नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाहरूमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद् भवनमा भएको आक्रमणमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानले राष्ट्रलाई सदैव प्रेरणा दिने बताएका छन् ।
सन् २००१ को डिसेम्बर १३ मा लस्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले संसद्मा आक्रमण गर्दा दिल्ली प्रहरीका ५, संसद् सुरक्षा सेवाका २ जवान, सिआरपिएफका १ जवान र १ मालीको मृत्यु भएको थियो । सो घटनाले भारत र पाकिस्तानबीच तनाव बढेको थियो । यसैगरी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनामा शहादत प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिंगो देश आतंकवादविरुद्ध उभिएको बताएका छन् ।
उनले भने, ‘सन् २००१ को संसद् आक्रमणमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । उनीहरूको बलिदानले हाम्रो राष्ट्रलाई सधैँ प्रेरणा दिनेछ ।’ आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले संसद् आक्रमणका क्रममा आफ्नो ज्यानको आहुति दिने सैनिकहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘कृतज्ञ राष्ट्रको तर्फबाट अमर सहिदहरूप्रति सम्मानपूर्ण श्रद्धाञ्जली । आज हामीले संसद् भवनमा भएको आतंकवादी हमलामा सहिद भएका भारत माताका वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरेका छौँ ।’
आप प्रमुख केजरीवालले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आजको दिनले हामीलाई ती वीर सैनिकहरूको सम्झना गराउँछ, जसले संसद् भवनमा भएको आतंकवादी हमलामा देश र हाम्रो लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन बलिदान गरे । ती सबै बहादुर सैनिकहरूको अमर शहादतलाई लाखौँ सलाम छ ।’
श्रद्धाञ्जलीले सन् २००१ को डिसेम्बर १३ मा भारतीय संसद्माा भएको भयानक आतंककारी हमलाको स्मरण गराएको छ । सन् २००१ को डिसेम्बर १३ मा गृह मन्त्रालय र संसद्को लेबल भएको कारमा संसद्मा प्रवेश गरेका ५ जना आतंककारी मारिएका थिए । त्यतिबेला संसद् भवनभित्र प्रमुख राजनीतिज्ञसहित १०० भन्दा बढी व्यक्ति थिए । बन्दुकधारीहरूले आफूले चलाएको कारमा परिचयपत्रको नक्कली स्टिकर प्रयोग गरी संसदीय परिसर वरपर तैनाथ सुरक्षाकर्मीलाई सजिलै झुक्क्याउन सफल भएका थिए । आतंकवादीहरूले एके ४७ राइफल, ग्रेनेड लन्चर र पेस्तोलद्वारा आक्रमण गरेका थिए ।
भारतीय सुरक्षा निकायले दिएको जानकारीअनुसार संसद् चलिरहेको समयमा ५ जना आतंककारी एक्कासि प्रवेश गरेका थिए । ४० मिनेट संस्द अवरुद्ध भएको थियो । तत्कालीन गृह मन्त्री लालकृष्ण आड्वानी तथा रक्षा मन्त्री हरिण पाठक आक्रमणको समयमा त्यसै भवनमा रहेको जनाइएको छ ।
सो आक्रमणमा सरिक भएको अवस्थामा धेरै जना शंकास्पदलाई गिरफ्तार गरिएको थियो । सन् २००३ को डिसेम्बर जैसे ए मोहम्मद भनिने शक्तिको सो आक्रमणमा संलग्नता रहेको तथ्य प्रहरीले पत्ता लगाएको थियो । सोही आक्रमणमा मोहम्मद अफजाल गुरु, उनका भाइ पर्ने सौकत हुसेन गुरु, सायद अब्दुल रहमान गेलानी र सौकात गुरुकी श्रमती अस्मान गुरुलाई पनि सो प्रकरणमा सामेल भएको जनाइएको थियो ।
प्रतिक्रिया