काठमाडौं । साहित्यकार दीपक खनालले स्वर्गीय श्रीमती अनिता आचार्यको स्मृतिमा ‘संसारमा तिमीलाई’ नाम गरेको गीत ल्याएका छन् । उनले गीत युट्युबमार्फत ल्याएका हुन् ।
‘संसारमा तिमीलाई अब भेटिदैँन तर पनि हाम्रो माया कहिल्यै मेटिदैन’ भन्ने गीतमा गायक मातृका आचार्यले स्वर दिएका छन् भने संगीत संगीतकार पुरुषोत्तम न्यौपानेले भरेका छन् । यस्तै स्व. आचार्यको काल्पनिक मधुर आवाजमा साथ दिएकी छिन्…ले ।
उक्त गीतको लोकार्पण प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आज एक कार्यक्रमबीच गरेका हुन् । उक्त गीत सार्वजनिक गर्दै उनले दुःखद् घटनापछि सकारात्मक सन्देश दिने काम यो गीतले गरेको उल्लेख गरे ।
क्यान्सरजस्तो रोग सहज र सरल रूपमा उपचारको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने र मिडियाले पनि त्यसका लागि सकारात्मक कलम चलाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘अकालमा कसैको पनि मृत्यु नहोस् भनेर राज्यलाई लोककल्याणकारी काम गर्न गीतसंगीत र समाचारमार्फत घच्घचाउनुपर्छ ।’
प्रेस काउन्सिलले सामाजिक सञ्जालको राम्रो प्रयोग गरौँ भनेर आह्वान गरिरहेको र यो गीत युट्युबमार्फत सार्वजनिक गरेर यसको रचनात्मक प्रयोग भएको अध्यक्ष बस्नेतले बताए । अरू किसिमका धेरै गीत आइरहेको भए पनि श्रद्धाञ्जली गीत आफैँमा नौलो प्रयोग भएको र यसले गर्दा सशरीर नभेटिने मानिससँग पनि युगौँ युगसम्म भेट भइरहने उनले बताए ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाालले यो गीतले शोकलाई शक्तिमा बदल्नका लागि प्रेरणा दिने र गीतमार्फत नै सम्झना रहिरहने उल्लेख गरे । गीतकार खनालले आफूले श्रीमती अनिताको निधन भएका बेला उक्त गीत लेखिएको भए पनि त्यसलाई स्मृति दिवस पारेर सार्वजनिक गरेको बताए ।
महिलाहरूमा पाठेघर र स्तन क्यान्सरको जोखिमबारे सचेत हुनुपर्ने उनले बताए । गायक मातृका आचार्य र संगीतकार पुरुषोत्तम न्यौपानेले यो गीतका शब्दहरू मर्मस्पर्शी भएको र अथक प्रयास गरेर छोटो समयमा नै राम्रो बनाउन प्रयास गरिएको बताए ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) खनाल कविता, गीत, निबन्धमा कलम चलाउन रुचाउँछन् भने मिडिया र राजनीतिक विश्लेषणमा पनि उनका विचारहरू सार्वजनिक हुने गरेको पाइन्छ ।
प्रतिक्रिया