कांग्रेसमा स्थापनाकालदेखि नै गुटबन्दी संस्थागत छ : गुरुराज घिमिरे

विगतमा पनि विभिन्न नेताहरूले यस्ता सम्पर्क कार्यालय खोल्नुभएको थियो । अहिलेका सभापतिले पनि सभापति हुनुपूर्व सम्पर्क कार्यालय खोल्नुभएको थियो । यो निरन्तरता हो

गुरुराज घिमिरे, नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आउन १ वर्ष बाँकी छ । तर, महाधिवेशन केन्द्रित तयारी र नेतृत्वलाई दबाब दिन भन्दै सम्पर्क कार्यालय भने धमाधम खुल्न थालिसकेका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता गुरुराज घिमिरेलगायतले काठमाडौँको अनामनगरमा गत बिहीबार सम्पर्क कार्यालय खोले । घिमिरे नेता शेखर कोइरालानिकट मानिन्छन् । उक्त सम्पर्क कार्यालय खोल्नुको उद्देश्य संस्थापनलाई १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिनु रहेको घिमिरेको तर्क छ । यता शेखर कोइरालाले लामो समयदेखि बालुवाटारस्थित विशालनगरमा सम्पर्क कार्यालय सञ्चालन गरिरहेका छन् । यही सेरोफोरोमा रहेर कांग्रेस नेता घिमिरेसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवाद :

तपाईंहरूलाई पार्टीको १५औँ महाधिवेशन लागेको हो ?

हाम्रो पार्टीको विधानको व्यवस्था हेर्दाचाहिँ एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनको समय सीमा ४ वर्षको हो । विधानतः ४ वर्षभित्र अर्को महाधिवेशन गराइसक्नुपर्छ । त्यसैले हामी महाधिवेशनको चौथो वर्षमा प्रवेश गरी सकेकाले हामीलाई १५औँ महाधिवेन लाग्यो भन्दा फरक पर्दैन । यो नौलो कुरा पनि होइन, समय भएपछि महाधिवेशन लाग्नैपर्छ ।

अहिले नेतैपिच्छेका सम्पर्क कार्यालय खोल्नुको उद्देश्य के हो ?

सम्पर्क कार्यालय खोल्नुको उद्देश्य भनेको समयमै महाधिवेशन गराउने वातावरण बनाउन हो । त्यसका निम्ति पार्टीलाई मद्दत पुर्याउने र देशभरका साथीहरूसँग परामर्श गरेर भोलिको महाधिवेशनको सहभागिताको आधार तयार गर्नु हो । कार्यालयमा भेटघाट हुन्छ, के हुँदै छ र के गर्नुपर्छ भन्ने बारेमा छलफलसमेत गर्ने थलो पनि भएकाले कार्यालय खोलिएको हो ।

यसले पार्टीको आन्तरिक अवस्थाबारे के संकेत गर्छ ?

नेपाली कांग्रेस उदार प्रजातान्त्रिक, लोकतान्त्रिक पार्टी भएकाले पार्टीका कार्यकर्तालाई आ–आफ्नो ढंगले पार्टीमा काम गर्ने छुट र स्वतन्त्रता छ । पार्टीको आदर्श, मूल्य, मान्यता, सिद्धान्त र कार्यक्रमलाई अनुशरण गरेर पार्टीको हितमा हुने गरी थप आफ्ना गतिविधि गर्नका निम्ति स्वतन्त्रता छ । त्यसैका आधारमा आफूलाई लागेको कुरा बोल्ने, देखेका कुरा राख्ने र कमीकमजोरी भए औँल्याउने र सुझाव दिने, दबाब दिने हक पार्टी सदस्यलाई छ । त्यसैका आधारमा हामी चलेका छौँ ।

जहाँसम्म सम्पर्क कार्यालयको कुरा छ, यो विगतको परम्परा हो । विगतमा पनि विभिन्न नेताहरूले यस्ता सम्पर्क कार्यालय खोल्नुभएको थियो । अहिलेका सभापतिले पनि सभापति हुनुपूर्व सम्पर्क कार्यालय खोल्नुभएको थियो । यो निरन्तरता हो । गिरिजाबाबु महामन्त्री हुँदा सम्पर्क कार्यालय खोल्नुभो, शेरबहादुर दाइले, रामचन्द्र पौडेलले खोल्नुभो भने अहिले शेखर कोइरालाको पनि छ । पार्टीका उपसभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूका पनि विभिन्न सम्पर्क कार्यालय छन् । यसले पार्टीलाई कार्यकारणी भूमिकामा नरहेका व्यक्तिको व्यक्तिगत भूमिकाले पनि पार्टी निर्माण र यसको विकासमा प्रभाव पार्छ । पार्टीलाई दह्रो बनाउन टेवा पुर्याउने काममा यस्ता कार्यले काम गर्छ भन्ने उद्देश्यले कार्यालय खोलिएको हो । यसले पार्टीमा ऊर्जा पैदा गराउँछ, अरू नराम्रो केही गर्दैन ।

कसैलाई जिताउन वा कसैलाई हराउने ‘क्याम्पियन’का लागि कार्यालय खोलिएको हो ?

राम्रो सकारात्मक कुरालाई प्रवद्र्धन गर्नका लागि हो– कार्यालय खुलेको । कसैलाई उचाल्न वा कसैलाई पछार्न होइन । तर, सल्लाह गर्दै जाँदा हामीले भोलि कुनै नेतालाई समर्थन गर्न सक्छौँ । त्यसैले यो निरपेक्षचाहिँ छैन । यो महाधिवेशन सापेक्ष नै हो । त्यसैले यसलाई सकारात्मक रूपमा बुझ्नुपर्छ । महाधिवेशन भएपछि को कता लाग्ने, कसलाई नेता बनाउने भन्ने कुरा सामान्य हो । त्यसैले यसलाई हामीले विगतको निरन्तरता भएकाले नकारात्मक होइन, सकारात्मक रूपमा लिनुपर्छ, अन्यथा केही होइन ।

महाधिवेशनमा जानुपूर्व धेरै काम बाँकी छैनन् ? अहिले नै अलि हतारो भएन र ?

अब २०८२ को मसिंरसम्म अहिलेको नेतृत्वको कार्यकाल सकिन्छ । २०८२ को मसिंरसम्ममा पार्टीले वडादेखि केन्द्रसम्मको अधिवेशन सक्नुपर्छ । यो हाम्रो वैधानिक बाध्यता र सीमा हो । अहिले हामी चौथो वर्षमा प्रवेश गरेका छौँ । हाम्रो पार्टीकोे आधारभूत तहका नेता भनेको क्रियाशील सदस्य नै हुन् । सदस्यता वितरण, नवीकरण गर्ने समय चलिरहेको छ । अब ढिलामा पनि फागुनबाट काम थालिएन भने आउने मंसिरमा हामीले महाधिवेन गर्न सक्दैनौँ । त्यसैले पनि यो धेरै चाँडो भन्ने होइन ।

अरू सम्पर्क कार्यालय चलिरहेका छन् । हामीले महाधिवेशनको चौथो वर्षमा प्रवेश गर्दा कार्यालय खोलेका हौँ, हतारमा होइन । यसले त महाधिवेशनका लागि दबाब सिर्जना गरेर त्यसको तयारीमा लाग्ने वातावरण बनाउन सहयोग पुर्याउँछ ।

महाधिवेशनको कार्यतालिका नै नआई हतारिनुभएको त होइन ?

यो सामान्य हो, भेटघाट र छलफलका लागि खोलिएको हो । यहाँबाट सरकार र पार्टी के गर्दै छन् भन्ने जानकारी पाउन देशभरिका पार्टीका साथीहरूलाई सहयोग पुग्छ । नेताहरूसँग भेट गर्ने स्थानका रूपमा पनि यसले सजिलो बनाउने उद्देश्यले खोलिएको हो । हामी केही हतारिएका छैनौँ । समयमा महाधिवेशन गर्नुपर्छ, त्यसका लागि गरिने काम जारी राख्नुपर्छ भन्नु र यसका लागि भेटघाट र छलफल गर्ने स्थान बनाउनु हतारिनु होइन । हामी त समयलाई ख्याल गर्दै त्यसका लागि लागेका हौँ । जहाँसम्म कार्यतालिका छ, त्यो नेतृत्वले बेलैमा जारी गरेर काम थाल्नुपर्छ भन्ने हाम्रो कुरा हो ।

१४औँ महाधिवेशनमा भएकै सदस्यले नै नवीकरण गरेका छैनन् भन्ने सुनिएको छ नि ?

पार्टी सदस्यता नवीकरण र वितरण भनेको पार्टीको सधैँ गरिनुपर्ने आधारभूत काम हो । यो काम पूरा नगरीकन महाधिवेशन नै अघि बढ्दैन । त्यसैले यो माघसम्म सकौँ र फागुनदेखि वडाहरूको अधिवेशनको कार्यतालिका बनाएर केन्द्रले जारी गरोस्, त्यसअुनसार काम होस् भनेर पनि हामीले यो अभियान चलाएको हौँ । जे–जति सदस्यता नवीकरण बाँकी छ, त्यसलाई समयमै गराउने वातावरण बनाउनुपर्छ । त्यसका लागि जिम्मेवार नेताहरू लाग्नुपर्यो । के–कति बाँकी छन्, टुंग्याउनुपर्छ ।

शेखर कोइरालाले त उम्मेदवारी घोषण गरिसक्नुभयो । तपाईंचाहिँ कुन पदमा उठ्ने तयारीमा हुनुहुन्छ ?

मेरो व्यक्तिगत कुरा अहिले केही पनि छैन । साथीहरूसँग सल्लाह गर्छु, साथीहरूको रायअनुसार नै मेरो कुरा सार्वजनिक गर्छु । तर, अहिले त्यसबारेमा मैले केही सोचेको छैन । देशभरिका साथीहरूको भावना अनुसार नै मैले उम्मेदवारी दिन्छु । अहिले नै यो पद भन्ने केही छैन । आवश्यकता र अवस्था हेरेर घोषणा गर्नेछु ।

पार्टीभित्र एकताभन्दा पनि गुट र गुटभित्र पनि अनेक उपगुट देखिएका छन्, यसको व्यवस्थापन कसरी होला ?

स्थापनाकालदेखि नै कांग्रेसमा गुटबन्दी संस्थागत हुँदै आएको छ । दुइटा कांग्रेस मिलेर नेपाली कांग्रेस स्थापना भएको हो । पार्टी स्थापना भएको ८० वर्ष हुन लाग्यो, यसमा गुटबन्दी निरन्तर छ । कांग्रेसमा गुटबन्दी एक प्रकारले अभिन्न अंगजस्तै भएको छ । यो अनौठो र नयाँ कुरा होइन । अझ प्रजातान्त्रिक पार्टी भएकाले यो सामान्य हो । जहाँसम्म कति स्वस्थ वा अस्वस्थ छ भन्नेबारेमा भने, कतिपय अवस्थामा अस्वस्थ रूपमा प्रकट हुन्छ ।

कतिपय अवस्थामा महाधिवेशनमा गएर एक प्रकारको सहमति देखिन्छ । महाधिवेशनअघि जे–जे भए पनि महाधिवेशनपछि समग्रमा पार्टीको निर्णयलाई स्वीकार गर्दै आएकाले यसलाई अस्वस्थ भन्न भने मिल्दैन । कहिलेकाहीँ भने एक नेताले अर्को नेताको बद्ख्वाइँ मात्रै गर्दा भने यो अस्वस्थ त होइन ? भन्ने लाग्छ । त्यस्तो कता–कता देखिएको पनि छ । तर, यसको व्यवस्थापन भने समयक्रममा हुन्छ नै भन्नेमा विश्वस्त छु ।

आउने महाधिवेशनमा फेरि शेखर कोइराला र गगन थापा एउटै टिममा होलान् त !

यो पार्टी खुल्ला र उदार पार्टी भएकाले एकअर्कामा प्रतिस्पर्धा गर्ने, गुट बनाउने र त्यसअनुसारको परिणाम बनाउने हक सबैमा छ । तर, अगाडिदेखि नै पुराना गुट भत्किने र नयाँ बन्ने परिपाटी पनि चल्दै आएको छ । यो पटक पनि को कहाँ उभिनुहुन्छ भन्ने कुरा समयक्रममा देखिन्छ । यद्यपि हाम्रो प्रयास १४औँ महाधिवेशनमा एकठाउँ उभिएकालाई एकैठाउँमा राख्ने प्रयास हुन्छ । त्यो प्रयास सार्थक भएन भने आ–आफ्नो बाटो रोज्ने र त्यसअुनसार अघि बढ्ने अधिकार सबैलाई छ । यसमा कसैले कसैलाई निषेध गर्ने वा बन्देज लगाउन सक्दैन । त्यसैले यो विषयमा अहिले नै यही हुन्छ भन्न सकिन्न । तर, हाम्रो प्रयास भने एकै ठाउँमा रहने वातावरण बनाउने नै रहन्छ ।

आउने वर्ष महाधिवेशन हुनेमा ढुक्क हुनुहुन्छ ?

१५औँ महाधिवेशनलाई ४ वर्षभित्रै गराउने र त्यसको वातावरण बनाउने प्रयासमा हामी संगठित रूपमै लागेका छौँ । यसमा शंकाचाहिँ उब्जिएकाले नै यो पहलकदमी सुरु गरेका हौँँ । समयमै गराउने हाम्रो प्रयास जारी रहन्छ । अहिले नै महाधिवेशन धकेलिन्छ भन्नु त्यति उपयुक्त हुँदैन । समयक्रममा त्यस्तो देखियो भने हामी समयमै गराउने प्रयास गछौँ । अहिलेको अवस्था हेर्दा कुनै पनि कारणले महाधिवेशन पछाडि धकेल्नुपर्ने अवस्था आउला भन्ने लाग्दैन ।

कतै सत्ता फेरबदल भएमा आउने वर्ष महाधिवेशन होला त ?

सत्ता फेरबदलको सम्भावना तत्काल म देख्दिनँ । दुइटा ठुला पार्टी एकैठाउँ रहेसम्म र समझदारी कायम भएसम्म सत्ता फेरबदलको सम्भावना छैन । अहिलेको समीकरणमा ठुला पार्टीको संख्या संसद्मा निर्णायक र प्रचण्ड बहुमत छ । साना पार्टीहरूको संख्याले मात्रै बहुमत पुग्ने भएको भए साना पार्टी यताउता हुँदा मात्रै पनि समीकरण भत्किने हुन सक्थ्यो । तर, त्यो अवस्था अहिलेको संसद्मा छैन । नेपाली कांग्रेस र एमालेको नेतृत्व तहमा समझदारी छ । त्यो समझदारी रहँदासम्म गठबन्धन भत्किने र अर्को सरकार बन्ने सम्भावना छैन ।

त्यसैले पार्टीको अहिले अरू कुनै काम छैन । सरकारमा गएकाले राम्रो काम गरेर जनतालाई सेवा प्रवाह गर्ने र राजनीतिक स्थायित्व दिने हो । पार्टी नेतृत्वमा रहेका नेताले महाधिवेशन गर्ने वातावरणसहित पार्टीको काममा लाग्ने हो । पहिला कुनै कारणले समय बढ्यो होला । तर, पार्टीमा यो पटक सबैतिरबाट सहज वातावरण भएकाले समयमै महाधिवेशन गर्नुपर्छ । यसमा फेरबदल होला भन्ने लाग्दैन र लाग्नु पनि हुँदैन ।

सत्ताका लागि कांग्रेस कहिले कता, कहिले कता किन टाँसिइरहेकोे ?

