नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेको ६ महिनापछि पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ । लामो समयको रस्साकस्सीपछि नेताले जिम्मेवारी पाएका हुन् । तैपनि कार्यविभाजनको निर्णयले नेतामा उत्साहभन्दा निरासा बढी पैदा गराएको छ । गएको मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले नेताहरूको कार्य विभाजन टुंग्याएको हो । पार्टीको सो निर्णयपछि कैयौँ केन्द्रीय नेताहरूले उक्त निर्णय नमान्ने भन्दै सामाजिक सञ्जालमा पार्टी छोड्ने सम्मको धम्की दिएका छन् । नेतृत्वमा देखिएको महत्वकांक्षाले पनि सो पार्टीलाई कार्यविभाजन निकै पेचिलो बनेको थियो । २ दिनका लागि बोलाइएको बैठक लम्बिनुमा स्थायी कमिटीका सबै नेताहरूले बैठकमा आफ्नो धारणा राखेकाले भएको सो पार्टीले बताएको छ । यसै सेरोफेरोमा रहेर पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको सम्पादित अंशः
पार्टी नेताहरूको पछिल्लो कार्य विभाजनले उत्साहभन्दा बढी निरासा बढेको देखियो । सामाजिक सञ्जालमा धेरै आक्रोश पोखिएको छ । यसको व्यवस्थापन कसरी होला ?
–पहिलो कुरा महाधिवेशनको लगत्तै केन्द्रीय कमिटी बैठकबाट अहिले जो जो जुन जिम्मेवारीमा हुनुहुन्छ उहाँहरूले त्यही जिम्मेवारी सम्पादन गर्ने भनिएको थियो र त्यसै अनुसार काम पनि भयो । त्यसैले कसैको जिम्मेवारी नै थिएन भन्न मिल्दैन । महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउनुभएको नयाँ साथीहरूलाई भने थप जिम्मेवारी दिइएको थिएन । पुराना सदस्यहरूको हकमा भने नयाँ कार्य विभाजन नहुँदासम्म पुरानै जिम्मेवारीमा रहेर काम गर्ने भन्ने थियो । त्यसले गर्दा ठूलो समस्या भने थिएन । तैपनि महाधिवेशनपछि सबै नेताहरूसँग सल्लाह छलफल गरेर कार्यविभाजन टुंग्याउने भनेर समय लागेको हो । अर्को कुरा धेरै संख्यामा केन्द्रीय कमिटीमा आयो । धेरै भएपछि सबैलाई चित्त बुझ्ने कुरो पनि भएन । सबैलाई चित्त बुझाउन सकिएको छैन होला । धेरैले अपेक्षा गरेको पुगेको छैन होला । कुनै पनि ठाउँमा सबैलाई चित्त बुझाउन गाह्र्रै हुन्छ । जे भएको छ त्यसमा सबैले चित्त बुझाउनुपर्छ भन्ने लाग्छ ।
यति धेरै नेता भएको पार्टीमा ६ महिना लगाउँदा पनि संख्यात्मक रूपमा ठूलो आकार लिन नसकेको पार्टीलाई यति सकस भयो भने भोलिका दिनमा पार्टीले कस्ता आकार लेला भनेर आशा गर्ने ?
–पार्टीको केन्द्रीय सदस्य भनेको कार्यकर्ता होइन, सबै नेता हुन् । नेताहरूले नै भनेजस्तो जिम्मेवारी नपाउँदा पार्टी छोड्छु भन्नुभयो भने त्यसलाई कसरी मूल्यांकन गर्ने भन्ने विषय पनि बन्ला । यद्यपि कतिपय कुराहरू मिलाउँदाखेरी सबैलाई चित्तबुझ्दो जिम्मेवारी नपुग्न सक्छ, नहुन सक्छ । त्यस्तो भयो भने पार्टीमा ठाउँ छ बसेर आफ्नो कुरा राख्ने हो । काम गर्ने क्षेत्रका बारेमा केही बिग्रिएको छैन छलफल गर्न सकिन्छ । तर आफ्नो कुरा कहाँ कसरी राख्ने, कोसँग राख्ने ? भन्ने बारेमा भने पार्टीका सबै तहका नेताहरूले ख्याल गर्नुपर्छ र सबैले त्यसलाई अनुशरण गरेर अगाडि बढ्नुपर्छ । यसैका आधारमा सबैकुरा हुन्छ भनेर बुझ्नु हुँदैन केन्द्रीय तहमा भएका नेताले त्यति बुझ्नुभएको छ भन्ने लाग्छ । जहाँसम्म आकारको कुरा छ त्यो सबै मिलेर बनाउने हो, बन्छ भन्नेमा म विश्वस्त छु ।
तपाईं संगठन विभागको प्रमुख पनि हुनुहुन्छ । पार्टीले एउटै मान्छेलाई २–३ ठाउँको इन्चार्ज भन्दै जिम्मेवारी दिएको र कसैलाई केही पनि नदिएकोे भन्ने गुनासो सुनियो । ६ महिनासम्म छलफल गर्दा पनि यस्ता कुरामा किन ख्याल गरिएन ?
–संगठन विभागले कार्य विभाजन गर्ने होइन । पछिल्लो कार्य विभाजन पार्टीको स्थायी कमिटी बैठकले गरेको हो । स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षले प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावमा केही कमरेडको सुझाव र धारणा आए । आएका सुझावमा पार्टी अध्यक्ष र महासचिवले हेरर अन्तिम रूप दिने भन्ने भयो । त्यसैको आधारमा पुस २ गतेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । कतिपय ठाउँमा विभिन्न कारणले गर्दा खेरी पनि केही साथीलाई दोहोरो जिम्मेवारी परेको छ । कतिलाई भनेजस्तो भएको छैन । केहीलाई विभागको सदस्य मात्रै पनि भएको रहेछ । त्यो विभागको काम धेरै हुने भएकाले पनि होला केही ठाउँमा त्यस्तो भएको छ । त्यसमा विचार गर्न सकिन्छ ।
विधि पद्दति भनेर विभाजन गरिएको पार्टी स्थापना भएको छोटो समयमा यस्ता समस्या देखियो । कम्युनिस्ट पार्टीमा पोलिटब्युरोको निर्वाचन गराउनुभयो । यसो हेर्दा महाधिवेशनले भएका विवादको व्यवस्थापन गर्नभन्दा विवाद नै विवाद पो सिर्जना गर्यो त ।
– कम्युनिस्ट पार्टीको महाधिवेशनहरूमा मतभेद हुन्छ नै । नेपालको मात्रै होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरूको इतिहास हेर्ने हो भने पनि महाधिवेशनमा कैयौँ विवाद हुने गरेका छ । नेपालमै पनि पहिलो महाधिवेशनदेखि नै कम्युनिस्ट पार्टीमा विभाजन भएर आएको छ । पार्टीभित्र विवाद हुन्छ, मतभेदहरू हुन्छन नै । त्यसलाई मिलाएर लैजानुपर्छ ।
जहाँसम्म मेरो कुरा छ म त पोलिटब्युरोको निर्वाचन गराउने पक्षमा थिइनँ । त्यो केन्द्रीय कमिटीले गरेको हो । म आफू त कुनै पनि पदमा निर्वाचन नगरौँ भन्ने पक्षमा थिएँ । आफँै पनि कुनै पदमा उम्मेदवार बन्दिनँ भनेको थिएँ । बहुपद नगरौँसम्म भनेको हो मैले त । यो मेरो व्यक्तिगत कुरा हो । तर, हामीले सामूहिक रूपमा के निर्णय गर्यौँ भन्ने कुरालाई भने सबैले मान्नै पर्छ । पार्टीको केन्द्रीय कमिटी बैठकले नै पदाधिकारी र पोलिटब्युरोको निर्वाचन गर्ने निर्णय गर्यो । पार्टीको निर्णय सबैले मान्नै पर्यो र निर्वाचनमा गएको हो । त्यसले ल्याएको परिणाम त सबैले स्वीकार गर्नै पर्यो । यो सबै कुराको भागिदार केन्द्रीय सदस्यहरू पनि हो । अर्को कुरा कार्य विभाजन पनि स्थायी कमिटीले गरेको हुनाले त्यसको जिम्मेवार सबै हो । यसलाई विवाद मात्रै सिर्जना भएको भनेर बुझ्नु हुँदैन । यो पार्टी निर्माणको पाटो पनि हो ।
कार्य विभाजनका लागि कार्यदल पनि थियो होइन ?
– हो । ७ सदस्यिय कार्यदल थियो त्यो कार्यदलले तयार गरेको प्रस्ताव अध्यक्ष कमरेडले बैठकमा पेस गर्नुभयो । त्यसलाई आधारभूत रूपमा स्थायी कमीटीले स्वीकार गर्यो । त्यसैका आधारमा छलफल गरेर स्थायी कमिटीको बैठकले पास गरेको हो ।
कार्य विभाजनले नेताहरूमा देखिएको असन्तुष्टीको स्वर समान्य हो त !
