एक पटकलाई टर्यो महाअभियोगको खतरा

सत्तारुढको साथपछि बचे दक्षिण कोरियाली राष्ट्रपति

सिओल । दक्षिण कोरियाली राष्ट्रपति युनसुक योलमाथि एक पटकका लागि महाअभियोगको खतरा टरेको छ । संसद्मा महाअभियोग प्रस्ताव पारित हुनका लागि आवश्यक २०० मतमध्ये विपक्षी गठबन्धनको साथमा १९२ मत मात्र पुगेको हो । अन्तिम समयमा सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी) ले मतदान बहिस्कार गरेपछि राष्ट्रपतिमाथिको महाअभियोगको प्रस्ताव तुहिएको हो ।

यस घटनापछि राजधानी सिओलको सडकमा ठुलो पर्दामा संसद्को दृश्य हेरिरहेकाहरूमा निराशा छाउनुका साथै रुवाबासी नै चलेको थियो । राष्ट्रपति योलले शनिबार नै सम्बोधन गरेर आफूले गल्ती गरेको बताउँदै माफी मागेका थिए । सत्तारुढ सासंदहरूले महाअभियोगको पक्षमा मतदान गर्ने धारणा बनाइसकेको भए पनि माफी मागेका कारण दलले उनलाई बचाएको जनाएका छन् ।
मतदानका लागि तय भएको समयमा संसद् भवनअगाडि हजारौँ जना उपस्थित भएका थिए ।

उनीहरूले राष्ट्रपतिविरुद्ध मतदान गर्न नारासमेत लगाइरहेका थिए । तर, उनीमाथिको महाभियोग प्रस्ताव तुहिएपछि धेरै जना सत्तारुढ दलका सांसद्को भूमिकाका कारण आश्चर्यमा परेका छन् । सुरुआती दिनमा सत्तारुढ दलका सांसद महाअभियोगको पक्षमा थिएनन् । पछि संसद्ले तत्काल राष्ट्रपतिको निर्णय उल्ट्याउने निर्णय नगरेको भए आफूहरूविरुद्ध समेत गिरफ्तारीको तयारी रहेको सत्तारुढ सांसदले समेत पत्तो पाए ।

त्यतिबेला राष्ट्रपति योलले धेरै जनालाई गिरफ्तारीको आदेशसमेत दिइसकेको पछिल्लो समयमा खुलेको हो । आफ्नो दलका नेता हान डान उङलाई समेत गिरफ्तारीको आदेश दिएका उनले प्रमुख विपक्षी नेता ली जाय म्युङसहित अन्य ३ जना डेमोक््रयाट नेता पनि सम्भावित गिरफ्तारीको सूचीमा रहेको राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशकले समेत जनाएका थिए ।

महाअभियोगमा दुई तिहाइ मतका लागि सत्तारुढ सांसदको पनि साथ रहने तयारी भइसकेको थियो । शुक्रबार नै सत्तारुढ दलले पनि योललाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि महाअभियोगको पक्षमा मतदान गर्ने संकेत देखिएको थियो । सुरुमा पिपुल्स पावर पार्टीका नेता हानले विपक्षीले ल्याएको महाअभियोग प्रस्तावमा साथ दिन नसकिने बताएका थिए । पछिल्लो समय हानको समेत मत फेरिइसकेको थियो । उनले योलले आफूलगायत आफ्नै दलका नेतालाई गिरफ्तार गर्न गरेको प्रयासको पुष्टि भइसकेको बताएका छन् ।

सडकमा प्रदर्शन गरेका सर्वसाधारणले योलमाथिको महाअभियोगमा साथ दिन सत्तारुढ सांसदलाई दबाब दिइरहेका थिए । सांसद सिन चुक बुकले मात्र यससम्बन्धी ४ हजार सन्देश पाएका छन् । चो क्योङ ताई महाअभियोगमा साथ दिने घोषणा गर्ने पहिलो सत्तारुढ सांसद हुन् । सर्वेक्षणअनुसार ७० प्रतिशत दक्षिण कोरियाली महाअभियोगको पक्षमा थिए ।

यसअघि नै जनताका माझ अलोकप्रिय भएपछि सैन्य शासनको कदम उठाएका राष्ट्रपति योलप्रति १३ प्रतिशत दक्षिण कोरियाली मात्र सकारात्मक थिए । मंगलबार राति सैन्य शासनको घोषणा गरेको उनले विपक्षी सांसद्ले संसद्बाटै निर्णय उल्ट्याइदिएपछि निर्णय फिर्ता लिन बाध्य भएका थिए । त्यसपछि पनि उनीविरुद्धको आक्रोशमा कमी आएको थिएन । तथापि शनिबार माफी मागेपछि सत्तारुद दलका सांसदको साथले उनी महाअभियोगबाट जोगिएका हुन् ।

प्रतिक्रिया