नयाँदिल्ली । आइएमडिबीले भारतको सबैभन्दा लोकप्रिय चलचित्र स्टारहरूको सूची जारी गरेको छ । सूचीअनुसार तृप्ति डिमरीको नाम पहिलो स्थानमा छ । यसरी अभिनेत्रीले शाहरूख खान, दीपिका पादुकोण र आलिया भट्टलाई पछाडि छाडेकी छिन् ।
आइएमडिबीको सूचीअनुसार दीपिका दोस्रो स्थानमा, शाहरूख चौथो र आलिया नवौँ स्थानमा छन् । सूचीको तेस्रो स्थानमा ईशान खट्टर छन् । ऐश्वर्या राय सातौँ, सामन्था रुथ प्रभु आठौँ र प्रभास दसौँ स्थानमा छन् ।
तृप्तिले यस उपलब्धिमा खुसी व्यक्त गर्दै आइएमडिबीलाई पनि धन्यवाद दिएकी छिन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्, ‘यो मेरा लागि निकै अनौठो पल हो । कस्तो अचम्मको वर्ष थियो । यस सम्मानका लागि आइएमडिबीलाई धन्यवाद । मैले काम गर्ने अवसर पाएका अद्भूत व्यक्तिहरूका लागि म धेरै आभारी छु । यस वर्ष मलाई यति धेरै माया देखाउनेहरूलाई मेरो हृदयदेखि नै धन्यवाद । यो एक अविस्मरणीय वर्ष भएको छ र अझै धेरै आउन बाँकी छ १’
तृप्तिको कामको कुरा गर्दा उनी लैला मज्नु र एनिमल जस्ता फिल्मका लागि चिनिन्छिन् । उनले अविनाश तिवारीसँग फिल्म लैला मज्नुमा काम गरेकी थिइन् । त्यही क्रममा उनले रणवीर कपूरसँग फिल्म एनिमलमा स्क्रिन सेयर गरिन् । यो फिल्मबाट नायिकाले निकै चर्चा पाएकी थिइन् । उनी हालै फिल्म विक्की विद्या का वो भिडियो र भूल भुलैया–३ मा देखिएकी छिन् ।
प्रतिक्रिया