काठमाडौं । पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिएका छन् । सानैदेखि कलाकारिताको सपना बुन्दै अध्ययनमा सक्रिय घिमिरे पछिल्लो समय आफ्नै शब्द, संगीत र आवाजमा ‘मनकी माया’ नाम गरेको गीत ल्याएर गायनमा जोडिएका हुन् ।
नवगायक बिक्रमको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा संगीत संयोजन सबिर कार्कीले गरेका छन् । त्यसैगरी गायक बिक्रम आफैँ भिडियोमा फिचर्ड भएका छन् ।
पाल्पाको रामपुर नगरपालिका– ९ मा जन्मिएका घिमिरेले आफू सानैदेखि गायनको धोको पूरा गर्ने उदेश्यले पछिल्लो समय शिक्षण पेशासँगै यस पहिलो गीत ‘मनकी माया’मार्फत कलाकारितामा जोडिएको बताए ।
आफ्नै गाउँमा रहेको श्री भानुभक्त माविमा लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन् । पहिल्यैबाट गीत गुनगुनाउँदै आए पनि शिक्षणसँगै विविध कारणले गायनमा जोडिन ढिला भएको बिक्रमले सुनाए । यस वर्षको विद्यालयको हिउँदे बिदामा समय निकालेर संघीय राजधानी काठमाडौं आएपछि यो पहिलो गीत बजारमा ल्याएको उनले बताए ।
‘सोच्ने बित्तिकै कुनै पनि योजना सफल नहुँदो रहेछ’, बिक्रमले भने, ‘एक त शिक्षण पेशा अर्को विषय म नयाँ मान्छे, यही विभिन्न कारणले ढिला भएको थियो तर यस पटक भने आँट गरेर नै गायनमा आउन भ्याएँ ।’
विद्यालयमा अन्य सहकर्मी शिक्षकहरू र विद्यार्थीहरुबाट पनि आफ्नो गीत सुनेर आगामी दिनमा शिक्षणलाई पनि प्रथामिकता दिएर गायनमा लाग्न साथ र हौसला मिलेको उनले बताए । आफ्नो नयाँ युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरे पनि बिस्तारै भ्युज बढ्दै गएको घिमिरेको भनाई छ ।
यस्तो बिक्रम घिमिरेको पहिलो गीतको भिडियो
प्रतिक्रिया