भ्वाइस अफ नेपाल– ६ मा खेम सेञ्चुरी र मेलीना राई बने नयाँ कोच

काठमाडौं । गायन रियालिटी सो ‘क्लोज अप प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल’ सिजन–६ को प्रसारण आगामी पुस तेस्रो साताबाट सुरु हुने भएको छ । यस विषयमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएका हुन् ।

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ५५ हजार आवेदकमध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभाहरू ब्लाइण्ड अडिसनमा सहभागी भएको आयोजक लक्ष्मण पौडेलले जानकारी दिए । यस अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपाली भाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएको बताइएको छ ।

‘यो पटक भ्वाइस अफ नेपालमा सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रबाट निकै राम्रो संख्यामा प्रतिभाहरु आउनुभएको छ, जुन हाम्रा लागि निकै उत्साहजनक हो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने, ‘नयाँ कोच र प्रतिभाहरुको ट्युनिङ निकै राम्रो भएको छ ।’

ब्लाइण्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने उनको भनाई छ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सजिनको प्रत्यक्ष प्रसारण पनि विगतदेखि निरन्तरता दिँदै आएको हिमालय टेलिभिजनले नै गर्ने भएको छ ।

‘पाँच सिजनसम्म दर्शकहरुले दिएको माया र फिडब्याकलाई आत्मसात गर्दै नयाँ सिजन ल्याएका छौँ’, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने, ‘भ्वाइस अफ नेपालले अहिलेसम्म कम समेटेको लोक संगीतलाई पनि समेटेर अझै बृहत दर्शकमाझ पुग्न कोसिस गरेका छौँ ।’

नयाँ कोचमा खेम र मेलीना

द भ्वाइस अफ नेपालको छैठौँ सिजनमा कोचमा केही हेरफर भएको छ । यसअघि दुईवटा सिजनमा कोच रहिसकेका राजु लामा पुनः कोचका रुपमा यो सिजनमा अनुबन्ध भएका छन् भने पाँचौं सिजनमा कोच रहिसकेका उदय सोताङ दोहोरिएका छन् ।

भ्वाइस किड्सकी कोच मेलिना राई भ्वाइस अफ नेपाल सिजन– ६ मा कोच रहने छिन् भने चर्चित लोक गायक खेम सेञ्चुरी पनि कोचका रुपमा अनुबन्धित भएका छन् । सेञ्चुरी द भ्वाइस अफ नेपालको कोचमा अनुबन्धित हुने पहिलो लोक स्रष्टा हुन् । शुक्रबार पत्रकार सम्मेलनमा दुवै नयाँ कोच राई र सेञ्चुरीले यस ठूलो रियालिटी शोमा अनुबन्ध हुन पाउँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए ।

साथै, उनीहरुले पूराना कोचसँग मिलेर नयाँ अनुभव बटुल्न अवसर मिलेको र नयाँ प्रतिभालाई प्रोत्साहन गर्न चाुनौती थपिएको बताए । हिमालय टेलिभिजनले विश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

प्रतिक्रिया