दाङ । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा र मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् ।
घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुने बवापत रु पाँचदेखि ८ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै, उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।
‘उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्’, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मंगलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।
प्रतिक्रिया