काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रन बनाएको हो ।
पोखराका लागि मार्कस क्रिचले ३० बलमा एक छक्का र तीन चौका प्रहार गर्दै ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले ६ रन जोडे भने अविजित रहँदै नारायण जोशीले ५ र विपिन खत्रीले एक रन बनाए ।
जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक–एक विकेट लिए । अहिले जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया