मुगुम कार्मारोङ गाउँपालिका क्षेत्रलाई आरक्ष बनाउन अध्ययन कार्यदल गठन

मुगु । मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाको क्षेत्रलाई निकुञ्ज वा शिकार आरक्ष स्थापनाको लागि अध्ययन कार्यदल गठन गरिएको छ । कार्मारोङ क्षेत्रको करिब ८ सय ३९ बर्गकिलोमिटर क्षेत्रमा फैलिएको भू-भागलाई निकुञ्ज अर्थात शिकार आरक्ष स्थापना गर्नको लागि सोमबार वन तथा वातावरण मन्त्रालयका मन्त्री ऐनबहादुर शाही ठकुरीको निर्णय बमोजिम अध्ययन कार्यदल गठन गरिएको हो ।

उक्त कार्यदलमा शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत संयोजक, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत सदस्य, मुगु डिभिजन वन अधिकृत सदस्य र राष्ट्रिय वन्यजन्तु संरक्षण बिभागका संरक्षण अधिकृत सदस्य सचिव रहेका छन् । जिल्ला समन्वय समिति, मुगुम कार्मारोङ गाउँपालिकाबाट पनि निकुञ्ज स्थापनाको लागि माग गरिएअनुसार वन तथा वाताबरण मन्त्रालयले त्यसको कार्यन्वयनको लागि तत्कालै अध्ययन कार्यदल गठन गरेको छ ।

डोल्पाको शे—फोक्सुण्डो राष्टिय निकुञ्जको पूर्बी क्षेत्र मुगुम कार्मारोङ गाउँपालिकाको ८ सय ३९ बर्गकिलोमिटर क्षेत्रफल समेटर छुट्टै निकुञ्ज वा शिकार आरक्ष स्थापना गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले पनि सैद्धान्तिक सहमति जनाएको मुगुमकार्मारोङ गाउँपालिकाको डोल्फू, चितै, वाङरी, कार्ति, किम्री र खारीगाउँ डोल्पा शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने र त्यहाँका उपभोक्ता समितिलाई निकुञ्जबाट प्रदान गरि सेवा सुविधा सेवाप्रवाहको लागि एक हप्ताको कष्टपूर्ण पैदल दुरी हिडेर शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पुग्नु पर्ने बाध्यता रहि आएको छ ।

उपभोक्ता समितिलाई आउजाउको दुःख कष्टले गर्दा शे—फोक्सुण्डो निकुञ्जमा उपभोक्ता समितिको उपस्थित न्यून रहने सेवा सुविधाबाट बञ्चित हुनु पर्ने अवस्थाले गर्दा उक्त निकुञ्ज क्षेत्र भित्र पर्ने मुगु भू भागलाई छुटयाएर अलग निकुञ्ज वा शिकार आरक्ष बनाउन कार्यदल गठन भएको छ ।

शे—फोक्सुण्डो निकुञ्ज क्षेत्र भित्र पर्ने कार्मारोङका उपभोक्ता समितिलाई सेवा सुबिधा लिन डोल्पा शे—फोक्सुण्डो निकुञ्ज पुग्नु पर्ने भौतिक कठिनाई र कार्मारोङ वन क्षेत्रमा अथाहक वन्यजन्तु तथा जडिबुटीको संरक्षण र चोरी शिकारी नियन्त्रणको लागि अलग निकुञ्ज वा शिकार आरक्ष स्थापना गर्न उपयुक्त देखिएको वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बताए ।

सिकार आरक्ष तथा निकुञ्ज स्थापना गर्दा पर्यटन प्रर्बद्धनमा समेट टेवा पुग्ने र स्थानीयको रोजगारी आयस्तर बृद्धि हुने अपेक्षा गरिएको मन्त्रीको भनाई छ । हाल मुगु जिल्लामा एक मात्र रारा राष्ट्रिय निकुञ्ज रहेको छ । उक्त राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो ।

प्रतिक्रिया