मुगु । मुगुको पूर्वी करानभेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका– २ मुगु गाउँका स्थानीयहरुले पालेका चौँरी तथा याकहरू अज्ञात रोगले मरेका छन् । मुगु गाउँका स्थानीय छोर्तेन लामाले दिएको जानकारी अनुसार सोमबारसम्म ५०–६० वटा चौरी तथा याकहरू उक्त रोगबाट ग्रसित भइ मरेका हुन् ।
सुरुमा चौँरीहरुले मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङको दिसा गर्ने, दिसामा हल्का रगत देखिने लक्षण देखिएको २४ घण्टाभित्रमा मृत्यु हुने गरेको स्थानीय लामाले बताए ।
अज्ञात रोगले चौँरीहरु प्रभावित भइरहेको भन्ने खबर पाएपछि गाउँपालिकाले औषधि र पशु स्वास्थ्यकर्मीसहित मुगु गाउँमा पठाए पनि पालिकाको उपचार गर्न जनशक्ति र औषधिको क्षमताले नसक्ने र चौँरीहरुको स्वाव संकलन गरी ल्याबमा परीक्षणका लागि पठाउनुपर्ने भएकाले त्यस्तो इकोमेन्ट र जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटेनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले बताए ।
पालिकाको पत्र पाउनासाथ घटनास्थलतर्फ हिँडेको भेटेनरी तथा पशु अस्पतालको चिकित्सकसहितको टोली सिरानी चौरमा पुगिसकेको र माध्यामिक विद्यालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घटनास्थलतर्फ गएको छ । तीन तिरबाट गरी अहिले मुगु गाउँतर्फ ७ सदस्यिय चिकित्सक तथा प्राविधिक टोली औषधिसहित गइसकेको प्रमुख प्रशासकिय अधिकृत रावलले जानकारी दिए ।
उनका अनुसार मुगु गाउँमा चिसोका कारण स्थानीयहरु बेशितिर अस्थायी बसाइ सरेकाले गाउँमा कोही नहुँदा चौरी रहेका लेकहरुमा स्वास्थ्यकर्मीको टोली पुग्न कठिनाई भइरहेको छ । त्यसैमा झन मंगलबारबाट हिमपात हुन थालेपछि झनै समस्या भएको स्थानीयले बताएका छन् ।
चौरीहरु हिमालतिर रहेका र गाउँ नझरेकाले हिउँ पाटनहरुमा कति चौरी तथा याकहरु मरे यकिन डाटा प्राप्त गर्न गाह्रो भएको र शनिवारसम्म ६० भन्दा बढी मरेको खबरको आधारमा अनुमान गर्ने हो भने आजसम्म १०० बढी चौरी तथा याकहरु उक्त अज्ञात रोगबाट मरिसकेको हुन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुवासचन्द्र रावलले बताए ।
उच्च हिमाली क्षेत्र, भौगोलिक कठिनाई, दुर्गमता र उर्वर जमिन कम भई आयामित खानामा बाच्नुपर्ने भएकाले मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयहरुले दूध खान, छुर्पी बनाउन र भारी बोक्न चौरी तथा याकहरु पाल्ने गर्दछन् ।
मुगु
प्रतिक्रिया