पाँचथर । फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ ।
शनिबार फिदिम माविको खेलमौदानमा सम्पन्न खेलमा खर्साङ फुटबल क्लब भारतलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
गोलरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट खेलको निणर्य लिइएको थियो । खर्साङको तर्फबाट टाइब्रेकरमा आकाश प्रधान, विशाल भण्डारी र प्रशान्त क्षेत्रीले गोल गर्न सफल भए ।
छोङदेल लामाको प्रहार फिदिमका गोल रक्षक मिराक खजुमले राकेका थिए । लामाको प्रहार गोलरक्षक मिराक खजुमले उत्कृष्ट बचाउ गर्दा फिदिमले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
फिदिमका खजुम म्यान अफ दि म्याच बन्दै नगद १० हजार प्राप्त गरे । फिदिमको तर्फबाट आशिष चापागाईं, विशाल दर्जी, शुकराज राई र निरोज लिङ्देनले गोल गरेका थिए ।
दुवै टिमले पाएका अवसर गुमाउँदा खेल बराबरीमा पुगेको थियो । पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ पाउने छ । उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाँउनेछ ।
२०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । आयोजकका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया