काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन् । ३०औँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएको बताए ।
काठमाडौं महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति यादवले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौं महानगर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु भएको बताए ।
उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिए । महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्द्धन, मठमन्दिर जस्ता सम्पदाको संरक्षण, पोखरीको पुनः स्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गरे । महानगर प्रमुख बालेन्द्र (बालेन) साहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए ।
उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जानकारी दिइन् । विसं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मंसिर २९ गते काठमाडौं महानगर घोषणा गरिएको हो ।
प्रतिक्रिया