–होइन, को को कमरेडका के के कुरा छन् त्यसमा बसेर कुरा गर्नुपर्छ । पार्टी सबैको हो । सबैले अपनत्व गरेर यो पार्टी चलाउनुपर्छ । पार्टीप्रति सबै नेता जिम्मेवार छौँ र जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्छ ।
भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजालाई तपाईंको पार्टीले कसरी मूल्यांकन गरेको छ ?
–पहिलो कुरा यो निर्वाचनमा हामीले निकै थोरै स्थान १५–१६ ठाउँमा उम्मेद्वारी दिएका थियौँ । त्यसमध्ये १ स्थानमा हाम्रो पार्टीले वडा अध्यक्ष जितेको छ । अहिलेका भएका निर्वाचनमा हामीले विगतमा जितेको स्थान कहीँ पनि थिएन । हामीले जे जति जितेका छौँ त्यो हाम्रो थप उपलब्धि हो । हामीलाई उक्त निर्वाचनले घाटा लगाएको छैन । जे भएको छ त्यो नाफा हो । अर्को कुरा मतका हिसाबले कैयौँ स्थानमा राम्रै पनि आएको छ । कैयौँ स्थानमा सामान्य मत पाएका छौँ । यसले आउने दिनमा अझ राम्रो गर्नुपर्छ र त्यसैअुनसार पार्टी पंक्ति लाग्नुपर्छ भन्ने महसुस भएको छ ।
पार्टीले आउने निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने भनेको छ । अहिले नै त्यो केका आधारमा भन्नुभएको हो ?
–यस्तो कुराचाहिँ कुनै पनि पार्टीले अहिले नै आउने निर्वाचनमा गठबन्धन गर्छौं भन्दैन । समय धेरै बाँकी छ । हामीले पनि अहिले आफ्नै पार्टी बनाउन लाग्नुपर्छ । पार्टी बलियो बनाउन जनताका बीचमा जानुपर्छ भन्ने आधारमा भनेका हौँ ।
अहिलेलाई गर्दैनौँ भनेको हो त्यति बेला हुनसक्छ भन्ने हो ?
–त्यो बेलाको परिस्थिति के हुन्छ त्यति नै बेला निर्णय गर्ने हो । अहिले नै गठबन्धन गर्छौं भनेर को जान्छ ? अहिलेका लागि हामी आफ्नै खुट्टामा उभिने गरी पार्टी निर्माणमा लाग्नुपर्छ भन्ने हो । पहिला पार्टीको आधार बलियो बनाउन पर्छ । पार्टी कमिटीलाई व्यवस्थित बनाएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पहिला जोड हो । पहिला त आफैँ बलियो बन्नुपर्यो नि अहिलेदेखि नै गठबन्धन गर्ने भनेर बस्नु हुँदैन त्यतिबेला परिस्थिति कसरी विकास हुन्छ त्यसैका आधारमा जाने हो ।
त्यो पनि कहाँ कसरी कुन अवस्थामा भन्ने हुन्छ । हामी त्यसलाई पनि विचार गर्छाैं । अहिलेका लागि पार्टीको सबै शक्ति पार्टी बलियो बनाउन लाग्ने हो त्यसैका आधारमा निर्वाचनमा जानुपर्छ भन्ने हाम्रो निर्णय हो । अहिले पनि हामीले २ स्थानमा माओवादी र हाम्रो बीचमा तालमेलको कुरो भएको थियो । ठूला भनिएका पार्टीले पनि एक्ला एक्लै लडने भनेका थिए । तर, अन्तिममा कैयौँ स्थानमा माओवादी र कांग्रेस, कांग्रेस र एमाले, एमाले र माओवादीकै बीचमा पनि तालमेल भएको देखियो । त्यसैले निर्वाचनका बेला हुने तालमेलको कुरा त्यति बेलाको कुरा हो । अहिले यही हुन्छ भन्न सकिन्न । हामी सबै हिसाबले आफ्नो लागि आफैँ तयारी भएर लाग्ने हो । त्यसैका आधारमा निर्णय गरेका हौँ ।
पार्टीले आन्दोलनको कार्यक्रम गर्ने भनेको छ त्यो केमा लक्षित हुनेछ ?
–अहिले आन्दोलनको कार्यक्रम संयोजन गर्न महासचिव कमरेडको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी बनाएका छौँ । त्यो कमिटीले आन्दोलनको खाका तयार गर्ने छ । जनताका समस्या पहिचान गरी त्यसलाई उठाउने, जनताका सरोकारका विषयलाई प्राथमिक दिएर उठाउँदै जनताका बीचमा कसरी जान सकिन भन्ने हो । सँगसँगै पार्टी निर्माणमा लागि लाग्ने हो । यसै गरी हामीले केही कार्य योजना पनि तयार गरेका छौँ त्यो कार्य योजनामा अहिलेका राष्ट्रका जल्दाबल्दा समस्या जनताका समस्यालाई प्राथमिकतामा राखेर आन्दोलनका कार्यक्रम गर्ने भनिएको छ । तर, त्यो कहिलेदेखि गर्छौं भन्ने विषयमा अहिले नै टुंगो लागेको छैन । दोस्रो कुरा कुनै पनि आन्दोलन गर्न संगठन नभइकन हँुदैन । संगठन बलियो नभइकन आन्दोलन पनि बलियो हुँदैन । त्यसैले यही अभियानकै क्रममा संगठन, बिस्तार र निर्माणको कामलाई पनि प्राथमितामा राखेर लैजाने भन्ने भएको छ । अहिले हाम्रो पार्टी संगठनको काम भनेको, पार्टीको प्रदेश अधिवेशन, जिल्ला अधिवेशन मातहतका कमिटीको अधिवेशन गर्दै जाने ंर जनसंगठनको हकमा सबै जनसंगठनको केन्द्रीय सम्मेलन गर्ने जाने भन्ने भएको हो । यसले सबै तहलाई बलियो बनाउने छ ।
कसैसँग पार्टी एकता नगर्ने भन्नुभएको छ त, बामदेवको एकता अभियानसँग एकताको कुरोचाहिँ के हो ?
–पार्टी एकता नगर्ने भनिएको होइन, अहिले तत्कालका लागि भने कसैसँग पनि एकताको सम्भावना छैन भनिएको हो । खासगरिकन माओवादी वा एमालेसँग एकता हुन्छ कि भन्ने हल्ला बेला बेला चल्ने गरेको छ । त्यो चाहिँ अहिले सम्भव छैन भनिएको हो । यी दलसँग किन एकता सम्भव छैन भने, पार्टी एकता गर्न केही आधार चाहिन्छ । पहिलो सैद्धान्तिक आधार, दोस्रो कार्यक्रमिक आधार, कार्यनीतिक आधार, कार्यदिशासम्बन्धी आधार, कार्यभारजस्ता विभिन्न पक्ष हुन्छन् । मिल्ने पार्टीसँग सिद्धान्तमा एकता हुनपर्यो । जस्तो, अब हामीले माक्र्सवाद लेनिनवाद मार्गदर्शक सिद्धान्त भनेका छौँ । एमालेले माक्र्सवाद लेनिनवाद जनताको बहुदलीय जनवाद पनि भनेको छ ।
उता माओवादीले माक्र्सवाद लेनिनवाद माओवाद पनि भनेको छ । यसमा हाम्रो भिन्नता छ । यस्तै कार्यक्रमको सन्दर्भमा हामीले नेपाली विशेषताको समाजवादी कार्यक्रम भनेर १०औँ महाधिवेशनबाट पारित नै गरेका छौँ । अरूले नेपाली विशेषताको समाजवादी कार्यक्रम भनेका छैनन् । एमालेले त जबज आफ्नो कार्यक्रम अहिले पनि भनेकै छ । यस्तै संगठनात्मक संरचनामा फरक छ । यस्ता कुरामा एकरूपता नभइकन पार्टी एकता सम्भव हुँदैन । यी सबै कुरा एकरूपता बनाएर मात्रै पार्टी एकतामा जानुपर्छ । नेपालमा वाम एकता आजको आवश्यकता हो । नेपालको वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्नैपर्छ । त्यो हाम्रो उद्देश्य पनि हो र लक्ष्य पनि हो । तर, अहिले त्यो आधार बनेको छैन ।
जहाँसम्म वामदेव कमरेड लगायतको कुरा छ हामी कसैलाई पार्टीमा ल्याउँदैनौँ भन्ने होइन । मिल्ले साथीहरूसँग एकता हुन्छ । तर, वामदेव कमरेडले पनि जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्छ भन्नुभएको छ । त्यसमा अहिले उहाँको धारणा के हो ? कुरा मिल्दा एकता वा पार्टीमा समावेश गर्ने कुरामा कुनै समस्या छैन सबै सम्भव छ र सबै वाम विचार भएकालाई हाम्रो पार्टीमा स्वागत छ ।
प्रतिक्रिया