यो नेतृत्वको अठोट र संकल्प नभएकाले हो । नेतृत्वले मेरो दललाई दलको आदर्श, सिद्धान्त र दर्शनको धरातलमा उभ्याएर आफ्नो बाटो हिँड्छु, कतै पनि ढल्किन्नँ भन्ने संकल्प गर्नुपर्छ । सत्ता प्राप्त होस् वा नहोस्, म आफ्नै बाटो हिँड्छु भन्ने दृढता र संकल्प हुँदा यो अवस्था आउँदैनथ्यो । अर्को कुरा हंग पार्लियामेन्ट भएको अवस्थामा सबैभन्दा ठुलो दल भएकाले सरकारमा जानैपर्ने हो । तर, अब हाम्रोमा त्यस्तो अवस्था देखिएन, सेकेन्ड ठुलो कम्युनिस्ट पार्टीको नेतृत्वमा सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी सरकारमा गएको छ । दुनियाँमा कहीँ पनि यस्तो हुँदैन । यो दृष्टान्त कहीँ कतै देखिएको छैन र हुँदैन पनि ।

यो विशेष परिस्थितिका कारण भएको हो । यहाँ साना दलले स्थायित्व दिन सकेनन् र जनतालाई सुशासन दिन सकेनन्, देशको विकास भएन भनेर नै ७ बुँदे सहमतिसहित यो सरकार बनेको हो । त्यसैले जे भएको छ, नहुनुपर्ने थियो । तर, अवस्थाले हामीलाई नहुनुपर्नेतर्फ लग्यो । ठुलो पार्टी भएर पनि दोस्रो पार्टीको नेतृत्वमा सरकारमा जानुपर्यो ।

दुनियाँमा नभएको पहिलो र दोस्रो ठुलो दल, त्यो पनि फरक धारका मिलेर सरकार बनेको छ, यसलाई के भन्नुहुन्छ ?

कसलाई सत्तामा पुर्याउने भन्ने जनताको मतमा भर पर्छ । दललाई कुन आकारमा पुर्याउने जनताको कुरा हो । तर, यहाँ बलपूर्वक दुई दलीय सरकार बनाउनु प्रजातान्त्रिक बाटो होइन, यो दुनियाँमा अन्त पनि छैन । ठुलो दलले सरकार चलाउने, त्योभन्दा साना दल प्रतिपक्षमा बस्ने हो । विश्वका धेरै देशमा ठुला दुई दल पालैपालो सरकारमा बस्छन्, एकै पटक सरकारमा बस्दैनन् । तर, यहाँ जनताले दिएको जनादेश र अवस्थाले तपाईंले भनेजस्तै भएको छ ।

थप केही छ ?

जे उद्देश्यले कांग्रेस पार्टी स्थापना गरेको हो, त्यसमा केन्द्रित हुनुपर्यो । नेपालमा प्रजातान्त्रिक शासन प्रणालीमार्फत् देशको विकास र सुरक्षा गरी जनतालाई अधिकार सम्पन्न बनाई उनीहरूको जीवनलाई सुखद् र सहज बनाउन लाग्नुपर्छ । जतिसुकै अरू कुरा भने पनि यो उद्देश्यमा नेपाली कांग्रेस केन्द्रित भएर सरकारमा रहेकाले कार्य सम्पादनमा केन्द्रित हुनुपर्छ । सरकारका काम कारबाहीबाट बारम्बार जनता असन्तुष्ट हुने र जनाक्रोश बढ्ने क्रम रोकिनुपर्छ । मुलुकले सुशासन पाउने र सम्पूर्ण नेपाली जनाताको जीवनलाई सहज र सुखद् बनाउने बाटोमा नेपाली कांग्रेस अघि बढ्नुपर्छ । खास गरेर वर्तमान सरकारले पनि केही गर्न सकेन भने मुलुकका लागि दुर्भाग्य हुन्छ भन्ने सोचेर सरकारले काम गर्नुपर्यो, अहिलेको आवश्यकता यही हो ।

प्रतिक्रिया