ विमानस्थल संचालनमा आए सँगै पोखराबाट तराईका विभिन्न सहरहरूमा सिधा हवाई सेवा संचालन हुन थालेको छ । तर नयाँ विमान स्थलबाट अहिले सम्म अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन । संचालनमा आएको लामो समयसम्म पनि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नु नै पोखराका लागि सबै भन्दा ठुलो विडम्वना हो ।

अन्तर्राष्ट्रिय उडान हुन नसकेका कारण हचुवाका भरमा ठुलो लगानी गरिएको भन्दै व्यापक टिकाटिप्पणी भइरहेको छ । झट्ट सुन्दा पोखराको नयाँ विमानस्थलका सन्दर्भमा भएका नकरात्मक टिप्पणी अस्वभाविक छैनन् । किनकि यो विमानस्थलको निर्माण लागत करिव २९ अर्ब रूपैंया हो । जसमध्ये २२ अर्ब रूपैंया चिनिया ऋण हो । यो ऋणको ब्याज निकै चर्को छ । चर्को ब्याजमा ऋण लिएर निर्माण गरिएको विमानस्थल संचालनमा आउने अवस्था नरहेको समाचार प्रवाह भए पछि जनतामा आक्रोस उत्पन्न हुनु स्वभाविकै हो ।

तर आन्तरिक उडानका लागि पनि पोखरामा यत्तिको सुविधासम्पन्न विमानस्थल आवश्यक छ भन्ने कुरालाई धेरैले नजर अन्दाज गरेको देखिएको छ । पोखरामा नयाँ विमानस्थल निर्माण अपरिहार्य आवश्यकता थियो । मुख्य सहरको वीचमा रहेको साविकको विमानस्थल ५० सिटसम्मका विमान उडान तथा अवतरण क्षमताको हो । यति सानो विमानस्थलले पोखराको हवाई उडान चाप धान्न छाडेको थियो । साविकको विमानस्थल बिस्तार असंभव थियो ।

पोखरा जस्तो पर्यटकीय सहरमा नयाँ विमानस्थल निर्माण गर्दा कम्तीमा २५ सय मिटर लामो धावन मार्ग जरुरी थियो । आन्तरिक उडानका लागि पनि यत्तिको धावन मार्ग जरुरी थियो । त्यसमा थोरै पूर्वाधार थप्दा अन्तर्राष्ट्रिय उडान समेत गर्न मिल्छ भने किन नथप्ने ? विश्लेषण गर्दै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम तथा स्वरूप दिइएको हो । पोखरा बिमानस्थलको क्षमता भनेकै १ सय ५० जनासम्म यात्रु बोक्ने विमान उडान तथा अवतरण गर्ने हो । नाम अन्तर्राष्ट्रिय दिइए पनि छोटो दुरीमा चल्ने न्यारोबडी विमानका लागि बनाईको हो । पोखराको भौगोलिक अवस्थितिका कारण पनि यहाँ भन्दा ठुला जहाज उडान तथा अवतरण गर्ने संभावना छैन ।

नयाँ विमानस्थल संचालनमा आए सँगै पोखराबाट देशका विभिन्न सहरहरूमा सिधै उडान सुरु भइसकेको छ । काठमाडौं– पोखरा तथा पोखरा भैरहवाको हकमा त १ सय ५० सिट सम्मका विमानहरू मज्जाले संचालन गर्न सकिन्छ । अहिलेसम्मको तथ्यांक हेर्दा पोखरा घुम्न आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीयहरू हुन् । पोखराबाट भारतका बारणासी, गोरखपुर, लखनउ, दिल्ली, बागडोगरा लगायतका विमानस्थलहरू छोटो दुरीमा छन् । पोखराबाट भारतका यी विमानस्थलमा उडान गर्न विभिन्न एयरलाइन्सहरू इच्छुक नभएका होइनन्, तर भारतले अनुमति दिइरहेको छैन ।

चीनले निर्माण गरेको निहुँमा भारतले अवरोध सिर्जना गरेको हो । भारतले अबरोध मात्रै गरेको छैन भारतीय मिडियाहरूले पोखरा विमानस्थलको विषयमा सुन्नै नसकिने दुष्प्रचार गरिरहेका छन् । भारतीय मिडियाको दुष्प्रचारमा लोली मिलिउँदै स्यालहुइँया मच्चाउने नेपालीको संख्या पनि कम छैन । अनेक थरी भ्रम सिर्जना गरिएको छ ।

प्रतिक्रिया