स्थानीय उपनिर्वाचनले दिएको सन्देश

मिनी जनमत संग्रहका रूपमा हेरिएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आइसकेको छ । उपनिर्वाचन भएका ४४ मध्ये अघिल्लोपटक २७ ठाउँमा जितेको कांग्रेसले यसपटक १९ ठाउँमा मात्रै जितेको छ । अघिल्लोपटक ८ ठाउँमा जितेको माओवादी केन्द्रले ११ ठाउँमा जितेको छ । अघिल्लोपटक ७ ठाउँमा जितेको एमलोले ८ ठाउँमा जितेको छ । अघिल्लोपटक एक ठाउँमा जितेको जसपाले यसपटक २ ठाउँमा जितेको छ । पहिलोपटक स्थानीय चुनाव लडेको रास्वपाले १ ठाउँमा जितेको छ । यसैगरी एकीकृत समाजवादी, नेमकिपाले १–१ ठाउँमा जितेका छन् । स्वतन्त्रले १ ठाउँमा जितेको छ ।
अघिल्लोपटक पनि १ ठाउँमा जितेको थियो । उपनिर्वाचन भएका स्थान मध्ये सबैभन्दा धेरै मतदाता रहेको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले विगतको जितलाई निरन्तरता दिएको छ भने दोस्रो ठूलो मतदाता रहेको काठमाडौँ महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसको वडाध्यक्ष पद खोसेको छ ।

यो वडामा नेपाली कांग्रेस तेस्रो बनेको छ । अघिल्लोपटक एमालेविरुद्ध कांग्रेस, माओवादी र नेकपा एसले मोर्चाबन्दी गरेका थिए । तर यसपटक सबै एक्लाएक्लै चुनाव लडे । तर यसको लाभ नेकपा एमालेले लिन सकेन । यसपटक एक्लै चुनाव लड्नुपरेका कारण कांग्रेसलाई नोक्सानी हुनु स्वभाविकै थियो । तर माओवादीले भने थप लाभ हासिल गर्यो ।

गत आइतबार सम्पन्न स्थानीय उपनिर्वाचनको मत परिणामले विविध सन्देश दिएको छ । पहिलो सन्देश त वर्तमान सरकारसँग जनता सन्तुष्ट छैनन् भन्ने नै हो । किनकी सत्ता साझेदार नेपाली कांग्रेसले धेरै स्थान गुमाएको छ । दोस्रो सन्देश जनताले भरपर्दो वैकल्पिक शक्ति खोजिरहेका छन् भन्ने दिएको छ । किनकी साढे २ वर्षअघि चुनाव जित्ने पार्टीहरूले अधिकांश स्थानमा यसपटक पराजय बेहोरे । यसैगरी विकल्प दिने अभियानका साथ आएका शक्तिहरूले जनताको मन जित्न अझै बाँकी रहेछ भन्ने सन्देश पनि मत परिणामले दिएको छ ।

किनकी रास्वपा, जनमत, राप्रपा लगायतका पार्टीहरूले प्राप्त गरेको मत नगन्य छ । साढे २ वर्षको यो अन्तरालमा साविकका पार्टीको कामप्रति जनता असन्तुष्ट रहेछन् भन्ने देखिएको छ । नेपाली कांग्रेससँग जनता सबैभन्दा बढी असन्तुष्ट रहेछन् भन्ने कुरा परिणामले पुष्टि गरेको छ । प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रको भूमिकाप्रति जनतामा आशा जागेको रहेछ भन्ने कुरा पनि पुष्टि भएको छ ।

काठमाडौँ–१६ बाहेक अन्यत्रको चुनाव विश्लेषण गर्दा कम्युनिस्ट जनमत नेपालमा अहिले पनि ६० प्रतिशतभन्दा माथि छ भन्ने संकेत देखियो । तर सहरी जनमत भने कम्युनिस्टहरूको निरन्तर खस्कँदो छ भन्ने संकेत पनि देखियो । नेपाली कांग्रेसलाई रास्वपाले आगामी दिनमा बढी नै क्षति पुर्याउने संभावना बढ्यो । यसैगरी ग्रामीण क्षेत्रका जनता अझै पनि परम्परागत दलहरूबाट सन्तुष्ट छैनन् भन्ने पनि देखियो ।

स्थानीय तहको उपनिर्वाचनलाई धेरैले चासोका साथ हेर्नुको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो सहभागिता थियो । किनकी गत स्थानीय निर्वाचनभन्दा ३ महिनापछि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचनमा ठूला दलहरूलाई टक्कर दिएको थियो । संसदीय उपनिर्वाचनमा ठूला दलहरूको परम्परागत किल्लालाई नै क्लिन स्विप गरिदिएको थियो ।

स्थानीय तहमा उसको के कस्तो हैसियत छ भन्ने मापन हुन बाँकी थियो । रास्वपाले अघि सारेको आफ्नो मिसन २०८४ को अभियानले पनि यो चासो देखाएको थियो । तर अहिलेको मत परिणामले नवोदित शक्ति रास्वपा ग्रामीण क्षेत्रका जनतासम्म पुग्न बाँकी नै रहेछ भन्ने देखियो ।

प्रतिक्रिया