कांग्रेसले २० र एमालेले १५ प्रतिशत गुमाउँदा माओवादीले बढायो ५० प्रतिशत

उपनिर्वाचनमा ठुला दलको लोकप्रिय मत

काठमाडौँ । स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनमा ठुला दल कांग्रेस र एमालेको लोकप्रिय मत ह्वात्तै घटेको छ । यस्तै, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ठुलो अंकले लोकप्रिय मत बढाउँदै एमालेलाईसमेत उछिन्दै दोस्रो स्थान हासिल गरेको छ । हाल उपनिर्वाचन भएका स्थानमा कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा पाएकोमध्ये करिब २० प्रतिशत मत गुमाएको छ भने एमालेले करिब १५ प्रतिशत गुमाउँदा माओवादीले भने झन्डै ५० प्रतिशत मत बढी ल्याएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी स्थानमा जित हासिल गरेको नेपाली कांग्रेसलाई २०८४ को चुनावअघि नै ठुलो धक्का दिएको छ भने आगामी निर्वाचनमा सबैभन्दा ठुलो दल बन्ने दाउमा रहेको एमालेलाई पनि यो उपनिर्वाचनले तेस्रो स्थानमा धकेलेको छ । तर, नेकपा माओवादी केन्द्र भने अहिलेको परिणामबाट हौसिएको छ । मंगलबार विज्ञप्ति नै जारी गरेर माओवादीले स्थानीय तहको उपनिर्वाचनमा निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताइसकेको छ ।

हुन पनि लोकप्रिय मतको विश्लेषण गर्ने हो भने यस पटक सबैभन्दा बढी लाभ लिएको दल माओवादी नै हो । जितेको सिट संख्याको हिसाबमा होस् वा प्राप्त मतको संख्या, अहिलेको उपनिर्वाचनले माओवादी निकै बलियो रहेको देखाएको छ । यद्यपि, २०७९ मा माओवादीले केही ठाउँमा भने गठबन्धन गरेको थियो ।

माओवादीले सिटसँगै बढायो लोकप्रिय मत

चुनाव भएका ४१ मध्ये ३९ स्थानमा उम्मेदवारी दिएको माओवादीले ती स्थानबाट ३५ हजार ३७१ मत प्राप्त गरेको छ । जुन २०७९ को निर्वाचनमा प्राप्त मतभन्दा ११ हजार ७७१ ले बढी हो । २०७९ मा माओवादीले यी स्थानबाट २३ हजार ६०० मात मत पाएको थियो । साथै, यस पटक पहिलेको भन्दा ३ पद पनि थप गरेको छ ।
माओवादीले सबैभन्दा बढी मत बढाएको पालिका प्रमुख र उप्रमुखबाट हो । २०७९ मा ती पदहरूबाट १५ हजार ३५८ मत पाएको माओवादीले यस पटक २४ हजार ५०२ मत पायो । माओवादीले थपेको लोकप्रिय मतको करिब ७८ प्रतिशत हिस्सा यिनै पदबाट आएको हो ।

कांग्रेसलाई दोहोरो झट्का

स्थानीय तहको उपनिर्वाचनमा सबैभन्दा बढी घाटा बेहोरेको दल हो, नेपाली कांग्रेस । ४१ सिटका लागि भएको मतदानबाट कांग्रेसले आफ्नो लोकप्रिय मतसँगै ८ वटा सिट पनि गुमायो । जनमत आफ्नै पक्षमा रहेकाले उपनिर्वाचन हुन लागेका सबै सिटको सुरक्षा गर्दै बोनसमा अन्य स्थानमा पनि जित्ने नेताहरूको दाबीविपरीत परिणामले आयो ।

उपनिर्वाचन भएका ४१ स्थानमध्ये २०७९ मा कांग्रेसले ३८ स्थानमा मात्र उम्मेदवारी दिँदै ५५ हजार ६७९ मत पाएको थियो । तर, यस पटक ४१ वटै स्थानमा उम्मेदवारी दिए पनि जम्मा ४४ हजार ८०६ मत प्राप्त गरेको छ । २ प्रमुख, ३ उपप्रमुख र ३ वडाध्यक्ष पद गुमाएको कांग्रेसले यस पटक १० हजार ८७३ लोकप्रिय मत पनि गुमायो । यसमा पनि सबैभन्दा बढी मत गुमाएको पद प्रमुख र उपप्रमुखकै हो । २०७९ मा ती पदमा ३३ हजार ५९४ पाएकामा यस पटक १० हजार १८२ मत गुमाउँदै २३ हजार ४१२ मत मात्र पायो । यो मत कांग्रेसले गुमाएको लोकप्रिय मतको करिब ९४ प्रतिशत हो ।

एमालेको आत्मविश्वासमा धक्का

२०८४ को निर्वाचनमा सबैभन्दा ठुलो दल बन्ने सपना बोकेको एमालेलाई उपनिर्वाचनको परिणामले धक्का पुर्याएको छ । एमालेले २०७९ को निर्वाचनभन्दा २ उपप्रमुख र १ प्रमुख ‘बोनस’ पाए पनि ३ वडाध्यक्ष पद भने गुमाएको छ । साथै, एमालेले पनि २०७९ को तुलनामा लोकप्रिय मत गुमाएको छ ।

निर्वाचन भएका ४१ मध्ये २०७९ मा एमाले ४० स्थानमा उम्मेदवारी दिएको थियो भने ती स्थानबाट ४३ हजार ४१९ मत पाएको थियो । तर, त्यति नै संख्यामा अहिले पनि उम्मेदवारी दिएकामा ३७ हजार १४६ मत मात्र पाएको छ । एमालेले ६ हजार २७३ मत गुमाएको छ ।

एमालेले पनि कांग्रेसजस्तै सबैभन्दा बढी मत पदाधिकारीबाटै गुमाएको छ । उसको ५ हजार ४६४ मत पदाधिकारीमा घट्दा वडाध्यक्षमा ८०९ मत घटेको छ । एमालेले करिब ८७ प्रतिशत मत पदाधिकारीबाटै गुमाएको देखिन्छ ।

प्रतिक्रिया