काठमाडौं । ३३औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा रेडियो नेपालको समाचार महाशाखामा कार्यरत समाचार वाचक कुशल अर्याल सम्मानित भएका छन् । उनीसँगै रेडियो नेपालकी कार्यक्रम प्रस्तोता विद्या चौधरी र नेपालगञ्जका पत्रकार नमस्कार शाहा पनि सम्मानित भएका छन् ।
विगत लामो समयदेखि सञ्चार माध्यममा अपांगता भएका व्यक्तिहरूको सवाललाई उजागर गरी अपांगता समावेशी विकासमा पुर्याउँदै आएको योगदान स्वरुप आफू सम्मानित भएको समाचार वाचक अर्यालले बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा भृकुटीमण्डपमा आयोजित मुल समारोहमा मंगलबार मन्त्री नवल किशोर साह सुडीले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा अपांगता भएका व्यक्तिहरूको सवालमा काम गर्ने विभिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ ।
पाल्पाको विकट क्षेत्र मानिने निस्दी गाउँपालिकामा जन्मिएका समाचार वाचक अर्याल आफै शारीरिकरुपमा अशक्त भए पनि आफूले निरन्तर पत्रकारिता एवं अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि आवाज उठाउँदै आएको अर्यालले बताए । अर्यालले यसअघि प्रेस काउन्सिल नेपालमा मिडिया अनुगमन फाटमा रहेर समेत काम गरेका थिए ।
प्रतिक्रिया