३०औँ महानगर दिवसमा टुँडिखेलमा सांगीतिक कार्यक्रम

काठमाडौँ । ३०औँ महानगर दिवसको अवसरमा यही मंसिर २९ गते राजधानीस्थित टुँडिखेलमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । सो अवसरमा आयोजना हुने कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमलाई निरन्तरता दिइने आयोजक काठमाडौँ महानगरले जनाएको छ ।

औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी गर्ने, विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्व सम्मान गर्ने, अपरान्हबाट सांगीतिक कार्यक्रम आयोजना गर्ने, सांस्कृतिक पहिचान हुने मौलिक खानाको प्रवद्र्धनका लागि फुड स्टल राख्ने, एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने निर्णय गरेको छ ।

सांगीतिक कार्यक्रममा कलाकारहरू बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, एकदेव लिम्बू, सुगम पोखरेल (ब्यान्ड), केहर लिम्बू एन्ड जोइ ब्यान्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दीप विष्टलगायतले प्रस्तुति दिने बताइएको छ ।

गत वर्षहरूमा सञ्चालन गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिँदै यस वर्ष सांगीतिक कार्यक्रममा प्रस्तुतिहरू थप गरिएको महानगरले जनाएको छ । सो दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्चमा हुनेछ । सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपरान्ह ३ बजेदेखि टुँडिखेल मैदानमा हुने बताइएको छ ।

यस वर्ष महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । समितिका सदस्यहरूमा उपप्रमुख सुनिता डंगोल र विषयगत समितिका संयोजकहरू रहेका छन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सदस्य सचिव छन् ।

समितिको पहिलो बैठकले, औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी गर्ने, विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्व सम्मान गर्ने, अपरान्हबाट सांगीतिक कार्यक्रम आयोजना गर्ने, सांस्कृतिक पहिचान हुने मौलिक खानाको प्रवद्र्धनका लागि फुड स्टल राख्ने, एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने निर्णय गरेको छ ।

दिवसका अवसरमा वडाहरूले सप्ताहव्यापी रूपमा कार्यक्रम मनाउने, मूल समारोह समितिबाट निर्णय भएको सहायक प्रवक्ता एवं प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । उनका अनुसार प्रमुखको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुनेछ ।

प्रतिक्रिया